सोल, ३० कात्तिक/एएफपी

आगामी दुई दशकमा दक्षिण कोरियामा करीब ४० लाख रोजगार कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीवार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ ।

तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगार गुमाउने र साइबर हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ ।

बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करीब ३९ लाख रोजगार खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकील, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् । “उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ,” अध्ययनमा भनिएको छ । एआईले सेतो पोशाकधारी (चिकित्सक) को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठूलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ ।

अध्ययन अनुसार एआईका कारण आफ्नो जागीर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्ति धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् ।

बैंक अफ कोरियाको अध्ययनमा भनिएको छ, “एआई प्रविधि विद्यमान रोजगारका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनीयर र एआईसँग सम्बन्धित स्टार्टअपहरूमा नयाँ–नयाँ रोजगारको अवसरसमेत सिर्जना गर्छ ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here