सोल, २३ कात्तिक/एएफपी
आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बिहीवार युक्रेनमाथि रूसी आक्रमणमा सहयोग गर्न रूसमा हतियार पठाएकोमा उत्तर कोरियाको आलोचना गरेका छन् ।
अमेरिका, दक्षिण कोरिया र जापानले हालैका साता युक्रेनमा रूसको सैन्य अभियान अगाडि बढाउन सहयोग गरेकोमा प्योङयाड्ढो आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रूसमा १० लाख तोप पठाएको सोलले बताएको छ ।
जापानमा जी–७ का विदेश मन्त्रीहरूको बैठकपछि ब्लिङ्केन अहिले सोलमा छन् । उनले बिहीवार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग सोलमा भेटवार्ता गरेका छन् । “उहाँहरूले युक्रेनविरुद्ध युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रूसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकोमा कडा निन्दा गरेका छन्”– राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिङ्केनको भेटपछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ–“गाजामा सर्वसाधारणलाई मानवीय सहयोग प्रदान गर्ने दक्षिण कोरियाको प्रतिबद्धताका लागि ब्लिङ्केनले राष्ट्रपति युनलाई धन्यवाद दिनुभएको छ ।”
इजराइल–हमास युद्धमाथि कुराकानी गर्न मध्यपूर्वको शीघ्र भ्रमणपछि ब्लिङ्केनले एशियाली मुलुकको भ्रमण गरेका हुन् । यस अघि बिहीवार ब्लिङ्केनले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चो ताए–योङसँग भेटवार्ता गरेका थिए । अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनलाई सहयोग उपलब्ध गराउने दक्षिण कोरियाको प्रतिबद्धताप्रति उनले धन्यवाद व्यक्त गरे ।
पहिलेको आणविक हतियार र मिसाइल कार्यक्रम एवं युक्रेनमाथि आक्रमणलाई लिएर ऐतिहासिक सहयोगी रूस र उत्तर कोरिया दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् । विशेषगरी सेप्टेम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किम जोङ उनको शिखर वार्तापछि दुर्ई मुलुकबीचको बढ्दो सैन्य सहयोग युक्रेन र उसका सहयोगीहरूका लागि चिन्ताका विषय बनेको छ ।
अन्तरिक्षमा सैन्य जासूसी उपग्रह स्थापना गर्न सकियोस् भन्ने उद्देश्यले रूसी अन्तरिक्ष प्रविधिको बदलामा प्योङयाङले रूसलाई हतियार उपलब्ध गराइरहेको दक्षिण कोरियाले बताएको छ । टोक्योमा ब्लिङ्केनले भनेका थिए–“प्योङयाङबाट रूसले जुन हतियार र युद्ध सामग्री प्राप्त गरिरहेको छ, त्यसको बदलामा उसले प्योङयाङलाई के प्रदान गरिरहेको छ भन्ने कुराले हामी अत्यन्त चिन्तित छौं ।”
उत्तर कोरियाले रूसलाई हतियार पठाइरहेको छ भन्ने ‘कुनै प्रमाण’ नभएको क्रेमलिनले गत महीना बताएको थियो ।
“उत्तर कोरिया र रूसबीच यो नयाँ सहयोगलाई ध्यानमा राख्दै दक्षिण कोरियाले अमेरिकी समर्थनको प्रदर्शन र संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरूलाई कायमै राख्नका लागि अमेरिकी प्रतिबद्धतालाई एकपटक पुनः पुष्टि गर्न चाहन्छ”–सोल नेशनल युनिभर्सिटीका प्राध्यापक बेन्जामिन ए एङ्गेलले एएफपीलाई भने–“यो भ्रमण यस्तै गर्नका लागि डिजाइन गरिएको हो ।” रासस