बलिराम शुक्ला, बिरुवागुठी, १५ कात्तिक/
स्थानीय निकायहरूले नदीजन्य पदार्थको ठेक्का समयमा नलगाउँदा पर्साको राष्ट्रिय वन अन्तर्गत विभिन्न खोलाबाट दिनहुँजसो गिट्टी, बालुवाको चोरी तस्करी हुँदासमेत सम्बन्धित निकाय मौन छ ।
वीरगंज महानगरपालिका अन्तर्गत भेडाहा खोला, पर्सागढी नगरपालिका अन्तर्गत कर्जनिहा र सिङ्गाही खोलाको कात्तिक महीना सकिन लाग्दासमेत स्थानीय निकायले ठेक्का लगाउन नसक्दा खुलेआम गिट्टी, बालुवाको चोरी तस्करी वृद्धि भएको छ ।
असार १ गतेदेखि बन्द रहेका खोलाहरू असोज बितेलगत्तै खुल्नुपर्ने हो तर स्थानीय निकायहरूले खोला ठेक्का प्रक्रियामा ढिलाइ गर्दा वनकर्मी र स्थानीय प्रहरीको लागि कमाइखाने भाँडो भएको छ ।
भेडाहा, सिङ्गाही र कर्जनिहा खोलाबाट दिनहुँजसो गिट्टी, बालुवा चोरी तस्करी गरी सबडिभिजन वन कार्यालय सबैया, बडनिहार र सो मातहतका छतवनटाँडी वन कार्यालय, मनवा वन कार्यालय, मिलनचोक प्रहरी चौकी, बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकीकै अगाडिबाट गिट्टी, बालुवा ओसारपोसार भइरहेको छ ।
असारको १ गतेदेखि बन्द भएका खोलाहरू पालिकाहरूले समयमा ठेक्का नलगाउँदा तस्करहरूले प्रहरी र वनकर्मीहरूलाई आर्थिक प्रलोभनमा पारी सयौं ट्याक्टर गिट्टी, बालुवाको तस्करी दिनहुँ गरिरहेको स्थानीयहरू बताउँछन् । चोरी तस्करीका गिट्टी, बालुवा, ढुङ्गा अहिले दोब्बर मूल्यमा सेवाग्राहीले खरीद गर्नुपरेको छ ।
पर्सागढी नपाका प्रमुख गोकर्ण पाठकले आफ्नो पालिका अन्तर्गत दुईवटा खोलाको वातावरणीय परीक्षण प्रतिवेदन प्रक्रियामा रहेको र प्रक्रिया पूरा गरी खोला ठेक्काको लागि बोलपत्र आह्वान गरिने बताए ।