- राजेश मिश्र
दुर्गा सप्तशतीमा देवी भगवती र राक्षसबीच द्वन्दका अनेक कथाहरू वर्णन गरिएको पाइन्छ । कालान्तरमा राक्षसहरू देवीदेउताको उपासना गरी मनोवाञ्छित वर प्राप्त गर्थे । शक्ति प्राप्त गरेपछि शक्तिदातामाथि नै खनिन्थे । राक्षस जति बलियो भए तापनि देवतासँग परास्त भएका अनेक प्रसङ्ग धर्मग्रन्थहरूमा पाइन्छन् । दशैं राक्षसत्वको वध भएको स्मरण गराउने महापर्व हो । दुर्गा सप्तशतीमा देवी भगवतीद्वारा महिषासुर, धुमलोचन, चण्ड, मुण्ड, शुम्भ र निशुम्भ आदि अनेक राक्षसहरूको वधका कथाहरू उल्लेख छन् ।
महिषासुर रम्भ नामक दानवको पुत्र र राक्षसहरूको सम्राट थियो । उसले युद्धमा देवताहरूलाई पराजित गरेर भगवान् इन्द्रको सिंहासन कब्जा गर्यो । ऊ अभूतपूर्व शक्तिशाली र मायावी राक्षस थियो । महिषासुरले इन्द्रलोकबाट तिनै लोकको शासन व्यवस्था चलाउन थाल्यो । पराजित देवताहरू निराश भई भगवान् ब्रह्माकहाँ गए । ब्रह्माले देवताहरूको दुःखेसो सुने । अन्ततः देउताहरूलाई लिएर भगवान् विष्णु र शिवको शरणमा गए ।
भगवान् शिव र विष्णु महिषासुरका अत्याचारका कथा सुनेर क्रोधित भए । देउताहरूको क्रोधपूर्ण मुद्राले उनीहरूको शरीरबाट प्रकाश निस्कन थाल्योे र ‘देदीप्यमान’ ज्योतिमा परिणत भयो । त्यहीं ज्योति एकत्र भई एक सुन्दर स्त्री प्रकट भइन् । ती दुर्गास्वरूप देवीले महिषासुरका साथै धुमलोचन, चण्ड, मुण्ड, शुम्भ र निशुम्भ आदि राक्षसहरूको वध गरिन् । युद्धकोे दौरान महिषासुर नामक राक्षस देवीको प्रकोपबाट बच्नको लागि भैंसी, सिंह र हात्ती आदि अनेक प्रकारका रूप धारण गरेको कथाबाट अवगत हुन्छ । राक्षसहरू मायावी हुन्थे । उनीहरू समय अनुसार अनेक रूप धारण गर्न सिपालु थिए ।
दशैं
दशैं सनातन संस्कृतिको महत्वपूर्ण पर्व हो । दशैंको अवसरमा घरघरमा पूजापाठ गरिन्छ । देवालय तथा सार्वजनिक स्थलहरूमा भव्य पण्डाल खडा गरी देवी भगवतीको पूजापाठ र आराधना गरिन्छ । यस अवसरमा ठाउँठाउँमा मेला लाग्छ । मानिसहरू परिवारसहित मेला भर्न जाने र देवीको दर्शन पूजन गर्ने परम्परा सदियौंदेखि निरन्तर छ ।
यद्यपि मानवीय संवेदना दशैंको सन्देश आत्मसात् गर्नुभन्दा बढी मेलाको रजगजमा रनभुल्ल हुन्छ । व्रत, पूजापाठ तथा दर्शन गर्नु वा फलफूल तथा प्रसाद चढाउनु देवत्वप्रति श्रद्धा हो । श्रद्धाले आत्मशान्ति प्रदान गर्छ । यद्यपि देवत्वप्रति श्रद्धा तबसम्म सार्थक हुँदैन, जबसम्म पर्वको भूलभूत सन्देश ग्रहण र आत्मसात् गरिंदैन ।
दशैं पर्वको उपादेयताप्रति सजग नहुनु राक्षसी प्रवृत्तिकै एक पाटो हो । दशैं पर्वको महत्व के हो ? दशैं पर्वले समाजमा कस्तोे सन्देश प्रवाह गर्न खोजेको हो ? दशैं पर्वले समाजमा कस्तो परिवर्तन हुनुपर्ने हो ? आदि प्रश्नहरूको उत्तर जान्ने चेष्टा गर्नुपर्छ । दशैं पर्वको सन्देशमूलक महात्मय सामाजिक जागरूताको महाअभियान हो ।
सामान्यतयाः दशैं महापर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ । कालान्तरमा देवीदेउतामाथि दैत्य, दानव, राक्षस र असुरहरूले अनेक प्रकारले विघ्न, बाधा र षड्यन्त्र सिर्जना गर्थे । देवत्व सभ्यतामाथि हमला गर्थे । देवत्व प्रवृत्तिले राक्षस प्रवृत्तिलाई सुधारको मौका पनि दिन्थ्यो । तर राक्षस प्रवृत्ति अहङ्कारका कारण आफूलाई शक्तिशाली ठान्थ्यो र झन् उग्र हुन्थ्यो । अन्ततः राक्षसहरू देवत्व प्रकोपको शिकार हुन्थे । सत्यको जीत र असत्यको हार हुन्थ्यो ।
सत्यको विजय र असत्यको पराजय किन हुन्थ्यो ? यो महत्वपूर्ण प्रश्नको उत्तर ज्ञात र आत्मसात् गर्नु नै देवत्वप्रति श्रद्धा जाहेर गर्नु हो । वर्तमान परिवेशमा छिमेक, टोल, गाउँ, शहर र देशका कुनाकप्चामा सत्यमाथि असत्य हाबी भइरहेका अनेक दृष्टान्तहरू छन् । संविधान, विधान, ऐन, नियम र कानून आदि देवत्व प्रवृत्तिका छद्म स्वरूप हुन् । त्यसलाई आत्मसात् गर्ने पात्र देवतातुल्य हुन् भने सोको विपरीत हिंड्ने पात्रहरू राक्षस हुन् । सरल भाषामा भन्ने हो सत्यमार्गी देवता र असत्यमार्गी राक्षस हुन् ।
पौराणिक राक्षस
राक्षसहरूलाई सामान्यतया भयङ्कर प्राणीको रूपमा चित्रण गरिन्छ । उनीहरूको शारीरिक र मानसिक विशेषता डरलाग्दो चित्रित गरिएको पाइन्छ । जस्तै अजङ्गको टाउको, तीखो दाँत, डरलाग्दो जीउडाल र इच्छा वा अभिप्राय अनुसार विभिन्न रूप धारण गर्ने क्षमता रहेकोे चित्रण गरिएको पाइन्छ ।
राक्षसहरू असीम शक्ति र क्षमता प्राप्त गर्ने मनोविज्ञानले ग्रसित हुन्थे । उनीहरू आफ्नो शक्ति, सामथ्र्य, चतुर्याइँ र युद्ध कौशलको दुरुपयोग गर्थे । अर्थात् देउताहरूलाई परास्त गर्न खर्च गर्थे । राक्षसहरू काला जादु, भ्रम र अन्य रहस्यमय कलाका साथै अरूलाई धोका दिन वा हानि पुर्याउने मानसिकताले ग्रसित हुन्थे ।
पौराणिक कथाहरूमा राक्षसहरू प्रायः विरोधी वा अवरोधीको भूमिकामा पाइन्छन् । उनीहरूले देवताहरूको शक्तिलाई चुनौती दिने, धार्मिक अनुष्ठानहरूमा अवरोध पुर्याउने र अराजकता तथा विनाशकारीको रूपमा चित्रण गरिएको पाइन्छ । देउताहरूको पूजा आराधना गर्ने र मनोवाञ्छित फल प्राप्त भएपछि देउताहरूकै कुभलो सोच्ने प्रवृत्तिमा राक्षसहरू लिप्त थिए ।
राक्षसहरू नकारात्मक शक्तिहरूको प्रतिनिधि पात्रको रूपमा देखिन्छन् । राक्षस प्रवृत्ति असत्यको प्रतीक हो । राक्षसीपथ सत्यमार्गी (देवताहरू)को अधिकारलाई चुनौती दिन्थे । उनीहरू कपटी, ईष्र्यालु, धूर्त, दुष्ट र द्वेषपूर्ण चरित्रका थिए ।
आधुनिक राक्षस
राक्षसहरू अस्तित्वहीन छैनन् भन्नुपर्दा अतिशयोक्ति नहोला । परिवर्तित स्वरूपमा अहिले पनि उनीहरूको अस्तित्व मात्र होइन, वर्चस्व पनि छ । बाहिरी आवरणमा राक्षसतुल्य नलाग्ने तर अदृश्यरूपमा राक्षस प्रवृत्तिमा लिप्त पात्रहरूको कमी छैन । पौराणिककालभन्दा पनि अहिले उनीहरूको उपस्थिति भयावह र घातक छ । वर्तमान परिवेशमा राक्षसहरूको अवगुणका संवाहक, जो चिन्नै गा¥हो हुने खालका छन्, उनीहरूको रजगज राजनीति, सत्ता, न्यायालय, प्रहरी, अख्तियार, शिक्षा, स्वास्थ्य आदि विविध क्षेत्र र अनेक स्वरूपमा छन् । यो अकाट्य सत्य स्वीकार गर्नुको विकल्प छैन ।
पौराणिककालमा अदृश्य देवीदेउताहरू दुर्गा, काली, राम, कृष्ण आदि अनेक रूपमा भूलोकमा सदृश्य भएका कथाहरू छन् । त्यसैगरी, वर्तमान समयमा सामाजिकस्तरबाट बढी रुचाइएका पात्रलाई देव अंश स्वीकार गर्न सकिन्छ । यद्यपि साम, दाम, दण्ड र भेद आदि कुनै पनि प्रकारको अवगुण प्रयोग गरी सामाजिक सहानुभूति बटुल्ने पात्रलाई देवत्व श्रेणीमा दर्ज गर्न मिल्दैन । उनीहरू त उहिलेकै राक्षसहरूको पुनरावृत्ति वा आधुनिक स्वरूपहरू हुन् ।
वर्तमान परिवेशमा देवीदेउता अर्थात् सत्यको सदृश्य रूप संविधान हो । संविधानले काखापाखा गर्ने अनुमति दिंदैन । धार्मिक ग्रन्थझैं संविधानले पनि मानवलाई सत्यपथमा हिंड्न सिकाउने सत्यको सरोवर हो । सोको विपरीत ध्रुवमा हिंड्ने पात्रहरू वर्तमान परिवेशका असत्यमार्गी राक्षसहरू हुन् ।
दशैं महापर्वको सन्देश
सनातन ग्रन्थहरूको मन्थन गर्ने हो भने राक्षसहरूले एकक्षत्र राज गर्ने मानसिकताको वशीभूत रहेकोे निष्कर्ष निस्कन्छ । उनीहरूले तीनै लोकमा स्वार्थी प्रभुत्व चाहन्थे । त्यसका लागि देवीदेउतासँग अनेक प्रकारका षड्यन्त्र र युद्ध गर्थे । अहङ्कारको मातमा लिप्त राक्षस प्रवृत्ति सत्यरूपी देवत्वबारे अनभिज्ञ हुँदैन । अपितु लोभ, मोह, बेइमानी र कपट आदि असत्य मार्गमा यतिविघ्न लिप्त हुन्छ कि देवत्व स्वीकार्न आफ्नो मानहानि ठान्छ । राक्षस प्रवृत्ति सधैं सत्यलाई चुनौती दिने, त्रास सिर्जना गर्ने, दम्भ देखाउने र अनेक स्वरूपमा उन्माद प्रकट गर्ने दुष्चरित्रमा लिप्त हुन्छ । त्यस कारण ‘मुखमा रामराम, बगलीमा छुरा’ उखान चरितार्थ हुने मानसिकतामा लिप्त पात्रहरूका लागि दशैं पर्व मनाउनुको कुनै औचित्य छैन ।
दशैं महापर्व राक्षस प्रवृत्तिको वधोत्सव मनाइने महोत्सव हो । दशैं पर्वले असत्यमार्गीहरूको झुन्ड जति विकराल भए तापनि अन्ततोगत्वा सत्यमार्गीहरूको विजय हुन्छ भन्ने सन्देश दिन्छ । त्यस कारण यस अवसरमा आफूभित्रको राक्षसी प्रवृत्तिलाई हवनकुण्डमा स्वाहा गर्ने पात्र नै दशैं पर्वको महत्व आत्मसात् गरेको ठहर्छ । त्यसैगरी, छल, कपट, झूट, बेइमानी, ईष्र्या, स्वार्थ आदि अवगुणहरूका लेस मात्र पनि अंश मानसिकतामा छ भने तपाईं राक्षस प्रवृत्तिको महाघातक पात्र हो । राक्षस प्रवृत्ति मानव सभ्यताको हानिकारक तत्व हो । त्यस कारण राक्षस प्रवृत्तिको अन्त्य नै दशैं महापर्वको मूलभूत सन्देश हो ।
महँगी, बेरोजगारी, अन्याय, पीडा, दुःख र कष्ट सिर्जना गर्ने र भ्रष्टाचार गरी देशको अर्थव्यवस्थालाई तहसनहस पार्ने महिषासुर, धुमलोचन, चण्ड, मुण्ड, शुम्भ र निशुम्भ रूपी वर्तमान महाघातक राक्षसहरूको अन्त्य होस् । यी अवयवहरूको अन्त्य गर्नु नै दशैं पर्वको महात्मय र सत्यपथको निर्माण गर्नु हो । देवी भगवतीको कृपा होस् । दशैं महापर्वको हार्दिक शुभकामना !