- डा शिवशङ्कर यादव
पाठकवृन्द ! शायद हामी सबैलाई हिस्टेरिया के हो थाहा छ । यसलाई नेपालीमा के भनिन्छ भने थाहा छैन होला किनभने धेरै कुरा हामी अङ्ग्रेजी शब्दमा स्वीकार गरिसकेका छौं । त्यसैमध्ये हिस्टेरिया पनि हो । हिस्टेरिया ग्रीक हिस्टेराबाट आएको हो, जसको अर्थ हुन्छ पाठेघर । ग्रीकहरूको विश्वास थियो कि यो रोग पाठेघरको गतिविधिसँग सम्बन्धित हुन्छ, किनभने यो बढी महिलामा पाइन्छ । ईसाको उन्नाइसौं वर्ष पहिले पैपिरसले हिस्टेरियाको मतलब स्टार्भेशन अफ युटेरस वा पाठेघरको विस्थापनको रूप भनेका छन् । ५०० बिसीमा ग्रीक ग्रेट फिजिसियन हिप्पोक्रेटसले पनि यसलाई हिस्टेरिया नै उल्लेख गरेका छन् । ग्रीकहरूमा के विश्वास थियो भने यो विधवाहरूको रोग हो । उनीहरूले के मान्दथे कि महिलाको सिमेनको सम्भोगद्वारा निकास भएन भने त्यो विषाक्त हुन्छ र हिस्टेरिया हुन्छ । मेरो विचारमा उनको त्यो विश्वास अकाट्य छ तर आइमाईको हकमा मात्र । पुरुषलाई पनि यो रोग हुन्छ भन्ने उनीहरूलाई थाहा थिएन । आधुनिक चिकित्सक पनि पहिले यसै नामले यसलाई जान्दथे ।
भोजपुरीमा यसलाई भाव बनाउने, बहाना गर्ने भन्न सकिन्छ । मेरो छिमेकमा एकजना थिए, उनका पिता उसलाई पैसा दिंदैनथे । एक दिन ऊ ओंठमा रक्सी लगाएर गलीमा सुत्यो । बाबुले हेर्दा उसको मुखबाट रक्सीको गन्ध आइरहेको थियो । आमाले भनिन् पैसा माग्दै थियो, दिनुभएन । अब नतीजा भोग्नुस् । यो हिस्टेरिया होइन, किनभने हिस्टेरियामा वास्तविक लक्षण पनि देखिन्छ । तर यस्ता मानिसलाई ‘हिस्टेरिक ट्रेट’ भनिन्छ । पहिले हामी गाउँमा नाच हेर्ने जान्थ्यौं । मान्छे भन्थे नाच लाग्यो, मतलब नाचले मदमस्त पारिदियो । नाच लाग्नु हिस्टेरिया हो, जसलाई सम्मोहन भन्न सकिन्छ । सम्मोहनमा पार्ने नाच हो र सम्मोहित हुने दर्शक हुन् । दिनहुँ अखबारमा पढ्छौं कि विद्यालयका छात्राहरू विनाकारण एक्कासि एक साथ बेहोश भए । भोलिपल्ट अर्को विद्यालयमा पनि यस्तै हुन्छ । यो मास हिस्टेरिया हो, जसले एक समयमा धेरैलाई समात्छ । कुनै महिलालाई परिवारमा कसैले स्नेह गर्दैन । ऊ सबैबाट उपेक्षित भएर स्नेहको भोकी बन्छे । एक दिन ऊ बेहोश हुन्छे, जसले अरूलाई आफूप्रति आकर्षित गर्न सकोस् । परिवारका सबै सदस्य उसलाई बोकेर अस्पताल लग्छन् । चिकित्सकले जाँच गर्दा रोगीमा कुनै शारीरिक खराबी छैन तर बेहोशी अवस्थामा पनि उसको परेला चलिरहेको हुन्छ, जुन हिस्टेरियाको खास लक्षण हो । चिकित्सकले अमोनियामा रुवा चोभेर रोगीको नाकमा सुघाउँछ । रोगी जुरुक्क उठ्छ, जुन हिस्टेरियाको सशक्त प्रमाण हो । अब परिवारले उसको ख्याल गर्न थाल्छ । यही त चाहिएको थियो रोगीलाई । यो हिस्टेरिया विभिन्न किसिमको हुन्छ । झाँक्री काम्ने, महिला माथि भूत चढ्ने आदि कुरा हिस्टेरिया हो । कहिलेकाहीं मान्छे बोल्न सक्दैन, हातखुट्टा पनि चलाउन सक्दैन । जाँच गर्दा कुनै शारीरिक कारण देखिंदैन । नारी, धडकन, ब्लडप्रेसर र सबै पैथालोजिकल जाँच नर्मल हुन्छ भने त्यो हिस्टेरिया हो । पहिले मानसिक रोगको वर्गीकरणमा यसलाई हिस्टेरिया नै भनिन्थ्यो । यस अन्तर्गत अरू धेरै कुरा आउँछ । काबुमा आउन नसक्ने संवेग, अरूद्वारा प्रेरित क्रिया, नाटकीय प्रदर्शन, कसैलाई फकाउने विधि, कुनै शारीरिक कारण नदेखिने, डिप्रेसन र अरू सबै अस्पष्ट शारीरिक लक्षणहरू जुन प्रायः महिलामा पाइन्छ, केही मानसिक विकृति, व्याख्या गर्न नसकिने लक्षण, बहानाबाजी, सधैं रोगी भएको बताउने, केही मनोशारीरिक रोग र मनोसेक्सुअल रोग सबै आउँछ । यसरी यसको सूची लामो भएकोले आइसिडीले डिसोसिएटिभ कन्भर्शन रोगमा वर्गीकरण गरेको छ । डिसोसिएटको मतलब हुन्छ पृथक गर्नु र कन्भर्शनको माने हुन्छ बदलाव । यस रोगले मानिसलाई यसको मूल प्रकृतिबाट पृथक गर्छ र मान्छेको क्रियाकलापमा पनि बदलाव ल्याउँछ । यस कारण यसको नाम डिसोसिएटिभ कन्भर्सन डिजार्डर परेको हो । सिगमन्ड फ्रायडले पनि भनेका छन् कि कुनै पनि मानसिक रोग स्नायु विकृतिमा कन्भर्ट हुन सक्छ । त्यस कारण पनि यसलाई कन्भर्सन डिजार्डर भनिन्छ । यसलाई एफएनडी पनि भनिन्छ मतलब फंक्शनल न्युरोलोजिकल डिजार्डर । यो किनभने त्यस क्षणमा रोगीमा साँच्चीकै नर्भस विकृति हुन्छ, जस्तै– हात चलाउन नसक्ने । त्यसैले त्यसलाई खाली पंmक्शनल मात्र भनियो कारक भनिएन । यो अरू पनि धेरै नामले जानिन्छ जसरी ः नर्भस सिस्टम डिजिज, साइकोजेनिक डिजार्डर, ननआर्गेनिक डिजार्डर आदि ।
अतः यसको परिभाषा हुन्छ– हिस्टेरिया दमित इच्छा र दमित उत्तेजना तथा भावनाको स्नायु रोगको रूपमा प्रकटीकरण हो ।
बहिरंग विभागमा ५ देखि १५ प्रतिशत रोगीमा यही हिस्टेरिया हुन्छ । यो प्रायः महिलामा बढी हुन्छ तर बच्चाको मामलामा बराबर बराबर हुन्छ । पाठकवृन्द ! यहाँ डिसोसिएटिभ र कन्भर्शन दुवै मिलाएर डिसोसिएटिभ कन्भर्शन डिजार्डर भनिएको छ । अतः दुवैको छुट्टाछुट्टै वर्णन जरुरी छ । पहिले आउनुस् कन्भर्शन डिजार्डरबारे कुरा गरौं–
कन्भर्सन डिजार्डर ः यो निम्नलिखित लक्षणबाट पहिचान गरिन्छ ः यसमा रोगीमा मोटर वा सेन्सरी कार्यमा कमी देखिन्छ, जस्तै–हात चलाउन नसक्नु, छुृँदा थाहा नहुने आदि । यो एक्कासि देखिन्छ र तनावको कारण बढेको हुन्छ । तनाव दिने कारण र लक्षण हुनुको सीधा सम्बन्ध हुन्छ । रोगीले जानाजान केही गरेको हुँदैन । यसमा मोटर र सेन्सरी कार्य मात्र ग्रसित हुन्छ स्वचालित नर्भ प्रभावित हुँदैन जसरी नारी, धडकन र परेला चल्नु आदि । यसै कारण रोगीको परेला चलिरहन्छ । यसमा शारीरिक र पैथोलाजिकल जाँच गर्दा केही खराबी देखिंदैन ।
टाइप वा प्रकार– जसमा मोटर डिजार्डर हुन्छ ः यसमा अक्सर पक्षाघात वा विकृत अङ्ग सञ्चालन भएको देखिन्छ । रोचक कुरा के हुन्छ भने रोगीले आफ्नो जानकारी अनुसार भन्छ तर जाँचमा त्यस्तो पाइँदैन र जाँच नर्मल हुन्छ । रिफ्लेक्स कम हुनुपर्नेमा झन् बढ्छ । तथापि लामो समयको लागि यदि पक्षाघात रह्यो भने कन्ट्रेक्चर हुन्छ । अवाञ्छनीय गति अथवा एब्नार्मल मुभमेन्टमा ट्रेमरदेखि भूत चढेजस्तो शरीरमा कम्पन र अनुहार विकृत देखिन्छ । यदि रोगीमाथि बढी ध्यान दियो भने लक्षण झन् बढ्छ र उपेक्षा गरेर चिकित्सक कुनै अर्को रोगीतिर लाग्छ भने कम हुन्छ । सबै जाँच निगेटिभ हुन्छ । अनुहार विकृत र नाटकीय हुन्छ । एनेस्थेसिया अर्थात् सेन्सरी शून्यतामा रोगीलाई छोयो भने रोगीले महसूस त गर्दैन, तर त्यो नारी र कुर्कुच्चामा गएर समाप्त हुन्छ र त्यसभन्दा तलको संवेदना जस्ताको त्यस्तै रहन्छ । यो हिस्टेरियालाई पहिचान गर्ने खास लक्षण हो जुन वास्तविक सेन्सरी शून्यतामा पाइँदैन । त्यस्तै हिस्टेरियाका रोगीमा अर्धाङ्ग, अन्धोपन र बहिरोपन पनि हुन सक्छ जुन शारीरिक जाँच गर्दा भूmटो साबित हुन्छ किनकि यस्तो कुरा रोगीले आफ्नो सहुलियत अनुसार भनेको हुन्छ । यसो त सबै सेन्सरी शून्यतामा रोगीले जित्न सक्छ तर कम्पनको जाँचमा रोगी सजिलै भूmटो साबित हुन्छ । जब एउटा कान नजीक ट्युनिक फार्क राखिन्छ, त्यो निश्चितरूपले अर्को कानमा पनि जान्छ । तर हिस्टेरियाको रोगीले अर्को कानमा गएको पाउँदैन । एक साइड ठीक छ भने अर्कोमा किन गएन ? यही भूmटको निशानी हो । यस अन्तर्गत हिस्टेरिकल फीट अथवा बेहोशीका साथ शारीरिक ऐंंठन अथवा कम्पन पनि आउँछ, जसलाई हिस्टेरिकल वा स्युडो सिजर पनि भनिन्छ । यस्तो घटना भारतमा बढी देखिन्छ । यसलाई साँच्चीको सिजरबाट छुट्याउन आवश्यक हुन्छ ।
अब डिसोसिएटिभ डिजार्डरको क्लिनिकल प्रकारमा आउनुस्–
यो पाँच प्रकारको हुन्छ ः डिसोसिएटिभ एम्नेसिया वा विस्मृति, डिसोसिएटिभ फ्युज, मल्टिपल पर्सनालिटी वा बहुरंगी व्यक्तित्व, पोजेशन हिस्टेरिया र अर्को डिसोसिएटिभ डिजार्डर । डिसोसिएटिभ एम्नेसियाको बिमारी सर्वाधिक हुन्छ, जुन किशोर र तरुण अवस्थाको महिलामा पुरुषभन्दा बढी सङ्ख्यामा पाइन्छ । यसमा प्रायः तनावपूर्ण अवस्थामा महिलाको पहिचान र सूचनाका कुरा विस्मृत हुन्छ जुन दैनिक विस्मृतिभन्दा भिन्न हुन्छ जसको कुनै शारीरिक कारण सिद्ध हुँदैन । विस्मृतिको बेला मस्तिष्कमा चेतनाको हल्का क्लाउडिंग हुन्छ । विस्मृति ठीक भएपछि सबै कुरा याद रहन्छ । डिसोसिएटिभ फ्युज त्यो अवस्था वा क्षण हो, जसमा मान्छे प्रायः घरबाट निस्केर भौंतारिन थाल्छ । त्यस समय उसले आफ्नो नयाँ नाम र पहिचान बताउन थाल्छ । यो अक्सर अचानक र तनावको बेलामा देखिन्छ जसमा पहिलेको जीवन पूर्णतः विस्मृत हुन्छ । यसको अन्त पनि अचानक हुन्छ । अनि भौतारिएको कुरा विस्मृत हुन्छ र पहिलेको स्मृति कायम हुन्छ । मल्टिपल पर्सनालिटी वा बहुरंगी व्यक्तित्वमा अक्सर व्यक्तिमा दुई थरीको व्यक्तित्व देखिन्छ र एक समयमा एउटै रंग मात्र प्रकट हुन्छ । जुन बेला अर्कोको पालो आउँछ पहिलेको केही याद रहँदैन । दुवैको शुरूआत र अन्त अचानक हुन्छ । पोजेशन हिस्टेरिया भारत र अफ्रिकामा अक्सर सम्पत्ति वा अधिकारको लागि अर्को व्यक्तिलाई प्रभावित पारेर वशमा राख्ने गतिविधिको रूपमा देखिन्छ । अर्को डिसोसिएटिभ डिर्जाडरलाई गेन्सर सिन्ड्रोम वा स्युडो अथवा भूmटो डिमेन्सिया पनि भनिन्छ । यो कैदमा रहेका मानिसमा देखिन्छ । यसलाई जर्मन मनोचिकित्सक सिगबर्ट जोसेफ मारिया गेन्सरले सर्वप्रथम १८औं शताब्दीमा चारजना कैदीमा पत्ता लगाएका थिए । यसमा रोगीले कुनै प्रश्नको गलत उत्तर दिन्छ, यो जानेर पनि कि उसले गलत उत्तर दिंदैछ । जसरी तपाईंले रातो कलम देखाउनुभयो भने उसले कालो भन्छ र पछि जानीजानी आफ्नै उत्तरमा अडिग रहन्छ ।
कारण र निवारण ः यहाँ साइकोडायनामिक र विह्वेयरल थ्योरी मुख्यरूपले व्याख्या गर्न सकिन्छ । सिगमन्ड फ्रायडले भनेका छन् कि यदि व्यक्तिको आक्रामकता वा सेक्सुअल संवेगलाई बलपूर्वक रोकियो वा दमन गरियो अथवा बचपनको उपेक्षा वा अप्रिय घटना, जुन अवचेतनमा जमा भएर बसेको हुन्छ त्यही बेलाबेला एब्नर्मल क्रियाकलाप अथवा हिस्टेरिक डिजार्डरको रूपमा प्रकट हुन्छ । बिहेवेरल थ्योरीमा ः रोगीले कसैलाई हेरेर त्यस्तै गर्न थाल्छ अथवा अन्यबाट सिक्छ । जस्तै व्यक्ति कसैलाई कसरी अर्धाङ्ग लाग्छ भन्ने हेरेर त्यस्तै नाटक गर्न थाल्छ ।
हिस्टेरियाको उपचार पाँच विधिले गरिन्छ–
१. बिहेवियर थेरापी ः हिस्टेरियाको रोगीले आफन्त वा अरूको ध्यान आफूतिर आकर्षित गर्ने कोशिश गर्छ । ऊतिर जति आकर्षित भयो, उसको लक्षण त्यति नै बढेको देखिन्छ । त्यसैले चिकित्सकले उसको लक्षणको उपेक्षा गरेर सामान्य रोगीसरह व्यवहार गर्नुपर्छ । यसो गर्दा लक्षण कम हुन्छ र त्यसै बेला रोगीलाई भन्नुपर्छ– हेर रोग कसरी निको हुन लाग्यो ? हिस्टेरियाको रोगीलाई चिकित्सकको सल्लाह मान्न दृढ भएर यस्तो गर्नुपर्छ । अचानक देखिएको लक्षणको जति छिटो उपचार गरियो, भविष्यमा त्यति नै खतरा कम हुन्छ । यसको लागि निम्नमध्ये कुनै एक विधि कारगर हुन्छ– क) छिटो ठीक हुन्छ भन्ने दृढ सल्लाह, ख) एभर्शन थेरापी वा उल्टाउने उपचार ः यसमा निम्नलिखित कुनै एउटा क्रिया अपनाइन्छ– रोगीलाई लिकर एमोनिया सुँघाइन्छ वा कम मात्राको इलेक्ट्रिक करेन्ट छुवाइन्छ वा आँखाको ठीकमाथि अथवा कानको अगाडि औंलाले दबाब दिइन्छ र कहिलेकाहीं नाकमुख थुनिदिइन्छ । रोगी जुरुक्क उठ्छ, जुन हिस्टेरिया भएको बलियो प्रमाण हो । नाकमुख बढी समय थुन्नुहुँदैन किनभने यो रोगीको अधिकारको सिद्धान्तविपरीत त हो नै, विपरीत परिणाम पनि दिन सक्छ । ग) हिप्नोसिस उपचारमा नसाबाट एमाइल, थायोपेन्टोन वा डायजिपाममध्ये कुनै एक दिइन्छ । हिस्टेरियाको रोगी यसले सजिलै ठीक हुन्छ । २. साइकोथेरापी विथ एब्रिएक्शनः एभर्शन थेरापीमा त रोगीको रोग उल्टाउने काम हुन्छ तर साइको एब्रिएक्शन थेरापीमा रोगीको चेतना, उसको सोच र सम्झना राम्ररी फर्काउने काम गरिन्छ । एब्रिएक्शनको मतलब पनि यही हुन्छ । यो निम्न विधिले प्राप्त गरिन्छ– हिप्नोसिस, फ्री एशोसिएशन, नसाबाट थायोपेन्टोन वा डाइजिपाम दिने । फ्री एशोसिएशन विधि सिगमन्ड फ्रायडले आविष्कार गरे । यसमा रोगीलाई आफ्नो सबै विचार, पीडा र सङ्घर्ष निर्धक्क भएर सङ्कोचरहित भएँ भन्न तयार पारिन्छ, रोगीको अवचेतन उघार्नका लागि । अवचेतन उघ्रेपछि चिकित्सकले उचित सलाह दिन्छ । यसको लक्ष्य यो हुन्छ कि रोगी चेतनामा आओस् र चिकित्सकको सल्लाह मानोस् । एकपल्ट यस्तो भएपछि रोगीको भावुकता कम हुँदै जान्छ र रोगको लक्षण हराउँदै जान्छ । ३. सपोर्टिभ साइकोथेरापी ः यो उपचार रोगी आफ्नो द्वन्द्वबाट बाहिर आइसकेपछि सामान्य दैनिकी अन्तर्गत गरिन्छ र साथै परिवारका सदस्यलाई पनि सुझाव दिइन्छ । ४. साइको एनालिसिस ः यो डिसोसिएटिभ डिजार्डरमा मात्र गरिंदैन, रोगीको सम्पूर्ण व्यक्तित्वलाई उकास्नका लागि गरिन्छ । यसले रोगीमा उल्लेखनीय सुधार ल्याउँछ । तर यसका लागि पाँच वर्ष समय लाग्छ । ५. औषधीय उपचार ः औषधिको यस रोगमा कमै भूमिका हुन्छ । तर पनि माथि वर्णन गरिएका एमाइल, थायोपेन्टोन र डाइजिपामबाहेक छोटो समयको लागि बेन्जोडाइजिपिन प्रयोग गर्न सकिन्छ । अस्तु !