प्रस, वीरगंज, २४ असोज/

सुरक्षाको नाममा जनपद तथा सशस्त्र प्रहरीले सवारीसाधन चेकजाँच गर्न थालेपछि यात्रुहरू मारमा परेका छन् ।

जनपद र सशस्त्र प्रहरीले वीरगंज–पथलैया सडकखण्डमा विभिन्न ११ ठाउँमा चेकजाँच गर्न थालेको बस व्यवसायीहरूको आरोप छ । वीरगंजबाट दैनिक नेपालका विभिन्न ठाउँमा जाने दिवा तथा रात्रिबसहरूको आवश्यकताभन्दा बढी चेकजाँच हुँदा यात्रुहरू समस्यामा पर्ने गरेका व्यवसायीहरूको आरोप छ ।

पथलैयामा सशस्त्र प्रहरीले छ वर्षपछि पुनः चेकजाँच शुरू गरेको छ । पथलैयामा सशस्त्र प्रहरीको वाहिनी कार्यालय हुुँदा दैनिक चेकजाँच हुन्थ्यो । अहिले त्यहाँ तालीम केन्द्र छ, उनीहरूको छुट्टै कार्य तथा कार्ययोजना रहे तापनि तालीममा सहभागी सशस्त्र प्रहरीहरूलाई खटाएर चेकजाँच शुरू गरेपछि बस यात्रु, चालक, व्यवसायीहरूले थप झन्झट बेहोर्नुपरेको छ ।

राज्यले सशस्त्र प्रहरी बललाई  राजमार्गमा सवारीसाधन रोकेर चेकजाँच गर्ने अधिकार दिएको छैन । चेकजाँच गर्नुपर्ने भए वा त्यस्ता शङ्कास्पद गतिविधि भएमा जनपद प्रहरीको अगुवाइमा चेकजाँच गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । तर कमजोर सरकार, गृह प्रशासन नबुझेका गृहमन्त्री र हामीले जे गरे पनि हुन्छ भन्ने सशस्त्र प्रहरीको सोच तथा अतिरिक्त लाभको उद्देश्यले चेकजाँचको बहानामा दुःख दिइरहेको बस व्यवसायीहरूको आरोप छ ।

पथलैयामा सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालय रहेको छ । उक्त शिक्षालयमा प्रमुखको रूपमा सशस्त्र प्रहरी उपरीक्षक भएर नानीराम हुमागाईं आएपछि चेकजाँच गर्न थालिएको बस व्यवसायीको आरोप छ । वीरगंजबाट काठमाडौं हिंडेका बसलाई गण्डक, परवानीपुर, जीतपुर, सिमरा, पथलैयामा जनपद प्रहरी तथा सोही ठाउँहरूमा  केही अगाडि–पछाडि सशस्त्र प्रहरीले चेकजाँच गर्न थालेको छ ।

चेकजाँचको नाममा यात्रुहरूलाई ओरालेर चेकजाँच गर्नु गलत भएको चालकहरूको दाबी छ । एकजना चालकले सीमामा सशस्त्र प्रहरी तथा जनपद प्रहरीको कडा सुरक्षा रहेको र वीरगंज बसपार्कबाट प्रहरी चौकी भएर बाहिरिने बसहरूहरूलाई बढी ठाउँमा चेकजाँच गर्नु अनावश्यक दुःख दिने नियत भएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here