- बैधनाथ श्रमजीवी
हाम्रो समाजमा निकै पुरानो एउटा कहावत छ–‘सङ्गतगुनाको फल’ । अर्थात् ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ । भनाइको मतलब मान्छेको दृष्टिकोण जस्तो हुन्छ उसले संसारलाई त्यस्तै देख्छ र त्यस्तै बनाउन हरसम्भव प्रयास पनि गर्छ । यो संसारमा परिवर्तन सबैलाई प्यारो हुन्छ । शासक र शासित दुई भागमा बाँडिएको मानव समाजभित्र मुठीभरिका शासकहरूले सुख, शान्ति, मोजमस्ती र समृद्धिस निस्सन्देह बहुसङ्ख्यक शासित जनताको दुःख, बेहाली, गरीबी, शोषण, उत्पीडन, महँगी, बेरोजगारी आदिकै जगमा प्राप्त गरेका हुन्छन् । तर यो वास्तविकता आम जनसमक्ष उजागर नहोस् र आफूहरू चिरकालसम्म महान् तथा सम्मानित बन्न पाइयोस् भन्ने हेतुले योजनाबद्ध किसिमले ठूलो षड्यन्त्र रचेर धर्म र ईश्वरीय सत्तालाई राज्यसँग संस्थागत गरेको यतिबेला सजिलै देख्न सकिन्छ । विश्वभरिका भ्रष्टाचारी, माफिया, दलाल पूँजीवादका दलाल तथा तस्करहरू, समाजमा प्रतिष्ठित कथित इमानदार धनाढ्य, राजा–महाराजा, संसद्वादमा लागेका सबै राजनीतिक नेताहरू र सरकारको नेतृत्व गर्नेहरूले आफ्नो अवैध कमाइलाई वैध बनाउन तथा आफ्नो बेइमानीलाई इमानदार देखाउन आजसम्म प्रयोग गर्दै आएको सबैभन्दा ठूलो अस्त्र हो धर्म, भाग्य, पूर्वजन्म आदि । यिनीहरूले आफ्नो हैसियतको कारण जहिले पनि आफू भाग्यशाली भएको, पूर्वजन्ममा पुण्य काम गरेको, ईश्वरले भाग्यमा लेखिदिएकोजस्ता अन्धविश्वासी, मनगढन्ते, काल्पनिक, भ्रमपूर्ण कुरा गर्दै आएका छन् । जबकि वास्तवमा यिनीहरूले राज्यको ढुकुटीमा ब्रह्मलुट मचाएको र जनतालाई महँगी, चर्को कर तथा व्यापक भ्रष्टाचार र कमिशनमार्फत दोहन गरेर धन–सम्पत्तिको साम्राज्य खडा गरेका हुन्छन् । यस्तोमा यदि कसैले उनीहरूको लुटको स्वर्गमाथि औंला उठाउन खोज्छ वा तिनीहरूलाई संरक्षण गर्ने धर्म वा ईश्वरीय सत्ताको अस्तित्वमाथि प्रश्न उठाउन खोज्छ भने शासकहरूले योजनाबद्ध ढङ्गबाट समाजभित्र धार्मिक दङ्गाहरू भड्काउँदै आएको निकै लामो मानव इतिहास साक्षी छ । यस्तोमा शासकहरूद्वारा प्रयोग गरिने सबैभन्दा बढी एउटा शब्द हो –‘नास्तिकता’ ।
आउनुस् यही नास्तिकताबारे केही चर्चा गरौं–
नास्तिकता वा नास्तिकवाद अथवा अनीश्वरवाद (ब्तजभष्कm) के हो ?
जीवन र जगत्लाई सृष्टि गर्ने, सञ्चालन र नियन्त्रण गर्ने कुनै पनि ईश्वर यो संसारमा छैन, अर्थात् ईश्वरको अस्तित्व स्वीकार नगर्ने विचार वा सिद्धान्तलाई नास्तिक भनिन्छ । (नास्ति = न+अस्ति) छैन । अर्थात् ईश्वर छैन) नास्तिकहरू ईश्वर (भगवान)को अस्तित्व झूटो मान्दछन् । अधिकांश नास्तिक कुनै पनि देवीदेवता, पारलौकिक शक्ति, धर्म र आत्मा मान्दैनन् । तर हिन्दू दर्शनमा वेदहरूलाई नमान्ने विचार वा व्यक्तिलाई नास्तिक मानिएको छ ।
ईश्वरवादीका अनुसार मनुष्यको मनमा ईश्वर प्रत्यय जन्मदेखि नै हुन्छ र त्यो स्वयंसिद्ध एवं अनिवार्य हो । यसले ईश्वरको अस्तित्वको बोध गराउँछ । तर अनिश्वरवादी भन्दछन्–ईश्वरभावना सबै मनुष्यमा अनिवार्यरूपमा पाइँदैन र यदि पाइएमा त्यो केवल मनको भावना हो । मनको भावनाले बाहिरी वस्तुको अस्तित्व सिद्ध हुँदैन । मनका धेरै धारणालाई आजको आधुनिक विज्ञानले असिद्ध प्रमाणित गरिसकेको छ । त्यसैगरी ईश्वरवादीहरू भन्छन्–संसारमा सबै वस्तुको कारण हुन्छ । विनाकारण कुनै कार्य हुँदैन । कारण दुई प्रकारका हुन्छन्–एक उपादान, जसद्वारा कुनै वस्तु बन्दछ, र अर्को निमित्त, जसले त्यसलाई बनाउँछ । त्यसैले घट, पट र घडी सरह समस्त जगत् पनि एउटा कार्य (कृत घटना) हो अतएव यसका पनि उपादान र निमित्त कारण हुनुपर्छ । केही मानिस ईश्वरलाई, जगतको निमित्त कारण र केही मानिस निमित्त र उपादान दुइटै कारण मान्दछन् ।
तर अनीश्वरवादीको दृष्टिकोणमा–यसको कुनै प्रमाण हामीसित छैन कि घट, पट र घडीसरह समस्त जगत् पनि कुनै समय उत्पन्न अथवा आरम्भ भएको थियो । यसको प्रवाह अनादि छ, अतः यसको स्रष्टा र उपादान कारण खोज्ने आवश्यकता छैन । यदि जगत्को स्रष्टा कुनै ईश्वर मानिलिएमा अनेक कठिनाइको सामना गर्नुपर्नेछ, जस्तैः–उसले सृष्टि गर्नुमा के प्रयोजन थियो ? भौतिक सृष्टि केवल मानसिक अथवा आध्यात्मिक सत्ताले कसरी गर्न सक्छ ? यदि यसको उपादान कुनै भौतिक पदार्थ मानौं भने पनि त उसले यसको नियन्त्रण कसरी गर्न सक्छ ? ऊ स्वयं भौतिक शरीर अथवा उपकरणहरूको सहायताले कार्य गर्दछ अथवा विना यसको सहायताले ? सृष्टि नभई ती उपकरण र भौतिक शरीर कहाँबाट आयो ? यस्तो सृष्टिको रचना गर्ने ईश्वर, (जसलाई उसका भक्त सर्वशक्तिमान, सर्वज्ञ र कल्याणकारी मान्दछन्) सँग के प्रयोजन छ, जसमा जीवनको अन्त मरणमा, सुखको अन्त दुःखमा, संयोगको वियोगमा र उन्नतिको अवनतिमा हुने गर्छ ? यस दुःखमय सृष्टिलाई बनाएर, जहाँ एउटा प्राणीलाई खाएर अर्को प्राणी बाँच्ने गर्दछ र जहाँ सबै प्राणी एक–अर्काका शत्रु छन् र आपसमा सङ्घर्ष हुने गर्छ, यसमा उसलाई (ईश्वरलाई) के लाभ हुन्छ ? यस जगत्को दुर्दशाको वर्णन योगवासिष्ठको एउटा श्लोकमा राम्ररी दिइएको छ, जसको आशय निम्निलिखित छ–
कुन चैं यस्तो ज्ञान छ जसमा त्रुटि छैन, कुन चैं यस्तो दिशा छ जहाँ दुःखको अग्नि प्रज्वलित हुँदैन, कुन चैं यस्तो वस्तु उत्पन्न हुन्छ जुन नष्ट हुँदैन, कुन चैं यस्तो व्यवहार छ जुन छलकपटरहित छ ? यस्तो संसारको रचना गर्ने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुन सक्छ ?
ईश्वरवादीहरू के युक्ति दिने गर्दछन् भने यस भौतिक संसारमा सबै वस्तुभित्र र समस्त सृष्टिमा, नियम र उद्देश्यमा सार्थकता पाइन्छ । यो कुरा यसको द्योतक हो कि यसलाई सञ्चालन गर्ने कोही बुद्धिमान ईश्वर छ । यस युक्तिको अनीश्वरवाद यस प्रकार खण्डन गर्दछ कि संसारमा धेरै घटना यस्ता पनि हुन्छन् जसको कुनै उद्देश्य, अथवा कल्याणकारी उद्देश्य हुँदैन, जस्तै– अतिवृष्टि, अनावृष्टि, अकाल, बाढी, आगलागी, अकालमृत्यु, बूढो हुनु, व्याधि आउनु र धेरै हिंसक र दुष्ट प्राणी । संसारमा जति नियम र ऐक्य देखिन्छ उति नै अनियमितता र विरोध पनि देखिन्छ । यी कुराहरूको कारण खोज्नु त्यति नै आवश्यक छ, जति नियम र ऐक्यको । जसरी समाजमा सबै मानिसलाई राजा अथवा राज्य प्रबन्धले एकअर्काप्रति व्यवहारमा नियन्त्रित राख्छ, त्यसैगरी संसारका सबै प्राणीहरूमाथि शासन गर्ने र उनीहरूलाई पाप र पुण्यको निम्ति यातना, दण्ड र पुरस्कार दिने ईश्वरको आवश्यकता छ । यसको उत्तरमा अनीश्वरवादी यो भन्दछन् कि संसारमा प्राकृतिक नियमका अतिरिक्त र कुनै नियम देखिंदैन । पाप र पुण्यको भेद मिथ्या हो जुन मनुष्यले आफ्नो मनले बनाएको हो । यहाँ सब क्रियाहरूको प्रतिक्रिया हुन्छ र सब कामहरूको लेखा बराबर हुन्छ । यसको लागि कुनै अर्को नियामक तथा शासकको आवश्यकता छैन । यदि पाप र पुण्यको लागि दण्ड र पुरस्कारको प्रबन्ध हुन्थ्यो तथा त्यसलाई रोक्ने र गराउने कुनै ईश्वर हुन्थ्यो भने पुण्यात्माहरूको रक्षा हुन्थ्यो र पापात्माहरूले दण्ड पाउँथे । ईसामसीह र गाँधीजस्ता पुण्यात्माहरूको नृशंस हत्या हुने थिएन ।
यस प्रकार अनीश्वरवाद ईश्वरवादी सूक्तिहरूको खण्डन गर्दछ र यहाँसम्म भन्ने गर्छ कि यस्तो संसारको सृष्टि गर्ने यदि कोही छ भने बुद्धिमान र कल्याणकारी ईश्वर होइन, दुष्ट र मूर्ख शैतानलाई नै हुनुपर्छ ।
हामीले हाम्रै समाजमा अनेक स्वार्थले भरिएका नाटकहरू दिनहुँ मञ्चन भइरहेको देख्छौं । राजकीय सत्ताबाट पाउने व्यक्तिगत सुख, समृद्धि निरन्तर पाइरहनका लागि निर्वाचनमा जित्न जरूरी छ । पेटभरि खान नपाएर ८० लाख जति नागरिक विदेश गइसकेका छन् तर हाम्रा प्रजातान्त्रिक गणतान्त्रिक पार्टी र तिनका नेताहरू गाउँगाउँमा धर्मशाला, मन्दिर, मस्जिद, पशुपतिमा सुनको जलहरीजस्ता अनुत्पादक क्षेत्रमा विकासको बजेट सिध्याइरहेका छन् । जनताले देशमैं रोजगार पाओस् र देशमैं बसोस् भन्ने कुरामा कसैको ध्यान छैन । कुनै कारखाना खोल्दैन, जनतामा भ्रम छर्न शपथ लिने क्रममा ईश्वरको नाममा शपथग्रहण गर्दैन । आफूलाई नास्तिक देखाउँछ । फेरि त्यही व्यक्ति ठोरीमा राम जन्मेको हो भनी त्यहाँ राम मन्दिर बनाउने कुरा पनि गर्छ । आफूलाई असली कम्युनिस्ट पनि भन्छ र भारतको उज्जैनमा गेरूवस्त्रमा शिवपूजनमा प्रकट पनि हुन्छ ।
अनि यस प्रकारको सडेको संसद्वादी दलाल पूँजीवादी राजनीतिक व्यवस्थाले हामीलाई कहाँ पु¥याउँछ ? सरकार भूमाफिया, तस्कर, भ्रष्टाचारी तथा दलालहरूको पकडमा रहेको हुनाले एउटा सङ्गतले हातमा नाङ्गो खुकुरी लिएर मान्छेले मान्छे काट्न खुलेआम भड्काउने भाषण दिंदा गृह मन्त्रालय निदाएर बस्छ , सयकडौं मानिस हातहतियारसहित धरानलाई खरानी बनाउन हिंड्दा सरकारको कुम्भकर्णे निद्रा भङ्ग हुँदैन भने समाजभित्र जहाँ धर्मनिरपेक्षता छ, त्यहाँ विभिन्न समुदायका मानिस कसरी आफूलाई सुरक्षित महसूस गर्न सक्छ ?
एकातर्फ संविधानतः राज्य धर्मनिरपेक्ष छ भनिन्छ, अर्कोतर्फ राष्ट्रप्रमुख नै कुनै धर्मविशेषको टीका बाँडिरहेका देखिन्छन् । यस्तो विसङ्गत अवस्थामा राज्यप्रति कसैले कसरी अपनत्व ग्रहण गर्न सक्छ ? त्यसैले जबसम्म हाम्रो देशमा दलाल पूँजीवादी व्यवस्था रहन्छ तबसम्म राज्यबाटै, योजनाबद्ध किसिमले खराब कुराहरू, जसले हाम्रो समाजको एकता र सहिष्णुतामा खलल पु¥याउँछ ती कुराहरूको संरक्षण भइरहन्छ । जन विरोधी विचार र व्यवहारले पर्दा पछाडिबाट प्रोत्साहन पाइरहन्छ ।