कास्की, ८ मङ्सिर/रासस
पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगितामा बाग्मती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। बाग्मतीले लगातार दुर्ई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शुक्रवार सम्पन्न पहिलो खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्न सफल भयो। टस जितेर ब्याटिङ गरेको बाग्मतीले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा छ विकेटको क्षतिमा १८९ रनको योगफल तयार गरेको थियो।
बाग्मतीका गौतमले १० चौका र दुर्ई छक्का हिर्काउँदै सर्वाधिक ८२ रन बनाए भने पाण्डेले चार चौका र छ छक्कासहित ७० रनको योगदान दिए। जवाफी ब्याटिङ थालेको कर्णाली प्रदेश भने १७ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्रै जोड्न सक्यो।
बाग्मतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य भेट्टाउन सकस भएको थियो। बाग्मतीका दीपेश श्रेष्ठले दुर्ई तथा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतीष जिसीले समान एक/एक विकेट लिए।
बाग्मतीले शुक्रवार उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी (रातो)लाई पराजित गरेको थियो। कर्णालीका दिनेश अधिकारीले तीन तथा दिवान पुन र अनुज चनाराले समान एक/एक विकेट लिए।
कर्णालीका अर्जुन घर्तीले सर्वाधिक २४, विपिन शाहीले २१, कप्तान रवीन्द्र शाहीले २० र दीपेन्द्र रावतले १२ रनको योगदान दिए। बाग्मतीको समूहमा आयोजक रातो र कर्णाली प्रदेश रहेका छन्। बाग्मतीले आफ्नो समूहका दुवै खेल जितेको हो।
प्रतियोगितामा सात प्रदेशका सात टीम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुर्ई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी, उपविजेता टोलीलाई रु दुर्ई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र दिइने एकेडेमीका अध्यक्ष ध्रुव्र आचार्यले जानकारी दिए।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ले रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार, र ‘म्यान अफ दी म्याच’ले रु पाँच हजार पुरस्कार पाउँछन्।