प्रस, निजगढ, २७ असोज/
निजगढ नगरपालिका–४ बागदेव स्थित कुनसा पोखरीमा एकजना अन्दाजी ३० वर्षीय युवापानीमा शनिवार बिहान सवा नौ बजे डुबेपछि बचाऊबचाऊ भन्दै गुहार गरिरहेका थिए ।
त्यस बेला बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला समन्वय समिति बारा अध्यक्ष नरेन्द्र कुमार साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेशप्रसाद काफ्ले, सशस्त्र प्रहरी बल नेपाल बाराका प्रमुख टोपबहादुर डागी, नेपाली सेना ज्वाला दल गणका निमित्त गणपति सेनानी दीपेन्द्र अर्याल, राष्ट्रिय अनुसन्धान कार्यालय, बारा प्रमुख अभिनय सिंह, निजगढ नपाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङलगायत सुरक्षाकर्मीहरू उपस्थित थिए ।
यसरी पोखरीमा डुबेका ती व्यक्तिले बचाउन आग्रह गरिरहेको देख्दा त्यहाँ पुगेका अन्य स्थानीय अचम्मित भए । त्यसको केही क्षणमैं पोखरीको माझमा पुगेको चारजना सवार डुङ्गा एक्कासि पल्टिएको दृश्यले झनै सर्वसाधारण अचम्मित बने । केही समयमैं घटनास्थलमा पुगेका सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीका तालीमप्राप्त सुरक्षाकर्मीको टोलीले उनीहरूको सकुशल उद्धार ग¥यो ।
त्यस अघि पोखरी नजीकैको चउरमा निर्मित घरहरूमा एक्कासि आगलागी भएको दृश्य देखाइएको थियो । त्यहाँ पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको उद्धारटोलीले आगो निभाउने प्रयास गर्दागर्दै निजगढ नगरपालिकाको वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा पारियो ।
आगलागी हुँदा घाइते हुनेको उद्धार गरी एम्बुलेन्समा राखी अस्पताल पुर्याइयो । त्यसभन्दा पनि दर्दनाक दृश्य शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका एक व्यक्तिलाई घटनास्थल पुगेको सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएर घाइतेलाई एक्बुलेन्समा राखी अस्पताल पुर्यायो । यो जिल्ला विपद् व्यवस्थापन समिति बाराद्वारा प्रस्तुत गरिएको विपद्सँग सम्बन्धित कृत्रिम घटना उद्धार अभ्यास कार्यक्रमको झलक थिए ।
यस्ता विपद्का घटनामा कसरी मानवीय, भौतिक संरचना, सरसामानको उद्धार, सुरक्षा गर्न सकिन्छ भनी जानकारी दिन सो कार्य गरिएको थियो ।
त्यसैगरी सिलिन्डर ग्याँसमा लागेको आगो सहजै निभाउन सक्ने कलासमेत तालीमप्राप्त सुरक्षाकर्मीहरूको टोलीले प्रस्तुत गरेका थिए । बाराका १६ स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा आयोजना गरिएको उक्त कृत्रिम घटना उद्धार अभ्यास कार्यक्रमका स्थानीय तहका अधिकांश प्रमुख देखिएनन् ।
ठूला विपद्का घटनामा सङ्घीय सरकारसँग विपद् व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत तालीमप्राप्त संयन्त्र र प्रदेश सरकारमा सो जनशक्ति रहने व्यवस्था रहेको हुँदा स्थानीय तहहरूले पनि स्थानीय आवश्यक व्यवस्था गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रजिअ सापकोटाले बताए ।
विपद् जानकारी दिएर आउँदैन । कहिले सानो, कहिले ठूलो विपद् आउन सक्छ । त्यसको उद्धार कार्य तदारुकताका साथ गरिनु नै हरेक तहका सरकार, निकायहरूको जिम्मेवारी भएको प्रजिअ सापकोटाले भने ।
विपद् आउने कुराको पूर्वानुमान गरी सोही अनुसार आवश्यक उद्धार सामग्री सहित जनशक्ति व्यवस्थापनका लागि स्थानीय तह सधैं चनाखो रही मानवीय उद्धार, धनजनको क्षति कम गर्न तत्पर रहनुपर्ने उनले बताए । स्थानीय तहहरूले प्रायः विपद् व्यवस्थापनका लागि बजेट कन्जुस्याइँ गरी विनियोजन गर्ने गरेको पाइएकोले यसतर्फ बेलैमा ध्यान दिन प्रजिअ सापकोटाले आग्रह गरे । नगर प्रमुख पुरीले, सशस्त्र प्रहरी बेस नेपाल विपद् व्यवस्थापन बेस निजगढका प्रमुख डिएसपी दिनेश शर्मासहितको टोलीले एक साता अघि भमरा खोलामा आएको बाढीमा फसेका २३ जना र बस्ती डुबानमा पर्दा घरबाट निस्कन नसकेका चारजना र अन्य २७ जनाको सकुशल उद्धार गरेको बताए ।
सो अवसरमा नेपाल जलवायु परिवर्तनको जोखिमको हिसाबले विश्वको चौथो, भूकम्पीय जोखिमको हिसाबले ११ औं, जलजन्य जोखिमको हिसाबले ३० औं र समग्र जोखिमको हिसाबले २० औं स्थानमा रहेको जानकारी गराइएको थियो ।