नयाँ दिल्ली, २० कात्तिक/एएफपी
विषाक्त धूवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमवार घोषणा गरेका छन् ।
तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको शुरूमा विषाक्त धूवाँले ढाक्छ । छिमेकी कृषिप्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धूवाँले ढाकेको हो । नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित शहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धूवाँ प्रत्येक वर्ष हजारौं मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ ।
अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन । सन् २०१७ को एक अमेरिकी अध्ययन अनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।
दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–राशन योजना दीपावलीको एक दिनपछि आगामी सोमवार एक साताका लागि ल्याइने जानकारी दिए ।
योजना अन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एक साताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइनेछ । मन्त्री रायले भने, “दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो ।” उनका अनुसार नोभेम्बर २० पछिको स्थितिको समीक्षा गरिनेछ ।
आइक्युएयरका अनुसार सोमवार सबैभन्दा खतरनाक पिएम२.५ कणहरूको स्तर १८४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सिफारिश गरेकोभन्दा यो करीब १२ गुणा धेरै हो । पिएम२.५ कण रक्तप्रवाहमा प्रवेश गर्न सक्ने अति सानो कण हो ।
दिल्लीमा प्रदूषण बढेको भएपनि बङ्गलादेश र श्रीलङ्का आज दिउँसो विश्वकप प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन् । राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलोपटक होइन । यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो । रासस