जेरुसेलम, २१ असोज/एएफपी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूहले एक्कासि इजरायलमाथि गरेको आक्रमणमा हमाससँगको लडाइँमा दुवै पक्षका सयौं व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन् । दशकौंयताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिवार व्यापकरूपमा स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएका छन् । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पनि इजरायली सेनाले बताएको छ ।
यसैबीच, गाजाका अधिकारीहरूले तटीय इलाकामा इजरायलले गरेको प्रत्याक्रमणका कारण कम्तीमा २५६ प्यालेस्टिनीको मृत्यु भएको र करीब एक हजार ७८८ जना घाइते भएका बताएका छन् ।
लेबनानको शक्तिशाली इरान समर्थित ‘हिजबुल्लाह मुभमेन्ट’ हमासले इजरायलविरुद्ध गरेको कारबाईप्रति ‘ऐक्यबद्धता जनाउन’ विवादित सीमा क्षेत्रमा इजरायली चौकीमा ‘ठूलो सङ्ख्यामा तोपका गोला र निर्देशित क्षेप्यास्त्र’ प्रहार गरेको जनाएको छ ।
इजरायली सेनाले यस अघि दक्षिणी लेबनानमा आक्रमणकारीको पहिचान नै नगरी गोली चलाएको बताएको थियो ।
नेतन्याहूले उक्स (ट्वीटर) मा लेखेका छन्–“हामी लामो र कठिन युद्धमा लागेका छौं । हमासको अन्धाधुन्ध आक्रमणका कारण हामीमाथि युद्धको भार थोपरिएको छ ।” “पहिलो चरणमा हाम्रो भूमिमा घुसपैठ गर्ने अधिकांश शत्रु सेनाको विनाश हुँदैछ”–उनले लेखेका छन् ।
रातभर इजरायलले गाजापट्टीमा हवाई आक्रमण गरेको थियो भने प्यालेस्टिनी भूमिबाट इजरायली क्षेत्रमा रकेट प्रहार भएको थियो ।
गाजाको सीमापारिको स्डेरोट प्रहरी चौकीलगायत विभिन्न स्थानमा इजरायली सेना र हमासका सयौं लडाकूबीच आइतवार बिहान पनि गोली हानाहान भइरहेको छ ।
प्रहरी र इजरायली सेनाको विशेष फौजले स्टेशनभित्र लुकेर बसेका १० जना सशस्त्र आतङ्ककारीलाई निष्प्रभावी पारेको प्रहरीले जनाएको छ ।
सन् १९७३ को अरब–इजरायल युद्ध शुरू भएको आधा शताब्दीपछि हमासले शनिवार गरेको रक्तपातपूर्ण हवाई, समुद्र र स्थल आक्रमणले इजरायल र विश्वलाई चकित एवं दुःखी तुल्याएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक आइतवारका लागि बोलाइरहँदा राष्ट्रपति जो बाइडेनले अमेरिकी सहयोगी (इजरायल)लाई ‘चट्टानी र अटूट’ समर्थन व्यक्त गर्दै ‘यस परिस्थितिमा फाइदा लिन इजरायलविरोधी अन्य कुनै पनि पक्ष’ लाई चेतावनी दिएका छन् ।
इजरायली सेनाले रातभर र अझै पनि इजरायलका विभिन्न स्थानमा गोली हानाहानमा संलग्न रहेको बताएको छ, ‘फलामका तरवारहरू’ नाम दिइएको एक प्रतिरोधात्मक आक्रमणमा सेनाको सञ्चित बल बोलाइएको थियो ।
हमासले यस अघि केही इजरायलीलाई बन्धक बनाएको तस्बिर सार्वजनिक गरेको थियो भने सेनाका अर्का प्रवक्ता डेनियल हागारीले सैनिक र सर्वसाधारणको अपहरण भएको पुष्टि गरेका थिए ।
गाजाको पूर्वमा पर्ने बेरी र ओफाकिमका नेगेभ मरुभूमि समुदायमा पनि ‘गम्भीर बन्धकको अवस्था’ रहेको उल्लेख गर्दै उनले भने–“म अहिले नै उनीहरूबारे तथ्याङ्क दिन सक्दिनँ ।”
यनेट इजरायली समाचार वेबसाइटका अनुसार ‘धेरै महिला, बालबालिका र वृद्धहरूसहित दर्जनौं इजरायली बन्दीहरूलाई गाजापट्टी लगिएको विश्वास गरिएको छ’ ।
नेतन्याहूका अनुसार युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामान आपूर्ति बन्द गरेको छ ।
इस्लामिक समूहले स्थानीय समय अनुसार शनिवार बिहान ६ः३० बजे तेल अविव र जेरूसेलमसम्म हजारौं रकेट प्रहार गर्दै ‘फलामको गुम्बज प्रतिरक्षा प्रणाली’ छिचोल्दै इजरायली भवनहरूमा आक्रमण गरेको थियो । रासस