प्रस, निजगढ, २३ कात्तिक/

कोल्हवी नगरपालिका भएर बग्ने नदी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन एवं सङ्कलन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनतयारीका लागि प्रभावित क्षेत्रका नगरवासीहरूसँग राय–सल्लाह एवं सुझाव लिनका लागि बिहीवार कोल्हवीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कोल्हवी नगरपालिका कार्यालयको आयोजनामा परामर्शदाता सुनरस कन्सल्टेन्सी एन्ड टे«डर्स प्रालि, वीरगंजले कोल्हवी नगरपालिकाको सभाहलमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी स्थानीयको राय–सल्लाह एवं सुझाव सङ्कलन गरेको थियो ।

कोल्हवी नपाको आन्तरिक आम्दानीको मुख्य स्रोत लालबकैया खोलाका नदीजन्य पदार्थ (दहत्तर बहत्तर) ढुङ्गा, गिट्टी, बालुवा ठेक्का लगाउन प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्न कोल्हवी नगरपालिकाले परामर्शदाता छनोट गरी कार्य अघि बढाउन सहमति दिएपछि सार्वजनिक सुनुवाइ राखिएको हो ।

एकपटक प्रतिवेदन तयार गर्दा दुई वर्षको लागि मात्र हुने भएकोले म्याद सकिएपछि चालू आर्थिक वर्ष २०८०/८१ र आगामी आव २०८१/८२ का लागि नदीजन्य पदार्थको ठेक्का बन्दोबस्ती गर्न प्रतिवेदन बनाउन कोल्हवी नपाले शुरू गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले बर्सेनि आउने बाढीबाट वनजङ्गल, जमीन, बस्तीलाई हुन सक्ने क्षतिलाई ध्यानमा राखी सुरक्षित हुने गरी खोलालाई च्यानलाइज गरी व्यवस्थित गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी, नगरपालिकाको प्रमुख आन्तरिक राजस्व सङ्कलनको स्रोत खोला भएकोले ऐन, कानून, मापदण्डको परिधिभित्र रही जनप्रतिनिधि, कर्मचारी,  ठेकेदार सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने नगरप्रमुख रामप्रसाद चौधरीले बताए । “नदीजन्य पदार्थको ठेक्का अनि उत्खनन कार्य सामान्य लागे पनि जटिल र दिगो व्यवस्थापन नगरी नहुने विषय हो । हामी सबैले कानूनको पालना गर्नुपर्छ,” उनले भने ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा परामर्शदाता शम्भु चौरसियाले कोल्हवी नपा–२ को लालबकैया खोलाबाट वार्षिक २८ लाख ५७ हजार ६८० घनमिटर नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न सकिने बताए । तर जनप्रतिनिधिहरूले विगतका वर्षभन्दा करीब आधा परिमाणमा उत्खनन हुने भएकोले पुनः अध्ययन गर्न सुझाए ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी चौधरी, लेखा अधिकृत सुरेन्द्रप्रसाद चौधरी, वडाध्यक्ष गोपाल अधिकारी, किशुनदयाल चौधरी, नन्दकिशोर चौधरी, कैलाश विक, रामप्रसाद चौधरीलगायत सरोकारवालाहरूले जिज्ञासा राख्नुका साथै सुझाव दिएका थिए ।

कार्यक्रमको सहजीकरण परामर्शदाताका प्राविधिक सञ्जय चौरसियाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here