ओस्लो, १९ असोज/एपी
प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । नर्वेमा विशेषज्ञहरूको एक प्यानलले ३५० जनाको नामाङ्कनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दैछ ।
गत वर्ष उक्त पुरस्कार युक्रेन, बेलारूस र रूसका मानव अधिकार कार्यकर्ताहरूले जितेका थिए । यसलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उनको बेलारूसी समकक्षी र अन्य सहयोगीहरूको कडा आलोचनाका रूपमा हेरिएको थियो ।
नोबेल शान्ति पुरस्कार व्यक्तिगत वा संस्थागतरूपमा प्रदान गरिन्छ । विगतमा यो पुरस्कार पाउनेहरूमा नेल्सन मण्डेला, बाराक ओबामा, मिखाइल गोर्बाचोभ, आङ सान सुकी र संयुक्त राष्ट्रसङ्घलगायत थिए ।
स्टकहोममा छनोट र घोषणा गरिने अन्य नोबेल पुरस्कारभन्दा फरक यो शान्ति पुरस्कार यसका संस्थापक अल्फ्रेड नोबेलले पाँच सदस्यीयय नर्वेली नोबेल कमिटीले ओस्लोमा निर्णय गर्नेछन् ।
यो पुरस्कार छनोटका लागि नर्वेली संसद्ले एउटा स्वतन्त्र कमिटी नियुक्त गर्छ ।
यो वर्ष उक्त कमिटीले व्यक्तितर्फ २५९ र संस्थागततर्फ ९२ गरी कुल ३५१ जनाको मनोनयन प्राप्त गरेको छ । मनोनयन गर्न सक्नेहरूमा पूर्व नोबेल शान्ति पुरस्कार विजेता, कमिटीका सदस्यहरू, राष्ट्र प्रमुखहरू, सांसदहरू र राजनीतिशास्त्र, इतिहास तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक रहेका छन् ।
नोबेल शान्ति पुरस्कार यो वर्ष घोषणा गरिने पाँचौं नोबेल पुरस्कार हो । बिहीवार नोबेल कमिटीले नर्वेली लेखक जोन फोसालाई साहित्यतर्फको पुरस्कार प्रदान गरिने घोषणा गरेको थियो । बुधवार रसायनशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकहरू मुङ्गी बावेन्डी, लुइ ब्रस र अलेक्सेई इकिमोभलाई प्रदान गरिने घोषणा भएको थियो ।
त्यसैगरी, मङ्गलवार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली मूलका स्वीडिश वैज्ञानिक एन लहुइलियर, फ्रान्सेली वैज्ञानिक पिएरे अगोस्टिनी र हङ्गेरी मूलका फेरेन्क क्रूस्जलाई दिने घोषणा भएको थियो ।
सोमवार चिकित्साशास्त्रतर्फको पुरस्कार हङ्गेरी मूलका अमेरिकी नागरिक क्याटालिन कारिको र अमेरिकी चिकित्सक ड्रिउ बेसम्यानले जितेका थिए ।
नोबेल पुरस्कारको सिजन सोमवार अर्थशास्त्रतर्फको पुरस्कार घोषणासँगै सकिनेछ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई औपचारिकरूपमा अल्फ्रेड नोबेलको स्मृतिमा अर्थशास्त्र विज्ञानमा बैंक अफ स्वीडेन प्राइज भनिन्छ ।
यी पुरस्कार आगामी डिसेम्बरमा ओस्लो र स्टकहोममा प्रदान गरिनेछ । पुरस्कारको रकम एक करोड १० लाख स्वीडिस क्रोनर (करीब १० लाख अमेरिकी डलर) रहेको छ ।
डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा विजेताहरूले १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्राप्त गर्नेछन् । रासस