गाजा सिटी, २० असोज/एएफपी

अवरुद्ध गाजापट्टीबाट शनिवार रकेट आक्रमण हुँदा इजराइलमा कम्तीमा एकजनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् ।

स्थानीय समय अनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौं स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् ।

सर्वसाधारणलाई बम आश्रयस्थल नजीकै बस्न आग्रह गर्दै इजराइली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनको चेतावनी दिएका थिए । जेरुसेलममा एएफपीका एक पत्रकारले पूरा शहरभरि साइरन बजेपछि रकेट हमला रोकिएको देखेको बताए । प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले हमला आफूले गराएको बताएको छ । उसले आफ्ना लडाकूहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेका छन् ।

 “हामीले इजराइली कब्जाका सबै अपराधहरूलाई समाप्त पार्ने निर्णय गरेका छौं, जवाफदेही ठहर नगरी वितण्डा मचाउने उनीहरूको समय सकिएको छ,” उक्त समूहले भनेको छ, “हामीले अल–अक्स फ्लडको घोषणा गरेका छौं र २० मिनेटको पहिलो हमलामा हामीले पाँच हजारभन्दा बढी रकेट प्रहार ग¥यौं ।”

गाजापट्टीबाट इजराइली क्षेत्रमा रकेट हमला र आतङ्ककारी घूसपैठसहित यो संयुक्त प्रयासमा हमासको हात रहेको इजराइली सेनाले बताएको छ ।

मागेन डेभिड एडोम आपत्कालीन सेवाले इजराइलमा सीधा प्रहारका कारण एक ६० वर्षीया महिला मारिएको बताएको छ । चिकित्सकहरूका अनुसार अन्य १५ जना घाइते भएका र दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले उक्त हमलापछि प्रधानमन्त्री नेतान्याहुले चाँडै सुरक्षा प्रमुखहरूलाई बोलाउने बताएको छ ।

सन् २००७ मा हमास सत्तामा आएपछि इजराइलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकू र इजराइलबीच विनाशकारी युद्ध भएका छन् ।

पछिल्लो हमला इजराइलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बीच भएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here