• डा शिवशङ्कर यादव

अब्सेसन ल्याटिन अब्सिडेयरबाट उत्पत्ति भएको शब्द हो, जसको मतलब हुन्छ घेरा हाल्नु । यसमा मान्छे एउटै विचारको घेरामा चक्कर काट्छ र एउटै कामलाई बारम्बार पुनरावृत्ति गरिरहन्छ ।

तपाईं ढोका बन्द गरेर ओछ्यानमा जानुभयो । तुरुन्त मनमा आयो कि बन्द गरियो कि गरिएन ? उठेर जानुभयो र चेक गर्नुभयो । ढोका बन्द छ भने आएर सुत्नुभयो । त्यस्तै, फोहोर छोएर हात धुनुभयो । चेक गर्न आवश्यकतै छैन । भान्सामा ग्याँस बन्द गर्नुभयो वा भएन । चेक गरेर आउनुभयो र सुत्नुभयो । पैसा गन्न छुट्यो कि ? फेरि गएर गन्नुभयो र निश्चिन्त हुनुभयो । यसलाई फोरगेटफुलनेस भनिन्छ र नर्मल क्रिया मानिन्छ । तर एकजना मानिस निश्चिन्त नै हुन सक्दैन । ऊ ओछ्यानबाट उठ्छ, ढोका लागेको वा नलागेको, ग्याँस बन्द भएको वा नभएको रातभरि दोहो¥याइरहन्छ र पनि निश्चिन्त हुन सक्दैन । फोहोर छोएपछि उसले दिनभरि हात धोएको धोयै हुन्छ । यही हो अब्सेसन, जसमा मान्छे एउटै काममा रातभरि चक्कर काट्छ र यहाँसम्म कि सुत्न पनि सक्दैन । हात धुने काम यतिचोटि गर्छ कि उसको हात धोबीको हातजस्तो सेतो बन्छ, जसलाई वासरमैन हात भनिन्छ । फोहोर वा कीटाणुको भयबाट यसरी नै आफू मात्र बFँच्न चाहँदैन, बरु आफन्तलाई पनि बचाउन चाहन्छ । त्यसैले मेरो एक मित्रकी पत्नीले जाडो मौसममा १२ बजे राति पनि आफ्नो बच्चालाई नुहाइदिन्थिइन् । यो त अब्सेसनको कडा रूप भयो । तर थोरबहुत यो असङ्ख्य मानिसमा पाइन्छ । संसारमा १० मिलियन मानिस र केवल अमेरिकामा तीन मिलियन मानिस यस रोगबाट पीडित छन् । रोचक यो पनि छ कि यो प्रायः उच्च वर्गमा पर्ने मानिसमा हुने रोग हो । सफा गिलास दिएर पानी ल्याउन भनेपछि मेरी पत्नीले गिलासलाई आफैं पटकपटक पखाली मलाई पानी दिन्छिन् । मेरो एक मित्रकी आमा दिनभरिमा पाँचचोटि भान्सा सफा गर्थिन् । उनी आफैं मात्र तेजस्विनी थिइनन्, बरु छोराछोरी पनि तेजस्वी पैदा गरिन् । यो अब्सेसनको कम मात्रा हो । नेपालीमा यसलाई सनक वा जुनून भन्न सकिन्छ तर जुनून त राम्रो कुरा हो । अब्सेसनलाई जुनून भन्नु गलत होला । पाठकवृन्द यति भनेपछि अब आउनुस्, अब्सेसनको वैज्ञानिक ज्ञान प्राप्त गरौं ।

अब्सेसन लगातार र आग्रही विचार हो, जो मानिसलाई एउटै काममा लगाइराखेर त्यसमा भावनात्मक चिन्ता र डर पैदा गर्छ तथा एक प्रकारले ब्रेनलाई नै सटडाउन गरिदिन्छ । अब्सेसनमा दुई तŒव अनिवार्य हुन्छन्– पहिलो, आइडिया वा विचार र दोस्रो कम्पल्सन वा संवेग । त्यस कारण यसलाई अब्सेसिभ कम्पल्सिभ डिर्जाडर वा संवेगी दोहो¥याउने रोग भनिन्छ ।

यी दुई कसरी काम गर्छन्, अब त्यसलाई हेरौं । सबैभन्दा पहिले मानिसमा यो विचार आउँछ कि ढोका बन्द छ वा छैन ? ऊ गएर चेक गर्छ । ढोका बन्द छ वा छैन भने बन्द गरेर फर्केर ओछ्यानमा आउँछ । ओछ्यानमा आउने बित्तिकै उसको मनमा शङ्काको संवेग चल्छ र मानिसलाई आफ्नो कब्जामा पार्छ । संवेग वा इम्पल्स एक यस्तो प्रवाह हो, जसले मानिसको बुद्धि र विवेकलाई काम गर्न दिंदैन । मानिस त्यही संवेगको आदेश मान्न बाध्य हुन्छ । ऊ फेरि जान्छ र ढोका बन्द छ भनेर फर्केर आउँछ । फर्कने बित्तिकै फेरि त्यो संवेग आएर मानिसलाई विवश पार्छ । एक प्रकारले मानिसको ब्रेन नै अफ हुन्छ । अब संवेगले जे चाहन्छ, त्यही हुन्छ । यसरी मानिस रातभरिको जाग्रामले शिथिल, चिन्तित र भयभीत भएर लखतरान हुन्छ । मानिसमा इन्साइट अर्थात् रोगको ज्ञान भएकोले आखिर उसले चिकित्सककहाँ जान्नै पर्छ । इन्साइटको मतलब हुन्छ कि मानिसलाई आफ्नो रोगको ज्ञान छ, जुन सिजोफ्रेनियामा हुँदैन ।

अब्सेसन उच्च वर्गको रोग हो र मानिस बुद्धिमान हुन्छ । साधारणतः यो तेस्रो दशकमा हुन्छ । यो क्रोनिक हुन्छ । यस रोगले पीडित २५ प्रतिशत मानिसमा केही सुधार हुँदैन, ५० प्रतिशतमा केही सुधार हुन्छ र २५ प्रतिशत पूरै निको हुन्छ ।

प्रकार र लक्षणहरू ः अब्सेसन मुख्यतः तीन प्रकारका हुन्छन् १. जसमा अब्सेसन मुख्य हुन्छ २. जसमा कम्पल्सन मुख्य हुन्छ र ३. जसमा दुवैको मिसावट हुन्छ । अक्सर यसका रोगीमध्ये ५० प्रतिशतमा कडा डिप्रेसन तथा बाँकीमा हल्का वा कम कडा डिप्रेसन हुन्छ ।

अब्सेसनका मुख्यतः चारवटा लक्षण हुन्छन्– १. वासर्स,२. चेकर्स, ३. शुद्ध अब्सेसन र ४. प्राथमिक अब्सेसिभ स्लोनेस । पहिलो रूप सर्वाधिक सङ्ख्यामा पाइन्छ । यसमा मानिसलाई कीटाणु, फोहोर र मलमूत्रको डर सताइरहन्छ । यस कारण मानिस बारम्बवार हातलाई धोइरहन्छ । ओछ्यान, ढोका, झ्याल आदि सबैको साथ उसका बच्चाबच्ची पनि शिकार हुन्छन् । आखिर सफाइ प्राप्त हुँदैन र रोगीको काम एक कर्मकाण्ड मात्र बन्छ । २. चेकर्समा मानिसमा शङ्काले धेरै घर बनाएको हुन्छ, जसरी ढोका बन्द वा छैन, ग्याँस बन्द छ वा छैन अथवा गिन्ती गरिसकेको रुपैयाँ सही छ कि छैन । त्यसलाई मानिस बारम्बार चेक गर्न जान्छ, त्यसैले यसको नाम हो चेकर्स । यदि मानिसले केही कारणवश चेक गर्न सक्दैन भने झन चिन्ताले ग्रसित हुन्छ । ३. तेस्रोलाई शुद्ध किन भनियो भने यसमा कम्पल्सन हुँदैन, खाली मनभित्र विचार मात्र प्रवेश गरिरहन्छ । यो प्रकार अक्सर सेक्ससँग सम्बन्धित हुन्छ । कहिलेकाहीं मानिसमा वेश्याकहाँ जाने विचार घुमिरहन्छ, जसलाई अब्सेसिभ रुमिनेशन भनिन्छ । ४. अब्सेसन या त कम्पल्सन आफ्नो चरमावस्थामा हुन्छ तर यसमा चिन्ता अनुपस्थित हुन्छ । यसमा मानिसको दिन प्रतिदिनको काम धेरै कम गतिमा हुन्छ र यस कारणले यसलाई प्राथमिक अब्सेसिभ स्लोनेस भनिन्छ ।

कारण र निवारण ः यसमा पनि चिन्ता र भय जस्तै त्यही विभिन्न सिद्धान्तहरू छन् किनभने कुनै एक कारणले सबैलाई परिपूर्ण गर्दैन । यसको साइकोडायनामिक थ्योरी अनुसार मानिसको अवचेतन मनमा अब्सेसन र कम्पल्सनमा द्वन्द्व हुन्छ । यो त नियम नै हो कि दुईको द्वन्द्वले तेस्र्रो कुराको निर्माण गर्छ । यहाँ दुवैको सङ्घर्षमा अवचेतन विष अथवा इच्छा र अर्ज अर्थात् उत्तेजना पैदा हुन्छ, जुन सामाजिकरूपले स्वीकार हुने खालको हुँदैन । मानिस असामाजिक काम गर्न उत्प्रेरित हुन्छ, जो अब्सेसनको नै एक रूप हो । जसरी अप्राकृतिक मैथुन, वेश्यावृति र बलात्कार आदि । अब्सेसनको जिनेटिक कारण पनि हुन्छ र पाँचदेखि सात प्रतिशत रोगीका आमाबुबामा पनि यो रोग पाइन्छ । त्यस्तै, सिरोटिनिन, डोपामिन र ग्लुटामेटको कमीले पनि अब्सेसन हुन्छ ।

निवारण वा उपचार ः यहाँ इगोको दूत हुन्छ, आइसोलेशन । आइसोलेट भएपछि मानिसमा सुधार त हुन्छ तर विचार अवचेतनमा रहिरहन्छ र जहिले पनि बल्झन सक्छ । यसको उपचारमा साइकोथेरापी रोगी र परिवार दुवैको गर्नुपर्छ । बिहवियर थेरापीले ८० प्रतिशत कम्पल्सनमा सफलता देखिन्छ, जस अन्तर्गत थट स्टपिङ, एक्सपोजर र रेस्पोन्स प्रिभेन्सन, सिस्टमेटिक डिसेन्सिटाइजेशन र मोडलिङ आदि आउँछन् । एक्सपोजर र रेस्पोन्स, प्रिभेन्सन फ्लडिड्ढो विपरीत प्रक्रिया हो । यसमा केही क्षणको लागि वस्तु देखाइन्छ, जसरी फोहोर र रोगीमा त्यसको प्रतिक्रिया देखिन्छ र साथै निश्चित पनि गरिन्छ । यसमा १५ देखि २० सेसनको आवश्यकता हुन्छ । यसले अब्सेसन र कम्पल्सनको बीचको कडीलाई तोडिदिन्छ र अब्सेसन हराउँदै जान्छ । थट स्टपिङ रोगीले चिकित्सकले बताए अनुसार आफैंले गर्ने विधि हो । यसमा जबजब मनमा नकारात्मक विचार आउँछ, तबतब रोगीले त्यस विचारलाई रोकिदिन्छ र सकारात्मक विचार सोच्न थाल्छ । चिकित्सकले यसमा केवल सहयोग मात्र गर्छ । यो विधि सिजोफ्रेनियाको रोगीमा पनि उपयोग गरिन्छ । मोडलिङमा कुनै अर्कोले काम गरेको देखाएर रोगीको माइन्डसेटमा परिवर्तन ल्याइन्छ । जसरी वयस्कले जुत्ताको फित्ता बाँधेर बच्चालाई देखाउँछ र भन्छ कि त्यस्तै गर । बच्चा बिस्तारै फित्ता बाँध्न सिक्छ । यहाँ रोगीमा त्यस्तै कुरा गरेर देखाइन्छ र त्यस्तै गर्न सिकाइन्छ तथा रोगीको माइन्ड सेट परिवर्तित हुन्छ । नभन्दै रोगी बिस्तारै अब्सेसनबाट मुक्त हुन्छ । औषधीय उपचारमा यहाँ बेन्जोडाइजिपिनको भूमिका सीमित छ तर केही एन्टिडिप्रेसेन्टले नाटकीयरूपले राम्रो काम गर्छ, जसले सिरोटिनिन अपटेकलाई कम गरेर काम गर्छ । जब डिप्रेसन धेरै नै कडा हुन्छ, तब रोगीलाई इलेक्ट्रिक सक पनि दिइन्छ । जब यी कुनै विधिले काम गर्दैन र धेरै मात्रामा डिप्रेसन छ भने साइको सर्जरी गरिन्छ । यसमा स्टेरियोटेक्टिक लिम्बिक ल्युकोटोमी र स्टेरियोटेक्टिक सबएक्युट ट्रैक्टोटोमी आउँछन् । पाठकबृन्द यसको नाम मात्र जाने पुग्छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here