• बैधनाथ श्रमजीवी

नढाँटी भन्ने हो भने यतिबेला नेपाली समाजमा सबैतिर समस्यैसमस्याको पहाड देखिन्छ । के गाउँ, के शहर, के तराई, के पहाड सबै ठाउँमा बेरोजगारीको ताँती छ । महँगीले सबैको घाँटी अठ्याएको छ । गन्हाएको छ सम्पूर्ण देश भ्रष्टाचारको दुर्गन्धले । गाउँगाउँमा रोजगारको सट्टा युवाहरूको हातहातमा राहदानी थमाइएको छ । झन्डै एक करोड युवा जनशक्ति विदेशिन बाध्य पारिएको छ । शिक्षा, सञ्चार, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् कुनै क्षेत्र दुरुस्त छैन । महिलाहरूलाई शोकेसको वस्तुसरह बनाइएको छ र घरघरमा पितृसत्ताले केवल भोगको वस्तु बनाइ सजाएर राखेको छ । मध्ययुगीन जाति व्यवस्था अझै लहलहाउँदो अवस्थामा छ । कसैलाई भेट्नेबित्तिकै उसको जाति खुल्ने परिचय मागिन्छ । केहीबेर पहिले सन्तुलित र सहजभावमा बसेका मानिसबीच जात खुल्नेबित्तिकै असहजता उत्पन्न हुन्छ । एकछिन पहिलेको मानवीय प्रेम घृणा, द्वेष तथा विषम भावमा बदलिन्छ र ती मानिस कोहीभन्दा कोही ठूला वा साना बन्न पुग्छन् ।

यस्तोमा सवाल उठ्छ– के यो प्रकृतिप्रदत्त समस्या हो ? अथवा निजी स्वार्थले प्रेरित आफूलाई सभ्य तथा पढेलेखेको बुद्धिजीवी ठान्नेहरूबाट सिर्जित हो ?

हामी सबैलाई थाहा छ, कुनै पनि वस्तुको दुईवटा रूप हुन्छ । एउटा बाहिरी, अर्को भित्री । बाहिरको रूपरङ्गले प्रायः भित्रको वास्तविकता लुकाउन तथा सुरक्षित राख्न प्रमुख भूमिका खेलेको हुन्छ । उदाहरणको लागि वीरगंज महानगरपालिका पहिलेभन्दा अहिले निकै सफाजस्तो देखिन्छ । प्रायः साँझ–बिहान शहरभित्रका चिया–कफी पसल पहिलाभन्दा सफा र त्यहाँ छलफल तथा चर्चा–परिचर्चा भइरहेका देखिन्छन् । तर सारमा हेर्दा वीरगंजको सरसफाइ सरसर्ती हेरेजस्तै उन्नत छ त ? सरसफाइ भनेको के हो ? केवल सडकपेटीमा झाडु लगाएर शहर सफा छ भन्न मिल्छ ? शहरलाई प्रदूषित पार्ने तत्व सफा गर्नुपर्छ कि पर्दैन ? भ्रष्टाचार गरेर रातारात धनकुबेर बन्ने मानसिकता समाजभित्रको सबैभन्दा ठूलो फोहरको डुङ्गुर हो कि होइन ? आउनुहोस्, यसबारे थोरै चर्चा गरौं ।

सुशासन तथा अनुशासनको सिलसिलामा वीरगंज तुलनात्मकरूपमा पहिलेभन्दा झन्झन् छाडा हुँदै गएको अनुभूति हुन थालेको छ । जहाँसम्म सडकमा धूलो, फोहर, कसिङ्गरको कुरा छ, त्यस अर्थमा वीरगंज पहिलेभन्दा अहिले सफा भएकोमा दुईमत छैन । खासगरी घरबाट निस्कने कचरा–कसिङ्गर, बजारबाट निस्केका फोहरको नियमित व्यवस्थापन जुन महानगरपालिकाले गरिरहेको छ, त्यस अर्थमा वीरगंजमा सफाइको अवस्था सन्तोषजनक छ भन्न कन्जुस्याइँ गर्नुहुँदैन, तर वीरगंज महानगरपालिकाको सफाइको अवस्था यति मात्र बुझ्दा सफाइले पूर्णता पाएको भन्ने कुरा आंशिक मात्र सत्य हो । यो कुनै व्यक्तिविशेषप्रति लक्षित आग्रह वा पूर्वाग्रह होइन । वास्तवमा यतिबेला वीरगंज महानगरपालिका मात्र होइन, सबै नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाहरू एक प्रकारको प्रदूषित वातावरणको शिकार भइरहेका छन् भन्दा अत्युक्ति नहोला । हामी सबैले बुझेकै कुरा हो, नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । यहाँ कानूनको शासन छ । नागरिक र सरकार दुवैको आआफ्नो अधिकार र कर्तव्य छन्, जसको उल्लङ्घन गर्न कुनै पक्षलाई छुट छैन । यति हुँदाहुँदै पनि के राज्य र नागरिकले आआफ्नो जिम्मेवारी पूरा गरेका छन् ? यदि गरेका छन् भने नेपाली समाजमा तलदेखि माथिसम्म व्याप्त संस्थागत भ्रष्टाचार कुन जिम्मेवारी, अधिकार र कर्तव्यभित्र पर्छ ? कुनै पनि गाउँपालिकालाई नगरपालिका बन्न वा नगरपालिकालाई उपमहानगरपालिका अथवा महानगरपालिका बन्न ऐन कानूनबमोजिम तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हो कि होइन ? के यी मापदण्ड पूरा भएर शहरहरूको वर्गीकरण गरिएको हो ?

वास्तवमा यतिबेला बजारको अवस्था हेर्दा लाग्छ फगत कागजी प्रक्रियाबाहेक केही पूरा गरिएको छैन । यदि यस्तो नहुने हो भने हाम्रा सुन्दर ऐतिहासिक शहरहरू किन दिन प्रतिदिन कुरूप बन्दै गइरहेका छन् ? शहरभित्र हेर्दा किन सबैतिर अव्यवस्थालाई निकै मिहिनेत गरेर सजाइएकोजस्तो देखिन्छ ? उदाहरणका लागि जताततै तोरीको गेडा जस्तै छरिएका पसल, औषधिपसलहरू वा डाक्टर साहबहरूको क्लिनिक तथा निजी अस्पतालहरूकै कुरा गरौं । आजको आधुनिक युगमा डाक्टर भनेपछि पढेलेखेका, बुद्धिजीवी र मृत्युको मुखमा पुगेका बिरामीको जीवन बचाउने सेवा कार्यमा संलग्न प्रतिष्ठित व्यक्ति बुझिन्छ ।  हिजोसम्म विशेष प्रकारको विज्ञान प्रविधिमा आधारित स्वास्थ्य उपचारका लागि अहिले काठमाडौं, पटना वा दिल्ली धाउनुपर्ने अवस्था सकिंदै गएको छ । राम्रो सीप र उच्च दक्षता भएका विशेषज्ञ डाक्टरहरू तथा निजी अस्पताल वीरगंजमैं उपलब्ध हुनु खुशी र गर्वको कुरा हो । एउटा डाक्टर निकै लामो समयसम्म अध्ययन अभ्यास गरेर डाक्टर बनेको हुन्छ । त्यसमाथि झन् नेपाल मेडिकल काउन्सिलको परीक्षासमेत पास गर्नुपर्छ । नेपाल मेडिकल काउन्सिलले एउटा कोड अफ कन्डक्ट बनाएको छ, जसमा डाक्टरहरूले आफ्नो साइनबोर्डको साइज र त्यसमा प्रयोग गर्ने मसीदेखि के कस्ता कुराहरू लेख्न हुन्छ र हुँदैन भन्ने पनि थाहा भएकै कुरा हो, तर यतिबेला ती कुराको कुनै ख्याल नगरी सिनेमाहलमा चलिरहेको फिल्मको पोस्टरजस्तै रङ्गीचङ्गी ठूला–ठूला अक्षरमा साइनबोर्डहरू शहरभरि झुन्डिएका देखिन्छन् । सुन्दर शहरको सुन्दरता साइनबोर्डभित्र हराएको प्रतीत हुन्छ । शहरलाई सुन्दर सफा बनाउने अभिभारा आम नागरिकको जस्तै एउटा डाक्टरको पनि हो कि होइन ? उपचार गराउन आएको बिरामीलाई एक्स–रे, भिडियो एक्स–रे, प्याथोलोजी ल्याब, एमआरआई, चश्मा आदि सम्बन्धित कामको लागि कुनै निश्चित स्थान तोकेर पर्चा दिने वा आफ्नो मान्छे लगाएर उक्त ठाउँमा पठाउने जुन काम भइरहेको छ, के यो उचित हो ? यही हो पढेलेखेका बुद्धिजीवीहरूको जिम्मेवारी र नैतिकता ? यसले शहरप्रतिको मनोविज्ञान नै रुग्ण, विषाक्त तथा धूमिल बनाउँछ कि बनाउँदैन ? यस्तो शहरिया फोहर सफा गर्ने निकाय किन सधैं मौन देखिन्छ ?

हाम्रो समाजमा बच्चा र बिरामी एउटै अवस्थामा भेटिन्छन् । यिनीहरू दयाका पात्र हुन् र यस्ता बिरामीलाई समेत ठग्न खोज्ने मनोविज्ञानलाई कसरी राम्रो भन्ने ? एउटा गरीब बिरामीले डाक्टरले भनेको ठाउँमा मेडिकल चेक नगराउँदा सो रिपोर्टलाई डाक्टरहरूले मान्यता दिंदैनन् । उसले भनेकै ठाउँमा गराउनुपर्ने किन ? कमिशनबाहेक अरू के छ यसको कारण ? के बाँकीका ठाउँ कमसल हुन् ? यदि हुन् भने ती ठाउँमा प्रशासनिक कारबाई हुनुपर्यो । त्यसलाई बन्द गराउनुपर्यो । होइन भने यस्तो कमिशन खाने प्रवृत्तिमाथि कारबाई हुन जरुरी छ कि छैन ? शहरको सौन्दर्य हरण गर्ने यस्तो प्रवृत्तिमाथि कहिलेदेखि कसले झाडु लगाउने ?

हामी सबैलाई थाहा छ, आँखा हाम्रो शरीरको महत्वपूर्ण अङ्गमध्ये एक हो । “आँखा छ भने सबै छ, नत्र केही छैन” यो भनाइ सबैले सुनेकै हो । पहिले आँखासम्बन्धी बिरामीलाई नारायणी अस्पतालले मात्रै सेवा दिन्थ्यो, अहिले दर्जनको हाराहारीमा आँखा अस्पताल र क्लिनिक वीरगंजमा सञ्चालन हुनु खुशीको कुरा हो । आँखा अस्पतालहरूको गुणस्तरको कुरा गर्ने हो भने सीमापारिका भारतीय बिरामीसमेत उपचार गर्न आउनुको अर्थ पक्कै पनि हाम्रो सेवा राम्रो भएर हो । प्रायः अस्पतालभित्र प्राङ्गणमा चश्मापसल पनि हुन्छन् । बिरामीहरूले एकै ठाउँमा सबै कुरा पाऊन् राम्रो कुरा हो तर कुनै पनि बिरामीलाई त्यही खास पसलबाट चश्मा लिनु वा त्यहींको औषधिपसलबाट औषधि लिनु भनेर बाध्य पार्ने काम कतिको उचित हुन्छ ? पसलहरूमा विभिन्न ब्रान्डका चश्मा देखाउने, ब्रान्डको गुण सम्झाउने र ग्राहकसँग मोटो रकम असुल्ने काम हुन्छ, जबकि ब्रान्डेड कम्पनीको नाम लेख्न वा प्रचार गर्न उक्त कम्पनीको स्वीकृति/डिलरशिप चाहिन्छ । यसरी एउटा बिरामीलाई ठग्ने जुन काम भइरहेको छ, त्यसमा झाडु लगाउने जिम्मेवारी कसको ? के यसले हाम्रो शहरलाई सुन्दर बनाएको छ ?

अहिले हाम्रो बजार ज्यान–प्राण सिद्धिन लागेको निरीह प्राणीजस्तो हुन पुगेको छ । दिनभरि ग्राहक कुरेर पसलेहरू बस्छन्, पसलको किराया र कर्मचारी खर्चसमेत निकाल्न गा¥हो भइरहेको अवस्था छ । बजार मन्दीले ग्रस्त छ भने अर्कोतर्फ दशैं दैलोमा आइसकेको छ । दशैंको अवसर पारेर व्यापारीहरू कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने तथा नक्कली मिसावटयुक्त मालसामान बिक्री गरेर सर्वसाधारणलाई लुट्ने काम गर्न तम्तयार भएर बसेका छन् । रेडियो तथा सञ्चारमाध्यमहरूद्वारा सरोकारवाला निकायले बजार अनुगमनको जति हल्ला चलाए पनि त्यो ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भन्दा बढी हुन सकेको छैन ।

हाम्रो बजारको अवस्था यति धेरै खराब छ कि प्रायः कुनै पनि पसलले सामान बेचेपछि कच्चा बिल दिन्छ । त्यो पनि झर्केर बोलेपछि मात्रै दिन्छ । सकेसम्म बिलविनाको सामान दिएर पठाउँछ । भ्याट बिल माग्दा ग्राहकलाई बिल लिए थप १३ प्रतिशत रकम तिर्नुपर्छ भन्छ । प्रायः पसलहरूमा मूल्यसूची राखेको पाइँदैन । यदाकदा कसैले राखेको भएपनि नदेखिने ठाउँमा केवल औपचारिकताको लागि झुन्ड्याएको देखिन्छ । एउटै वस्तुको मूल्य पसलपिच्छे फरकफरक भेटिन्छ ।

सबैलाई सधैं चाहिने नूनजस्तो अत्यावश्यक खाद्य सामग्रीसमेत साल्ट ट्रेडिङले निर्धारण गरेको मूल्यमा कुनै पसलमा पाइँदैन । बस काउन्टरबाट टिकट काट्दा बढी तिनुपर्ने र बाहिर सस्तोमा पाइने किन हुन्छ ?

यस प्रकार हाम्रो शहर सम्पूर्णरूपमा फोहरै फोहरको शिकार भएको सजिलै अनुभूति गर्न सकिन्छ । वास्तवमा देश नै भ्रष्टाचार, अनियमितता, गैरजिम्मेवार, अराजकताको फोहरभित्र हराइसकेको छ । देशमा विद्यमान दलाल पूँजीवादी व्यवस्थाले नै यी सबै प्रकारका प्रदूषणलाई संस्थागतरूपमा जन्माएको–हुर्काएको र संरक्षण तथा संवद्र्धन गरेको कुरामा दुईमत छैन । हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने जबसम्म यो दलाल पूँजीवादी व्यवस्थालाई जरैबाट उखेलेर फालिंदैन, तबसम्म सभ्य मानवतावादी समाज निर्माण गर्न सकिंदैन । हामीमध्ये प्रायः सबैलाई थाहा छ, देश चलाउने सबै तहका नेताहरू पूँजीवादी व्यवस्थाका दलाल हुन् । उनीहरू अपवादबाहेक सबै भ्रष्टाचारी हुन् । पद र पैसाको लागि यी जे पनि गर्न सक्छन् । संसद्मा भएका सबै पार्टी भ्रष्टाचारको मामिलामा एउटै ड्याड्ढा मूला हुन् । तर पनि हामी भनिरहन्छौं फलानोभन्दा फलानो ठीक । पार्टीभन्दा स्वतन्त्र ठीक । नेताभन्दा राजा ठीक । अर्थात् जनता आफैं भ्रमित छ । यो अवस्था तोडिनुपर्छ । यी सम्पूर्ण कुरा बुझेर पनि जनता यही दलाल पूँजीवादी व्यवस्था र यसका मतियारस भ्रष्टाचारी, संसद्वादी दल तथा नेताहरूबाटै देशको विकास तथा समृद्धि हुने सपना देख्छ भने यो गधालाई साबुनपानीले धोएर गाई बनाउने र त्यही ब्याएपछि दूधभात खाने सपना देख्नुजस्तै हो । अर्थात् वर्तमानमा बुझ्नेले कुरा चपाएर निल्दा सबैतिर समस्याको पहाड खडा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here