जेनेभा, २५ असोज/एएफपी
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)ले गाजामा रहेका बन्धकहरूलाई रिहा गराउन हमास र इजरायलसँग सम्पर्कमा रहेको बिहीवार बताएको छ ।
गत शनिवार इजरायलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा १५० जना इजरायली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ ।
“तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमण गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन र कुनै पनि अन्तिम रिहाइका लागि हामी तयार छौं”–निकट र मध्यपूर्वका लागि आइसिआरसीका क्षेत्रीय निर्देशक फाब्रिजियो कारबोनीले एक विज्ञप्तिमा भने ।
अन्तर्राष्ट्रिय मानवीय कानूनबमोजिम बन्धक बनाउन निषेध गरिएको भन्दै कारबोनीले कसैलाई पक्राउ गरेको भए तुरुन्तै रिहा गर्न र दुवै पक्षलाई नागरिकको पीडा हर्न आग्रह गरेको छ ।
शनिवार हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजराइलले गाजामा लगातार आक्रमण गरेको छ र पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गर्दै २० लाख जनसङ्ख्या भएको गरीब क्षेत्रमा पूर्णतः घेराबन्दी गरेको छ ।
हमासले इजरायली आक्रमणमा चारजना बन्धक मारिएको बताएको छ । साथै उसले विनाचेतावनी नागरिकलाई लक्ष्य बनाएमा अरूलाई मार्ने चेतावनी दिएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तøयप एर्डाेगानले पनि बन्धकहरूको रिहाइका लागि हमाससँग वार्ता शुरू गरेको बुधवार सरकारी स्रोतले एएफपीलाई बताएको छ । शनिवारदेखि जारी युद्धमा दुवै पक्षका गरी हजारौंको ज्यान गएको छ । रासस