प्रस, वीरगंज, २४ कात्तिक/

भेट्रान्स क्लब वीरगंजद्वारा आयोजित प्रथम वीरगंज गोल्डकप प्रतियोगिता अन्तर्गत भोलि कात्तिक २५ गते शनिवार फाइनल खेल हुन गइरहेको छ ।

मधेस प्रदेशकै हालसम्मको सर्वाधिक पुरस्कार राशि रहेको वीरगंज गोल्डकप यस वर्षदेखि वीरगंज महानगरपालिकाको मुख्य सहयोगमा सञ्चालनमा आएको हो । प्रतियोगिताको फाइनलमा नेपालका दुई विभागीय टीम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । नेपाल पुलिसले क्वार्टरफाइनलमा भारतको क्लाइभ हाउस दमदम कोलकातालाई एकका विरुद्ध सात गोल गरेर सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा पुलिसले आयोजक भेट्रान्स क्लब सिटी, वीरगंजलाई कडा प्रतिस्पर्धाबाट पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा गोलरहित खेलेका दुवैले पहिलो टाइब्रेकरमा पनि  बराबरी खेलेका थिए । दोस्रो टाइब्रेकरमा भेट्रान्स सिटी क्लब, वीरगंजको एउटा प्रहार गोलबाहिर गएको र पुलिसले दुवै बललाई गोलमा परिणत गरेर फाइनलको यात्रा तय गरेको थियो ।

यसैगरी, त्रिभुवन आर्मी क्लबले एएफसी झापालाई क्वार्टरफाइनलमा शून्यकाविरुद्ध दुई गोलअन्तरले पराजित गरी सेमिफाइनलमा पुगेको थियो भने सङ्कटा क्लबलाई शून्यकाविरुद्ध एक गोल गरी फाइनलमा प्रवेश गरेको थियो ।

लामो समयपछि वीरगंजमा फूटबल प्रतियोगिता भएको हो । त्यो पनि प्रदेशको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएपनि आम दर्शक भने उत्तिसारो तान्न सकेन । नारायणी रङ्गशालाको जर्जर अवस्था रहेको र आदर्शनगर रङ्गशालालाई हालै तयारी गरेर प्रतियोगिता आयोजना गरिएको हो । वीरगंजमा यसअघि, पञ्चायतकालमा महेन्द्र गोल्डकप प्रतियोगिता हुने गथ्र्यो । आदर्शनगर रङ्गशालाबाट शुरू भएको यो प्रतियोगिता नारायणी रङ्गशाला तयार भएपनि जारी थियो । प्रजातन्त्रपछि महेन्द्र गोल्डकपसँगै शहीद तेजबहादुर अमात्य गोल्डकप शुरू भयो र त्यसपछि महेन्द्र गोल्डकप हुन सकेन ।

अहिले अमात्य गोल्डकप पनि लामो समयदेखि हुन सकेको छैन । प्रजातन्त्र आएपछि लक्ष्मण थापा गोल्डकप पनि शुरू भएको हो । यो प्रतियोगिता पनि अहिले बन्द छ ।

गणतन्त्रपछि वीरगंजमा विशाल गोल्डकप प्रतियोगिता हुँदै आएको छ र यस वर्षदेखि वीरगंज गोल्डकप शुरू भएको हो । प्रतियोगिताका विजयीलाई ११ लाख ११ हजार नगद र उपविजेतालाई रु पाँच लाख ५५ हजार नगदसहित शिल्ड, मेडल, प्रमाणको व्यवस्था गरिएको छ । कात्तिक १८ गतेदेखि शुरू भएको यो प्रतियोगिता पहिलोपटक आयोजना गरिएकोले लिग चरणको खेल नगराइ एकैपटक क्वाटरफाइनलको खेल गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here