प्रस, निजगढ, २० असोज/
पश्चिमबाट पूर्व दिशातर्फ दु्रतगतिमा ओभरटेक गरेको यात्रुवाहक बसले शनिवार बिहान करीब ९ः४५ बजे मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमैं ज्यान गएको छ भने अटोचालकसहित अटोमा सवार तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा बस्ने २० वर्षीय दिनेश चौधरी रहेका छन् भने अटोचालक निजगढ–१० लाल बस्ने २४ वर्षका सुकराम बमजन, मकवानपुर बकैया गाउँपालिका–१ धियाल घर भई हाल सिगौल बस्दै आएका २२ वर्षका सानतेन लामा र जीतपुरसिमरा उपमहानगरपालिका–१६ का २१ वर्षका कुलबहादुर थिङ घाइते भएका इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ ।
प्रदेश नं १–०२–००१ ख ९७९३ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना.६३प ८४४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु भएको इप्रका, निजगढका प्रनि घनश्याम श्रेष्ठले बताए ।
दु्रत गतिमा ओभरटेक गरेको सो बसले मोटरसाइकल, सडक किनारमा रोकिराखेको ना.३स ९२३७ नम्बरको ईरिक्शा र गुडिरहेको यात्रु सवार प्रदेश २–०३–००१ ह १०६६ नम्बरको अटोलाई ठक्कर दिंदा उक्त घटना भएको राजमार्गस्थित बुद्धचोकमा जडान गरिएको सिसिटिभी क्यामेराले कैद गरेको फुटेजमा देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढका ट्राफिक प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।
“सडक किनारमा सामान ढुवानीको लागि ईरिक्शा रोकिराखेको थिएँ । पश्चिमबाट पूर्वतर्फ जान सडक नै ढाकिने गरी दुईवटा बस सँगसँगै आइरहेका थिए । जसमध्ये दक्षिणतर्फको बस सडक छोडेर आफूतिर आएको देखेपछि इरिक्शा छोडेर भागेपछि ज्यान जोगिएको,” घटनाका प्रत्यक्षदर्शी ईरिक्शा चालक निजगढ–६ बस्ने शुकवीर वाइवाले बताए । यसो हेर्दा तीनजना मानिस भुइँमा लडिरहेको र आफ्नो ईरिक्शाको पछाडि मोटरसाइकल र चालक रगताम्य भएर लडिरहेको देखेको उनले बताए ।
अटोचालकसहित अटोमा सवार तीनजनालाई छात्ती, घुँडा, मुख, कम्मरलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेकाले वीरगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सो दुर्घटना पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित बाराको निजगढ नगरपालिका–९ स्थित जमुनापैनीनजीकै भएको हो । ठक्कर दिने बसचालक सिराहाका अजय ठाकुर इप्रका, निजगढको नियन्त्रणमा छ । शल्यपरीक्षणपछि मृतकको शव परिवारले बुझिसकेको जिप्रका, बाराले जनाएको छ ।
घना बस्ती प्रवेश गर्दासमेत सवारीसाधन चालकहरूले ट्राफिक नियमविपरीत तीव्र गतिमा सवारीसाधन चलाउने, ओभरटेक गर्ने जस्ता कार्य गर्दै आइरहे पनि त्यस्ता सवारीचालकहरूलाई तत्कालै रोकी कडा कारबाही गर्नुपर्ने निजगढका स्थानीयहरू बताउँछन् ।
उक्त दुर्घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीको टोली घटनFस्थल पुगेका थिए । गत वैशाख महीनायता असोज २० गतेसम्म ७०२ सवारीसाधन दुर्घटनाका कारण ३५ जनाको अकालमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढले जनाएको छ ।