प्रस, रौतहट, २ कात्तिक/
गौर कारागारका कैदीबन्दीले सरकारद्वारा उपलब्ध गराइएको चामल बिक्री गर्ने गरेका छन् ।
प्रतिकैदीबन्दीलाई सरकारले ७५० ग्राम मन्सुली चामल र ८० रुपैयाँ दुई छाकका लागि दिएकोमा चामल भने कैदीबन्दीहरूले बिक्री गर्ने गरेको पाइएको छ । उनीहरूले चामल बिक्री गर्नुको उद्देश्य भने पीठो खरीद गर्नका लागि गरिएको एकजना कैदीबन्दीले बताए ।
सरकारले पीठो उपलब्ध नगराउने र चामल मात्र दिने गरेकोले बढी भएको चामल पीठो खरीद गर्नका लागि बिक्री गर्दै आएको उनको भनाइ छ ।
बढी भएको चामल बिक्री गर्छाैं अनि सोबाट प्राप्त रकमले पीठो खरीद गर्छाैं, उनले भने । कारागारमा प्रतिदिन रोटी खाने कैदीबन्दीहरू २० जना र एक छाक रोटी खाने १२० जना कैदीबन्दी छन् ।
यी कैदीबन्दीहरूका लागि अहिलेसम्मको तथ्याङ्क अनुसार मासिक ३० बोरा पीठो खर्च भइरहेको उनले बताए । कैदीबन्दी महताब आलमले आफू मधुमेहको बिरामी भएको र पाउने चामल बिक्री गरेर पीठो खरीद गरी रोटी खाने गरेको बताए । उनले सरकारले उपलब्ध गराउने चामल गुणस्तरीय नभएको पनि आरोप लगाए । आलमले आज सञ्चारकर्मीहरूलाई सरकारले उपलब्ध गराएको सेवा सुविधा हालको अवस्थामा अपुग भएको र आवश्यक खर्च धेरैजसो कैदीबन्दीले घरबाट मगाएर पूरा गर्दै आएको बताए ।
कारागार व्यवस्थापन कार्यविधि २०७३ को दफा १५ मा कैदीबन्दीले पसल खोल्ने व्यवस्था दफा १६ मा मालसामानको खरीद–बिक्री गर्ने व्यवस्था दिएको छ ।
गौर कारागारका प्रमुख मणिभूषण साहले गत साउनदेखि कारागारमा रहेका ३६५ जना कैन्दीबन्दीले आफ्नोलागि सरकारले उपलब्ध गराएको सात सय ग्राम चामल बिक्री गर्दै आएको र सोबापत पीठो लिने गरेको बताए । उनीहरूले पाउने चामल बिक्री गर्न पाउने कारागार नियमावलीमा रहेको प्रमुख साहले बताए । कारागारका कैदीबन्दीहरूको लागि उपलब्ध चामल बजारमा बिक्री भएको पाइएको र सोबारेमा जिल्ला प्रशासन कार्यालय, रौतहटले कारबाई प्रक्रिया शुरू गरेपछि कारागार प्रशासनले यथार्थ कुरा बाहिर ल्याउनका लागि सञ्चारकर्मीहरूको सहयोग लिएको हो । कारागार प्रमुख साहले कैदीबन्दीहरूले साउन १ गतेदेखि निर्णय नै गरेर चामल बिक्री गर्दै पीठो लिंदै आएको बताए ।
जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गौर कारागारका कैन्दीबन्दी चामल पसलमा फेला परेकाले अनुसन्धान भइरहेको र दोषी पाइएमा कारबाई हुने बताए ।
उनले अनुसन्धान कार्य पूरा नभएको तर प्रारम्भिक अनुसन्धानबाट कैदीबन्दीहरूमध्ये मधुमेहका रोगी भएका र उनीहरूले नै चामल बिक्री गरेर पीठो लिने गरेको बताए । प्रजिअ मिश्रले अनुसन्धानले थप कुराहरूको पुष्टि गर्ने बताए ।