प्रस, परवानीपुर, ११ कात्तिक/

वीरगंज–रक्सौल आसपासको नेपाल–भारत सुरक्षा बैठक वीरगंजमा सम्पन्न भएको छ ।

नेपालका पर्सा र बारा तथा भारत, बिहारका पूर्वी चम्पारण र पश्चिमी चम्पारणका सुरक्षा अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको सुरक्षा बैठक शनिवार वीरगंज–१७ अलौंस्थित वीरगंज भन्सारको आइसिपी भन्सारको सभाहलमा सम्पन्न भएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न सुरक्षा बैठकमा सीमा क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन छलफल भएको थियो । सुरक्षा बैठकले छ बुँदे निर्णय गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले अवैध निकासी, पैठारीलाई नियन्त्रण गर्ने, लागूऔषध ओसारपोसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपोसारलाई न्यूनीकरण गर्ने, आपराधिक घटना हुन नदिने, सीमा क्षेत्रबाट हुने अवैध वन्यजन्तुको चोरी शिकारी एवं तस्करीलाई समेत नियन्त्रणमा लिने निर्णय गरेको प्रजिअ रेग्मीले जानकारी गराए ।

बैठकले भारतमा हुने आगामी लोकसभा चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रको सुरक्षा प्रबन्धलाई समेत चुस्तदुरुस्त बनाउने, नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच सहकार्यमार्फत प्रभावकारी सुरक्षा व्यवस्था बनाउन पहल गर्ने निर्णय भएको छ ।

बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए भने बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, पश्चिमी चम्पारणका डिएम दिनेशकुमार रायको सहभागिता थियो ।

त्यसैगरी, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, बाराका प्रउ सुरेश काफ्ले, बाराका सप्रउ, राष्ट्रिय अनुसन्धान, वीरगंज भन्सार, श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकारी, डिभिजन वन कार्यालय पर्सा, पर्सा राष्ट्रिय निकुञ्जका अधिकारी, पश्चिमी चम्पारणका डिएम दिनेशकुमार राय, भारतीय प्रहरीका उच्च अधिकारी, एसएसबीका उच्च अधिकारी, रक्सौल कस्टमका अधिकारीलगायतको सहभागिता थियो ।

सुरक्षा बैठकपछि वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र रक्सौल उद्योग वाणिज्य सङ्घबीच दुवै देशबीच उद्योग–व्यापारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अन्तत्र्रिmया भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here