ओमप्रकाश चौधरी, सेढवा २७ असोज/
दशैं–तिहार र छठ पर्वलाई लक्षित गरेर पर्साका ग्रामीण क्षेत्रमा घर लिपपोत शुरू भएको छ । वर्षायाममा कारण घरका भित्ता छाना तथा झारपात उम्रेर भएका फोहोर सरसफाइमा गाउँलेहरू जुटेका छन् । लक्ष्मी पूजाका लागि घर आँगन सुन्दर बनाउन मानिसहरू लागेका छन । खरको भित्ता नयाँ निर्माण गरी पहेंलो माटोले लिपपोत गर्न एकाबिहानै गाउँका महिलाहरू लागेका छन् । माटो, गाईवस्तुको गोबर, गहुँ–धानको परालको भूस पानीमा मुछेर घरको भित्ता र सतह लिपपोत गरिरहेको जीराभवानी गाउँपालिका–२ सेढवाकी कान्तीदेवी बताउँछिन् । यस वर्ष ढिलोसम्म पानी परिरहेकोले घर आँगन सफा गर्न ढिलो भएकोले हतारो परेको उनी बताउँछिन् ।
यसैगरी वर्षेबाली भण्डारण गर्न किसानहरू लागिपरेका छन् । प्रायः यस क्षेत्रमा धान भण्डारणका लागि बाँसबाट बनाइएको भकारी प्रयोगमा ल्याइन्छ । वर्षाले भत्केका भकारी फुसको छाना मरम्मत गरी लिपपोत भइरहेको छ ।
यसका साथै यसै समयमा कात्तिकी काममा किसानहरू व्यस्त छन् । ढिलोसम्म परेको पानीका कारण तरकारी रोप्न पनि किसानहरू पछि परेका छन् । तोरी, रायो, आलू, लहसुन, चम्सुर, धनिया, भन्टा, काउली, बन्दालगायत तरकारी रोप्ने तयारी भइरहेकाले किसानहरू व्यस्त रहेका जगरनाथपुर गाउँपालिका–३ निवासी रामचन्द्र यादवले बताए । अहिले राम्ररी उत्पादन गर्न सके आलु, लसुन वर्षभरि चल्ने भएकोले कात्तिक महीनामा यसको खेतीमा लाग्ने गरेको उनले बताए ।
जीराभवानी र ठोरी गाउँपालिकामा तेलहन बाली तोरीमा समस्या देखिएको छ । खेतमा पानी जमेकोले तोरीको रोपाइँ हुन सकेको छैन । तोरी ढिलो गरेर छरे जाडोले उत्पादनमा कमी हुने किसानहरू बताउँछन् । यस क्षेत्रमा छदेखि आठ सय बिघा जग्गामा तोरी खेती हुँदै आएको छ ।