प्रस, ठोरी, १९ असोज/

नेपाली काङ्ग्रेस, ठोरीले शिक्षकहरूको काठमाडौं केन्द्रित सडक आन्दोलनको औपचारिक नैतिक समर्थन गरेको छ । गत असोज ३ गतेदेखि विभिन्न माग राखी काठमाडौंको सडक आन्दोलनबाट विभिन्न चरणमा सरकारसँग सम्झौता गरी फर्किएका ठोरीका शिक्षकहरूलाई नेपाली काङ्ग्रेस, ठोरीले स्वागत, बधाई तथा सम्मान गर्दै नैतिक समर्थन गरेको हो ।

ठोरी गापा–४ निर्मलबस्तीमा आयोजित सम्मान कार्यक्रममा आन्दोलनबाट फर्किएका शिक्षकहरूलाई नेका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ, प्रकाश खनाल र सन्तोष श्रेष्ठले टीका र खादा लगाइ सम्मान गरेका थिए । नेका, ठोरीका सभापति सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ र प्रकाश खनालले यो देशमा शिक्षक जस्तो सम्मानित पेशामा रहेका व्यक्तिहरूले आफ्नो अधिकारका लागि सडक आन्दोलन गर्नुपर्ने अवस्थाप्रति राज्यले विवेक नपुर्याएको धारणा राखे । जुन देशमा शिक्षा र शिक्षकको मान र मर्यादा रहँदैन, त्यो देशको विकास सम्भव नभएकोले शिक्षण पेशालाई मर्यादित बनाइनुपर्ने धारणा उनीहरूको थियो ।

राज्यले शिक्षकसँग गरेका सम्झौता नहिच्किचाइ पूरा गर्न उनीहरूले जोड दिए । भावी पुस्ताको लागि सम्मानित पेशा बनाउनको लागि पनि आन्दोलनरत शिक्षक र सरकारबीच भएको सम्झौता अक्षरशः पालना गर्न सरकार कटिबद्ध हुनुपर्ने धारणासमेत उनीहरूको थियो ।

सभापति सन्तोष श्रेष्ठले शिक्षकलाई जबसम्म हँसिलो अनुहार बनाएर कक्षाकोठामा प्रवेश गराउने वातावरण सरकारले बनाउँदैन, तबसम्म शिक्षामा गुणस्तर नआउने बताए । नानाथरीका शिक्षकहरूलाई एकरूपता गराइ सामान्य तरीकाको प्रक्रिया पुर्याइ सरकारले स्थायी बनाउनुपर्ने बताए । शिक्षकमाथि व्यापक भेदभाव रहिरहेको बताउँदै सभापति श्रेष्ठले जबसम्म शिक्षालाई हेर्ने नजरमा सुधार आउँदैन, तबसम्म समाज परिवर्तन नहुने बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासङ्घ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठ, नेपाल  राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य केशव शर्मा, नेपाल शिक्षक सङ्घ मधेस प्रदेश समितिका सदस्य चिरञ्जीवी सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ठोरीका अध्यक्ष गोपीलाल श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन एकीकृत ठोरीका अध्यक्ष दीपेन्द्र सापकोटा, बालविकास शिक्षक सङ्घर्ष समिति, ठोरीकी अध्यक्ष सुमित्रा परियारलगायतका शिक्षक अगुवाहरूले आआफ्नो धारणा राखेका थिए ।

शिक्षक अगुवाहरूले भर्खरै सम्पन्न शैक्षिक आन्दोलनका उपलब्धिहरूलाई शिक्षा ऐनमा नसमेटिए दोस्रो आन्दोलनको लागि तयारी अवस्थामा रहन समेत शिक्षकहरूलाई अनुरोध गरे ।

स्वागत तथा सम्मान कार्यक्रमको सहजीकरण नेपाली काङग्रेस, ठोरीका सचिव भक्तबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रममा काठमाडौंको सडक आन्दोलनमा गएका शिक्षकहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here