मङ्सिर महीनाको सुरुआतसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम शुरू भएको छ। हिउँदे पर्यटक चराहरूले विशेषगरी कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा आश्रय लिने गरेका छन्। रूस, किर्गिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलिया, युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हरेक वर्ष पाहुना चरा नेपाल आउने गरेका छन्। दक्षिण भारत र साइबेरियासम्मका चराहरूसमेत जाडो छल्न र बच्चा कोरल्न नेपाल आउँछन्। गत वर्ष कोशीटप्पुमा मात्रै ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा आएको तथ्याङ्क छ। नेपाल आउने पर्यटक चराहरूमध्ये करीब १२ प्रतिशत चरा गर्मीयाममा आउने गरेका छन्। हिउँदे पर्यटक चराहरू हरेक मङ्सिरदेखि फागुनसम्म यहाँ बस्छन्। उनीहरू असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन्। ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमिहरू हुन्।
चरा गणना गर्र्दा लुम्बिनी प्रदेश, कपिलवस्तुको जगदीशपुर तालमा सन् २०१८ मा २३ हजार चरा फेला परेका थिए। सन् २०२० मा घटेर २० हजार आठ सय मात्र फेला प–यो। यो क्रमशः घट्दै सन् २०२१ मा १२ हजार ६३, सन् २०२२ मा नौ हजार ८३७ र २०२३ मा नौ हजार ४८७ वटा चरा फेला परेका छन्। यो जगदीशपुर तालको मात्रै कुरा होइन। जगदीशपुर ताल त हाम्रो मुलुकको समग्रतामा प्रतिनिधि पात्र मात्रै हुन्। यहाँ चरा संरक्षणकै लागि भनेर हरेक वर्ष कुनै न कुनै संरक्षण कार्य भइरहेका छन्। संरक्षणको प्रयास भइरहेको तालको यो अवस्था छ भने अन्यत्रको अवस्था के होला ?
हाम्रो मुलुकको हावापानी र धरातलीय अवस्था पनि विशेष प्रकारको छ। विश्वका धेरै मुलुकको भूगोल तथा हावापानी हाम्रो मुलुकको कुनै न कुनै स्थानसँग मेल खाने हुँदा दुर्लभ वनस्पति र लोपोन्मुख दुर्लभ पक्षीहरूसमेत आगन्तुक पक्षीको रूपमा नेपाल आइपुग्छन्। यस्ता दुर्लभ पक्षीको अध्ययन तथा दृश्यावलोकनकै लागि पनि विदेशी पर्यटकहरू लामो समय नेपाल बस्ने गरेका छन्। पक्षीहरूको जीवनचक्रमध्ये एउटा सीमित पक्षको मात्रै अध्ययन, अवलोकन गर्न पनि उनीहरू धेरै रकम खर्च गर्छन्। यसले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पुगेको छ। पर्यापर्यटनका साथै जैविक विविधताको संरक्षण महत्वपूर्ण कुरा हो। तर पछिल्लो केही वर्षदेखि पक्षीको आश्रयस्थलको संरक्षण हामीले गर्न सकिरहेका छैनौं भन्ने कुरा आगन्तुक चरा र रैथाने चराको घट्दो क्रमले बताइसकेको छ। मानवीय क्रियाकलापको कारण पक्षीको प्राकृतिक बासस्थान नासिंदै गएको हो। बासस्थान नै उजडिएपछि पक्षी आकर्षित नहुने नै भयो। पक्षीहरूमा पनि आपसमा संवाद हुने, गुनासो पोख्ने तथा असन्तुष्टि जाहेर गर्ने र खुशी प्रकट गर्नेलगायतका क्रियाकलापहरू हुन्छन्। विभिन्न अध्ययनले पनि यो कुराको पुष्टि गरिसकेको छ। यसको अर्थ आगन्तुक चराहरू आफूले चाहे जसरी रमाउन सकेनन् भने उनीहरूले त्यो सन्देश आफ्नो समुदायमा देशविदेशसम्म पु–याउँछन्। यसो हुँदा अर्को वर्ष आउने पक्षीको सङ्ख्या घट्छ। अतः नेपाल मोह कम हुँदै जान्छ। अन्यत्र पनि अनुकूल वातावरण नपाएमा पक्षीको जीवन छोटिने र प्रजनन् दर कम हुँदै जाने हुँदा यसले पर्यावरणीय असन्तुलन पैदा गर्छ। यसर्थ पक्षी संरक्षणतर्फ हरेक पक्षले तदारूकता देखाउनुपर्ने बेला भइसकेको छ।