प्रस, सेढवा, २० असोज/
विगत छ दिनदेखिको वर्षाका कारण किसानहरूले लगाएका भदैया धानबाली खेतमैं उम्रिन थालेका छन् । भदैया धानबाली पाकिसकेको तर अनुकूल मौसम नहँुदा धान बोटमैं उम्रिन थालेको किसानहरूले दुःखेसो गरेका छन् ।
जीराभवानी गाउँपालिका वडा नं ५ सखुवनियाका किसान मुक्तिनारायण दासका अनुसार करीब आधा धानबाली किसानहरूले भिœयाए पनि बाँकी धानबाली खेतमैं उम्रिएर धानका बालामा तीन इन्चसम्मको टुसा पलाएको बताए । अहिले दैनिक ४/५ पटक पानी पर्ने गरेकाले हार्भेस्टर मेशीनका चालकले पनि धान काट्न नमानेको किसान दासले बताए । खेत हिलाम्य भएकोले हार्भेस्टर मेशीन लैजाँदा भासिने चिन्ताले धान नकाटेका किसान दासले बताए ।
वर्षासँगै तीव्र गतिमा आउने गरेका हावाहुरीका कारणले पाकेका धानबाली ढलेका छन् । जसले गर्दा धान उम्रिने गरेको सेढवाका किसान जगदीश चौधरीले बताए । धान पाकेपछि टुपो भारी हुने तथा जरामा पानी पर्दा हिलाम्य भएर बाली ढलेको किसानहरूले जनाएका छन् ।
हार्भेस्टर मेशीनले बाली काट्न नसकेपछि किसानहरूले अहिले ज्यामी लगाएर भएपनि बाली काट्न थालेका छन् । तर विभिन्न चाडबाड तथा व्रत बस्ने कारणले ज्यामी पाउन पनि छोडेको किसानहरूले बताएका छन् ।
किसान जगदीश चौधरीले पाँच दिनदेखि ज्यामी खोज्दै गरेको तर हालसम्म बाली काट्न नसकेको गुनासो गरे । कहिले वर्षा त कहिले पर्वका कारण ज्यामीहरू नपाएको किसान चौधरीले गुनासो गरे ।
ज्यामी लगाएर धान काट्न लगाउँदा जनही पाँच सय रुपैयाँ र खाना तथा खाजा खुवाउनुपर्छ । एक बिघा धानबाली काट्न कम्तीमा २० जना ज्यामी चाहिन्छ । यसका साथै करारमा धान कटाउँदा आठ क्वीन्टल उत्पादनमा एक क्वीन्टल धान ज्यामीहरूले लिने गर्छन् । बाँकी सात क्वीन्टलबाट थ्रेसरको भाडासमेत तिर्नुपर्छ ।
थ्रेसरले धान दाइ गरेबापत प्रत्येक बीस भागबाट एक भाग साह लिने गर्छ । ठोरी गाउँपालिकामा थ्रेसरले दाइ गरेबापत १५ भागमा एक भाग थ्रेसर साहुले लिने गर्छ ।
लगातारको वर्षाका कारण धान भिजेको भन्दै वीरगंजका व्यापारीहरूले धानको मूल्य घटाएका छन् । प्रतिक्वीन्टल तीन हजार रुपैयाँको दरबाट शुरू भएको धानको मूल्य दुई हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
ग्रमीण भेगमा धानको कारोबार गर्ने व्यापारीहरूले वीरगंजमा कायम भएको धानको मूल्यको आधारमा धान खरीद गर्ने गरेका छन् ।