कास्की, ७ मङ्सिर/रासस

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा बिहीवारदेखि ‘एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता शुरू भएको छ। पोखरा महानगरपालिका–१३ स्थित आर्बा–विजयडाँडामा आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ११ देशका ५५ जना खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

सहभागी खेलाडीमा पाँचजना महिला छन्। साहसिक खेल पर्यटनका लागि प्रख्यात पोखरामा प्रतियोगिताबाट विश्वभरका साहसिक माउन्टेन बाइकप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ। माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता समुद्री सतहबाट एक हजार ३६० मिटर उचाइमा रहेको आर्बा–विजयडाँडामा शुरू भएको हो। प्रतियोगिताको लागि पाँचवटा रूट तय गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिङ्गापुरका खेलाडी वेलसोन लोलाई नम्बर प्लेट दियर प्रतियोगिताको उद्घाटन गरे। इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ईबाइक गरी सात विधामा प्रतिस्पर्धा सञ्चालन गरिने प्रतियोगिताका निर्देशक सुनीलचन्द्र शर्माले जानकारी दिए।

प्रतियोगिताको इलिट पुरुषतर्फको विजेताले नगद रु ५० हजार उपविजेताले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ सोही इभेन्टमा विजेतालाई रु ३५ हजार, उपविजेतालाई रु २५ हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

पोखरा महानगर प्रमुख आचार्यले पोखरालाई खेल पर्यटनको राजधानीका रूपमा विकास गर्नका लागि खेलकूद प्रतियोगितालाई सहयोग गर्दै आएको बताए। “पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरले योजना बनाएर काम गर्दै आएको छ,” आचार्यले भने, “प्राविधिक हिसाबले आर्बा–विजयडाँडा प्रतियोगिता सञ्चालनका लागि उपयुक्त भएपछि छनोट गरेका हौं।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here