काठमाडौं, १९ असोज/रासस

चीनको हाङझाउमा जारी १९औं एशियाली खेलकूदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कांस्य पदक प्राप्त गरेको हो ।

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कांस्य पदकमा सीमित भएको हो । सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो ।

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै, भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एशियाली प्रतियोगितामा कम्तीमा कांस्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ । 

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एशियाली खेलकूदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि नेपालले पहिलो खेलमा सोमवार बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलवार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनीता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नीतु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारू र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here