प्रस, पर्सागढी, २४ असोज/
पर्सागढी नगरपालिकामा रहेका दुईवटा डेयरी उद्योगले नयाँ किसानहरूबाट दूध नलिएपछि उनीहरूलाई मर्का परेको छ ।
पर्सागढी नगरपालिकामा अन्नपूर्ण दूध उत्पादक सहकारी संस्था र सुनाखरी डेयरी गरी दुईवटा दूध सङ्कलन केन्द्र छन् । यिनीहरूले यस क्ष्Fेत्रका किसानहरूको दूध सङ्कलन गर्ने र बाहिर पठाउने गर्दै आएका छन् ।
पछिल्लो समयमा दूधको माग घटेको र उत्पादन बढेको कारण दुवै संस्थाले नयाँ किसानबाट दूध नलिएका हुन् । दूधको उत्पादन असोज महीनामा बढी हुने गर्छ । यो महीनामा गाईभैंसीले बढी ब्याउने भएकाले दूधको उत्पादन बढी हुने गरेको किसानहरू बताउँछन् ।
अन्नपूर्ण दूध उत्पादक सहकारी संस्थाका अध्यक्ष जगन्नाथ तिवारीले पुरानै किसानहरूसँग भएको सम्झौता अनुसार दूध सङ्कलन गर्न नसकेको हुँदा नयाँ किसानबाट दूध लिन नसकेको बताए । उनले बाराको डुमरवाना, सिमरा, चितवनका डेयरी उद्योगहरूमा पर्सागढीबाट सङ्कलित दूध पठाउने गरेको र उनीहरूले नै अहिले दूधको माग घटाएकाले समस्या भएको बताएका छन् ।
यसअघि दैनिक तीन हजार लिटर दूध ती संस्थाहरूले लैजाने गरेका तर हालका दिनमा एकाध दिन बिराएर सङ्कलित दूध लगिरहेको उनले बताए । अध्यक्ष तिवारीले पुराना किसानहरूसँग गरिएको सम्झौताको पालना गर्दै आएको र नयाँसँग सम्झौता गर्न नसकिएको बताए । उनको डेयरी उद्योगमा १७ सय दूध उत्पादक किसान आबद्ध छन् । अहिले एक दर्जनभन्दा बढी किसान दूध लिन आग्रह गर्न आएका तर उनीहरूको आग्रहलाई स्वीकार्न नसकिएको अध्यक्ष तिवारीले बताए ।
अन्नपूर्णसरहकै समस्या सुनाखरी डेयरीका सचिव दीपेश नेपालले व्यक्त गरे । उनले क्षमताभन्दा बढी दूध सङ्कलन भइरहेको बताए । दूध मात्रै सङ्कलन गर्नु बहादुरी नभएको भन्दै उनले सोको भुक्तानी समयमा नगर्दा किसानहरूलाई नै समस्या हुने हुँदा क्षमता अनुसार कारोबार गरिरहेको बताए ।
नयाँ दूध उत्पादक किसानमध्ये पर्सागढी नपा–४ का अलिअख्तर सिद्धिकीले ऋण लिएर भैंसीपालन गरेको तर दूध बिक्री नहुँदा समस्या भएको बताए । उनले लघुवित्तबाट ऋण लिएर भैंसीपालन गरेको तर अहिले नयाँ
किसान भनेर पर्सागढीका दुवै डेयरी उद्योगले दूध नलिएपछि समस्या भएको बताए ।
आफूजस्तै थुप्रै नयाँ किसानहरू डेयरीमा दूध दिनबाट वञ्चित भएको उनले बताए ।