प्रस, वीरगंज, १८ असोज/
नेकपा समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले राजनीतिक, आर्थिक, सांस्कृतिकरूपमा गहिरो सङ्कटमा फस्दै गएको बताएका छन् ।
पार्टीले आयोजना गरेको पूर्व–पश्चिम समाजवाद जागरण कार्यक्रम अन्तर्गत बिहीवार वीरगंज आइपुगेका नेता खनालले आयोजित कोणसभामा नेपालमा रहेका कुनै पनि दललाई अहिलेसम्म जनताले नपत्याएको अवस्थामा सरकार चलिरहेको बताए । अहिले कसैको बहुमत छैन, मिलिभगत सरकार चलिरहेकाले जनताले कुनै दललाई नपत्याएको उनले बताए ।
उनले मुलुकमा सङ्घीयता लागू भएपछि जनताले स्थिर सरकारको लागि दुई तिहाइको बहुमत दिए पनि संविधान बनाउन महत्वपूर्ण भूमिका निभाएको दम्भमा केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुक राजनीतिक सङ्कटमा फस्दै गइरहेको आरोप लगाए । पूर्ण बहुमत दिंदा पनि ओलीको सरकारले पटकपटक संसद् विघटन गरेपछि त्यसपछि भएको निर्वाचनमा जनताले कुनै पनि दललाई पूर्ण बहुमत नदिएकोले मुलुक राजनीतिक सङ्कटमा फस्दै गएको बताए ।
उनले देशमा आर्थिक सङ्कट पनि उत्तिकै गहिरो रहेको बताए । आर्थिक सङ्कटको कारण अहिले महँगीको मारमा परेको जनतालाई राज्यले सहयोग गर्नुपर्ने बेलामा उल्टै सरकारी खर्च तिर्न नसकेको आरोप लगाए । भन्सारबाट उठेको राजस्वले अहिले सङ्घ र प्रदेश सरकारको खर्च धान्न सक्ने अवस्था नरहेको बेला जनताको अवस्था पनि राम्रो नरहेको बताए । त्यसैले यी सबै अवस्था सुधार्न समाजवादको नारा लिएर नेकपा समाजवादी पूर्व–पश्चिम अभियानको रूपमा जनचेतना जगाउन अगाडि बढेको बताए । जनचेतनाको क्रममा संविधानले दिएको अधिकार अनुरूप समाजवाद र पूँजीवादबीचको लडाइँ लड्दै पार्टी अगाडि बढिरहेको उनको जिकिर थियो ।
नेता खनालले सांस्कृतिक सङ्कट ल्याउन विदेशीको ठूलो हात रहेको पनि बताए । देशलाई धार्मिक द्वन्द्वमा पारी अहिले पूर्व–पश्चिमका जनतालाई विभाजित गर्ने कार्य विदेशीहरूले गरिरहेको बताए । विदेशीले कतै मस्जिद, कतै चर्च, कतै मन्दिर बनाएर जनतालाई एकापसमा विभाजित गरी धार्मिक युद्धमा नेपाललाई लैजाने उनीहरूको योजना रहेको बताए । धर्मको नाममा एकापसमा लडाउने शक्तिलाई पहिचान गरी सरकारले कारबाई गर्नुपर्ने बताए ।
जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव विजय पौडेल, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, अनेरास्ववियुका आरती लामा, महिला सङ्गठनकी अध्यक्ष जयन्ती राईलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत चिरञ्जीवी आचार्य र सञ्चालन बृजलाल पासवानले गरेका थिए ।