• बैधनाथ श्रमजीवी

गएको असोज २६ र २७ गते चितवन जिल्लाको नारायणघाटमा देशभरबाट जम्मा भएका ६० जनाको भेलाले नेपालमा पहिलोपल्ट भौतिकवादी समाज नेपालको विधिवत् गठन गरेको घटना सुन्दा वा पढ्दा सामान्य लाग्न सक्छ तर वास्तवमा यो एउटा ऐतिहासिक घटना हो । हामी सबैले बुझेकै कुरा हो, नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएदेखि २०८० सालसम्मको निकै लामो कालखण्डमा कम्युनिस्ट पार्टीकोे इतिहास मूलतः टुटफुट र दक्षिणपन्थी भासमा भासिने रहँदै आएको हुनाले जहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनको सांस्कृतिक पक्ष निकै उदार रहँदै आएको छ । फलस्वरूप नेतादेखि कार्यकर्तासम्मका घरायसी तथा व्यक्तिगत व्यवहार भौतिकवादी कम र आदर्शवादी बढी देखिंदै आएका छन् । यसले गर्दा कम्युनिस्टले दुई तिहाइ बहुमतले सरकार बनाए पनि देशभित्र कतै पनि भौतिकवादी संस्कृतिसहितको समाज देखिएन । यस अर्थमा स्वतन्त्र ढङ्गले गठन भएको यो भौतिकवादी समाज नेपालको निकै महत्व देखिन्छ । वास्तवमा भौतिकवाद वा नास्तिक कसलाई भनिन्छ, यसबारे आउनुस्, थोरै छलफल गरौं ।

ईश्वरको अस्तित्व नस्वीकार्ने विचारलाई नास्तिक भन्ने गरिन्छ । नास्तिक अर्थात् अनीश्वरवादी मानिसहरू सबै देश र कालमा पाइन्छन् । आजको वैज्ञानिक र बौद्धिक युगमा नास्तिकहरू संसारका सबै देशमा भेटिन्छन् । अचेल धेरै कम बुद्धिजीवी छन्, जो नास्तिक (अनीश्वरवादी) छैनन् । नास्तिकहरू भन्छन् कि ईश्वरमा विश्वास गर्ने आवश्यकता नै छैन । सर्जक मान्ने आवश्यकता तब हुन्छ, जब यो प्रमाणित होस् कि कुनै समय सृष्टिको उत्पत्ति भएको थियो । यो जगत् सदादेखि चलिरहेको देखिन्छ । यसको कुनै समयमा उत्पन्न भएको कुनै प्रमाण छैन । उत्पन्न भयो भने पनि यसको के प्रमाण छ कि यसलाई विशेष व्यक्तिले बनाएको हो, आफ्नो कारणले स्वतः बन्यो होला । यसको चालक र पालक मान्ने आवश्यकता छैन किनभने संसारमा यति धेरै मारकाट, यत्रो नाश र ध्वंस तथा यत्रो दुःख र अन्याय देख्ता यसको सञ्चालक र पालक कुनै समझदार र सर्वशक्तिमान् भगवान् छन् भनी मान्न सकिंदैन । संसारमा सर्जन र संहार दुवै साथसाथ चल्दैछ । यस कारण यो भन्नु व्यर्थ हुनेछ कि कुनै दिन संसारको पूर्ण संहार हुनेछ र यो गर्न ईश्वरलाई मान्ने आवश्यकता छ । नास्तिकहरूको विचारमा आस्तिकहरूद्वारा ईश्वरको अस्तित्व सिद्ध गर्न दिइने सबै प्रमाण व्यर्थ छन् ।

भारतीय दर्शनमा नास्तिक शब्द तीन अर्थमा प्रयोग भएको देखिन्छ ।  पहिलो, जसले वेदलाई परम प्रमाण मान्दैन, ऊ नास्तिक हो । यस परिभाषाका अनुसार बौद्ध, जैन र लोकायत मतका (चार्वाक) अनुयायी नास्तिक मानिन्छन् र यी तीन दर्शनलाई नास्तिक दर्शन भनिन्छ ।

दोस्रो, जसले परलोक र मृत्युपश्चात् जीवनमा विश्वास गर्दैन । यस परिभाषा अनुसार केवल चार्वाक दर्शन जसलाई लोकायत दर्शन पनि भनिन्छ, भारतमा नास्तिक दर्शन मानिन्छ र त्यसका अनुयायी नास्तिक मानिन्छन् ।

तेस्रो, जसले ईश्वर (खुदा, गड)को अस्तित्वमा विश्वास गर्दैन । ईश्वरमा विश्वास नगर्ने नास्तिक धेरै प्रकारका हुन्छन् । घोर नास्तिक ती हुन्, जो ईश्वरलाई कुनै रूपमा मान्दैनन् । चार्वाक मत मान्ने भारतमा र रैंक एथिस्ट मानिसहरू पाश्चात्य देशमा ईश्वरको अस्तित्व कुनै रूपमा स्वीकार गर्दैनन् । अर्धनास्तिक ती हुन्, जो ईश्वरलाई सृष्टि, पालन र संहारकर्ताको रूपमा मान्दैनन् । यस परिभाषा अनुसार भारतका धेरै दर्शन नास्तिक कोटिमा पर्छन् । वास्तवमा न्याय र वेदान्त दर्शनलाई छोडेर भारतका अन्य दर्शन साङ्ख्य, योग, वैशेषिक, मीमांसा, बौद्ध र जैन नास्तिक दर्शन मान्न सकिन्छ किनभने यिनमा ईश्वरलाई सर्जक, पालक र विनाशक मानिएको छैन । यस्ता नास्तिकहरूलाई नै अनीश्वरवादी भनिन्छ ।

प्रायः नास्तिकहरूले ईश्वरविरुद्ध राख्ने गरेको एउटा बलियो तर्क के छ भने कुन चाहिं यस्तो ज्ञान छ, जसमा त्रुटि छैन, कुन चाहिं यस्तो दिशा छ, जहाँ दुःखको अग्नि प्रज्वलित हुँदैन, कुन चाहिं यस्तो वस्तु उत्पन्न हुन्छ, जुन नष्ट हुँदैन, कुन चाहिं यस्तो व्यवहार छ, जुन छलकपटरहित छ ? यस्तो संसारको रचना गर्ने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुन सक्छ ?

त्यसैगरी, नास्तिकहरूले भन्दै आएको के पनि हो भने ईश्वरको अस्तित्वको कुनै सबुत छैन । उसलाई हेर्न, सुन्न, महसूस गर्न सकिंदैन । प्रकृतिका सारा नियम कानून विज्ञानद्वारा बुझ्न सकिन्छ । जगत् र जीवनको उद्भव पनि विज्ञानले बुझाउन सक्छ । धर्मग्रन्थमा बकवास कुराहरू लेखिएका छन् । पुराणका कथाहरू परी कथा हुन्, जसको ऐतिहासिक प्रमाण छैन । यदि ईश्वर छ भने यस संसारमा यत्रो पाप, दुःख र पीडा किन छ ? धर्मग्रन्थहरूले एक मनुष्यलाई अर्को मनुष्यसित अलग गरिदिएको छ ।

त्यसैले नास्तिकहरू ईश्वर (भगवान्)को अस्तित्व झूटो मान्छन् । अधिकांश नास्तिक कुनै पनि देवीदेवता, परालौकिक शक्ति, धर्म र आत्मालाई मान्दैनन् । हिन्दू दर्शनमा नास्तिक शब्द उनीहरूको निम्ति प्रयुक्त गरिएको छ, जो वेदहरूलाई मान्यता दिंदैनन् ।

दर्शनको अनीश्वरवादका अनुसार ब्रह्माण्ड स्वयंसञ्चालित र स्वयंशासित छ । ईश्वरवादी ईश्वरको अस्तित्वको जुन प्रमाण दिन्छन्, अनीश्वरवादी ती सबैको खण्डन गर्छन् र संसारगत दोषहरू भनेर निम्नलिखित तर्कहरूद्वारा यो सिद्ध गर्ने प्रयास गर्छन् कि यस संसारलाई ईश्वरले रचेको होइन ।

हाम्रो समाजमा झन्डै ३५ सय वर्षदेखि धार्मिक संस्कार पूजापाठ चल्दै आएको छ । यति लामो सांस्कृतिक अभ्यासले गर्दा समाजभित्र अन्धविश्वास रूढिवादमा रूपान्तरण मात्रै भएको छैन, रूढिवाद नै हाम्रालागि गौरवको विषय बनिसकेको छ ।  आजको विज्ञान–प्रविधिले मानिसलाई अन्तरिक्षमा पुग्न, त्यसलाई जान्न तथा ब्रह्माण्डको नियम पत्ता लगाएर मानवीयतामा प्रयोग गर्न सक्षम बनाएको थाहा पाउँदापाउँदै हामी नेपालीले चन्द्रमा र सूर्यलाई ग्रह भन्दै, ठूलो देउता मान्दै पूजा गरिरहेका छौं । अब हामीले यसमा प्रश्न उठाउन सक्नुपर्छ । हामी सबैलाई थाहा छ, सूर्य तारा हो । धर्मशास्त्रले कुन आधारमा सूर्यलाई ग्रह भनेको हो त ? यसैगरी, चन्द्रमा पृथ्वीको उपग्रह हो तर यसलाई पनि धर्मशास्त्रमा ग्रह भनिएको छ । चन्द्रमालाई ग्रह भन्ने धर्मशास्त्रसँग के आधार छ ? धर्मशास्त्रले दिएको ग्रहको परिभाषा सही छ त ? निश्चितरूपमा यो विज्ञानसँग मेल खाँदैन । अर्थात् ग्रहबारेको यो विचार अवैज्ञानिक छ । अब सवाल उठ्छ, अवैज्ञानिक कुरा हामीले मान्ने र यसलाई समाजमा भावी पुस्ताको लागि निरन्तर स्थापित गर्दै लैजाने अथवा अब यसमा रोक लगाउने, यसबारे यथार्थ कुरा नयाँ पुस्तालाई बताउने र विज्ञानको ज्ञानलाई समाजभित्र दृढतापूर्वक स्थापित गर्दै लैजाने ? कुन बाटो रोज्ने ? हो भौतिकवादी समाज नेपालले पक्कै पनि विज्ञानको बाटो रोज्छ । हाम्रो समाजभित्र देखिएका सबै प्रकारका अन्धविश्वास र रूढिवादी संस्कृतिको खारेजी गर्छ र त्यसको विकल्पमा भौतिकवादी विज्ञानसम्मत संस्कृति र उत्सव निर्माण गर्छ र त्यसलाई जीवन व्यवहारमा उतार्दै भावी पुस्तालाई हस्तान्तरण गर्दै एउटा सभ्य र मानववादी भौतिकवादी समाज निर्माण गर्छ ।

हामी सबैलाई यो थाहा भएकै विषय हो कि हाम्रो ब्रह्माण्ड त्रिआयामी छ । यसको एउटा आयाम सूक्ष्म आयाम हो । यसभित्र नाङ्गो आँखाले देख्न नसकिने संसार छ । जसलाई हेर्न, बुझ्न र अध्ययन गर्न सूक्ष्मदर्शक यन्त्र चाहिन्छ । त्यसैगरी, दोस्रो हो स्थूल आयाम । यसभित्र त्यो संसार छ, जो निकै ठूलो छ । त्यो निकै टाढा छ । यति टाढा कि त्यसको प्रकाश हाम्रो आँखासम्म, पृथ्वीसम्म आइपुग्न हजारौं–लाखौं प्रकाश वर्ष लाग्छ । त्यसलाई पनि हेर्न, बुझ्न र अध्ययन गर्न ठूला–ठूला आधुनिक प्रविधिले परिष्कृत दूरबिन चाहिन्छ । तेस्रो हो, मध्यम आयाम । मध्यम आयाम भनेको हाम्रो नाङ्गो आँखाले देख्न मिल्ने, बुझ्न र विश्लेषण गर्न मिल्ने संसार, जुन हाम्रो वरिपरि सजिलै देखिन्छ । यी तीन आयामभित्रका सबै कुरा गतिशील छन् । यो गतिशील ब्रह्माण्डमा स्थिर केही पनि छैन । हाम्रो पृथ्वी निकै वेगले आफ्नै धुरीमा घुमिरहेको छ । अझ त्योभन्दा पनि निकै गतिले पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको छ, जसको तुलनामा हाम्रो आकार पृथ्वीको एउटा कमिलाभन्दा पनि अर्बौं गुणा सानो छ । जसले गर्दा यो विशालकाय पृथ्वी घुमेको वा परिक्रमा गरेको हामीलाई रती भान हुँदैन । तर वास्तविकता यसको ठीक उल्टो छ । हाम्रो पृथ्वी लगभग १६ सय किलोलिटर प्रतिघण्टाको गतिमा आफ्नो धुरीमा घुमिरहेको छ । पृथ्वीले प्रत्येक घण्टा लगभग एक लाख आठ हजार किलोमिटरको गतिमा सूर्यको चक्कर लगाइरहेको छ । सूर्य लगभग सात लाख किलोमिटर प्रतिघण्टाको गतिमा आकाशगङ्गाको चक्कर लगाइरहेको छ । आकाशगङ्गा लगभग २५ लाख किलोमिटरको गतिमा प्रतिघण्टा ब्रह्माण्डमा हिंडिरहेको छ । र सम्पूर्ण ब्रह्माण्ड ६७.५ किलोमिटरको गतिमा प्रतिसेकेन्ड फैलिरहेको छ ।

अब तपाईं सोच्नुस्, यो ब्रह्माण्ड कति गतिशील छ ? हामीलाई राम्ररी थाहा छ, गति भनेकै स्थान परिवर्तन हो । स्थानमा हुने परिवर्तनले थुप्रै कुरामा फेरबदल गरिरहन्छ । हामी सबैलाई थाहै छ, हामीले हेर्ने गरेको दिन र रात हुनुको कारण पृथ्वीको दैनिक गति नै हो । यदि पृथ्वी आफ्नो धुरीमा घुम्न छोडिदिने हो भने रात र दिन हुँदैन । त्यसैगरी, पृथ्वीले सूर्यको परिक्रमा गर्न छोडिदिने हो भने पृथ्वीमा कुनै मौसम परिवर्तन हुनेछैन । जाडो, गर्मी र वर्षाको जुन चक्र छ, त्यो बन्द हुन्छ । ब्रह्माण्डमा हुने सम्पूर्ण क्रियाकलापको प्रमुख कारण गति नै हो । यो गतिले गर्दा प्रत्येक क्षण (सेकेन्डमा) के के भइरहेको छ ? हाम्रो ब्रह्माण्डमा प्रत्येक सेकेन्डमा लगभग १२० वटा ब्लेक होल जन्मिन्छ । लगभग १२०० पुराना ताराहरू ब्रस्ट हुन्छन् (समाप्त हुन्छन्) ।  लगभग ६०,००० नयाँ तारा जन्मन्छन् ।  लगभग ६० लाख नयाँ ग्रह बन्छन् । ब्रह्माण्डमा लगभग हजार किलोमिटर यात्रा आकाशगङ्गाले गर्छ । लगभग ५०० मिटर टाढा पूरै ब्रह्माण्ड गइरहेको छ अर्थात् फैलिरहेको छ । २७ किलोमिटर एन्ड्रोमिडा ग्यालेक्सी मिल्किवे ग्यालेक्सीको नजीक आइरहेको छ । त्यसैगरी, एक सेकेन्डमा ७४,९०० किलोमिटर यात्रा प्रकाशले गरिसक्छ । यसरी हाम्रो ब्रह्माण्डमा अर्बौं वर्षदेखि प्रत्येक सेकेन्ड यी घटनाहरू हुँदै आइरहेका छन् ।

त्यसैले हामीले के बुझ्न जरुरी छ भने कुनै पनि समाज वा जतिसुकै बलियो राज्यसत्ताले विद्यमान यथास्थिति कायम राख्न चाहन्छ तर ढिलोचाँडो सबै परिवर्तनको शिकार बन्दै जान्छ । हामीले हाम्रो समाजमा देखिरहेको आदर्शवाद र त्यसद्वारा विकसित अन्धविश्वास, रूढिवाद, जात व्यवस्था, छुवाछूतलगायत सामाजिक विकृतिहरू मानव समाजमा लामो समयसम्म थिएन । एउटा निश्चित समयमा मान्छेले समाजभित्र ईश्वरलगायत काल्पनिक पात्र विकास गरेको हो । सामाजिक गतिसँगै विकसित आदर्शवादीहरूको सङ्ख्या अब ८४ प्रतिशत आइपुगेको छ । सामाजिक गतिकै कारण एक दिन सम्पूर्ण मानिस केवल मानववादी र प्रकृतिवादी मात्रै हुनेछ । यो लाखौं माइलको यात्रा नेपाली समाजभित्र पनि नेपाली समाजमा भौतिकवादी समाज नेपालको स्थापनाबाट पहिलो पाइलाको रूपमा शुरू भइसकेको छ । प्रकृतिको नियमविरुद्ध कोही पनि जान सक्दैन । विज्ञानले जतिसुकै धेरै तीव्र गतिको अन्तरिक्ष यान बनाए पनि प्रकाशभन्दा बढी गतिमा हिंड्ने यान बनाउन सक्दैन । प्रकृतिमा उत्पत्ति, विकास र विघटन प्रकृतिकै नियम अनुसार हुन्छ । यो कुनै काल्पनिक ईश्वरको विषय होइन । यो प्रकृतिको सार्वभौम नियम हो । त्यसैले हाम्रो जीवनशैली भौतिकवादी हुन नितान्त जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here