प्रस, परवानीपुर, ३ कात्तिक/

स्टेज शोमा एकदमै कम देखिने वाद्ययन्त्र हो, सेक्सोफोन । यसको वादक पनि नेपाल र भारतमा कमै छन् । ज्याज म्युजिकको वाद्ययन्त्रको रूपमा चिनिने सेक्सोफोनले मीठो धुन निकाल्ने भएकोले वयस्क उमेरकाहरूलाई यसको सङ्गीत खूबै मन पर्छ ।

सेक्सोफोनसहितको ब्यान्डको चर्चा अहिले वीरगंजमा भइरहेको छ । ग्रीनसिटी वीरगंजको संयोजन एवं वीरगंज महानगरको आयोजनमा हालै सम्पन्न रात्रिबजारमा भारत, कोलकाताको क्लासिक सिम्फोनी नामक ब्यान्डले वीरगंजेली दर्शकलाई झुमाएको थियो । उक्त ब्यान्डकी सेक्सोफोन वादक हुन्, अनुष्का राय । उनको सङ्गीतिक प्रस्तुतिलाई दर्शकहरूले रुचाएका थिए । जब उनी स्टेजमा प्रस्तुति दिन्छिन्, तब दर्शकहरू मन्त्रमुग्ध भएर सेक्सोफोनको धुन सुन्ने गर्छन् । वादिका रायका बारेमा जानौं ।

बुबा कञ्चन राय र माता झरना रायका एकल सन्तान हुन्, अनुष्का । २५ वर्षीय अनुष्काले रवीन्द्र भारती विश्वविद्यालयबाट भोकल म्युजिकमा स्नातकोत्तर गरेकी छन् । बाल्यकालको विद्यालय जीवनमा पढाइसँगै सङ्गीतमा अब्बल रहेकी अनुष्काको प्रथम गुरु निजकी आमा झरना हुन् । आमा पहिलेदेखि सङ्गीत शिक्षिका भएकाले पनि उनको लगाव बाल्यकालदेखि नै सङ्गीततर्फ गयो । तीन वर्षको उमेरदेखि सङ्गीत र गायन कला सिकेकी अनुष्काले १६ वर्षको उमेरदेखि कलेजमा गायन शुभारम्भ गरिसकेकी थिइन् । करीब पाँच वर्ष गायनबाट स्टेज शो शुरू गरेकी अनुष्कापछि सेक्सोफोनतर्फ आकर्षित भएकी थिइन् । सेक्सोफोन बजाउन शुरूमा श्वासप्रश्वासको समस्या हुने भए तापनि आफूले हिम्मत नहारी निकै दुःखकष्ट सहेर सिकेको उनले बताइन् । अहिले उनको ब्यान्डमा ड्रमर दीप गोस्वामी, गिटारिस्ट प्लास दत्ता र किबोर्डिस्ट पार्थव चक्रवर्तीलगायतले सघाइरहेको र आगामी दिनमा स्टेज शोमा सेक्सोफोन बजाउन निरन्तता दिने उनले बताइन् । उनले महमद रफी, आरडी बर्मनलगायतका प्रसिद्ध गायकका गानाबाट गायन अभ्यास शुरू गरेको बताइन् । उनले ४५ मिनेटमा करीब सेक्सोफोनमार्फत नौवटा गाना बजाएर दर्शकलाई झुमाउन सक्ने बताइन् । उनले कार्यक्रमको समय र दूरीको आधारमा आफूले शुल्क लिने गरेको बताइन् । उनकी आमा झरनाले आफ्ना बच्चालाई उनीहरूको इच्छा अनुसार जीवन बाँच्ने र आफ्नो प्रतिभालाई प्रस्फुटन हुने मौका दिइनुपर्ने सुझाव दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here