प्रस, पोखरिया, २६ असोज/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयले पोखरिया नगरपालिकामा छापा मारी केही आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारको हेटौंडा कार्यालयका शिशिर श्रेष्ठको नेतृत्वमा पोखरिया नपामा बिहीवार छापा मारिएको र अपाङ्ग समन्वय समितिले गरेको निर्णयपुस्तिकासहितको कागजात नियन्त्रणमा लिएर गएको थाहा हुन आएको छ । पोखरिया नपाकी पूर्वउपप्रमुख सलमा खातुनको संयोजकत्वमा अपाङ्ग समन्वय समिति बनेको र सो समितिले गरेको निर्णयका पुस्तिकाहरू अख्तियारले लगेको बताइएको छ ।
तत्कालीन समितिमा अमिरकाप्रसाद चौहान, नवल ठाकुरलगायत थिए । अपाङ्गताको प्रमाणपत्र दिने क्रममा अनियमितता भएको आरोप लाग्दै आएको छ र यसैको आधारमा आज अख्तियारले छापा मारेको हो ।
अपाङ्ग भएकाहरूलाई तीन तहको प्रमाणपत्र दिइन्छ र सोही अनुसार उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । अपाङ्गता प्रमाणपत्र दिने क्रममा अनियमितता भएको सम्बन्धमा अख्तियारले ढिलो गरी छानबीन शुरू गरेको हो ।