प्रस, परवानीपुर, १८ असोज/
वीरगंज–२५ श्रीसियावासीहरूले पाँच दिनदेखि गर्दै आएको चक्काजाम बिहीवारदेखि स्थगित गरेका छन् । श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंज र श्रीसियावासीबीच तीन बुँदे सहमति भएपछि गाउँलेहरूले धर्ना तथा चक्काजाम कार्यक्रम फिर्ता लिएको मुआवजा सङ्घर्ष समितिका अध्यक्ष अशोक चौधरीले बताए ।
उनले सरकारले आगामी दशैंदेखि छठको बीचमा मुआवजा रकम निकासा गर्ने, अग्रीम लाभकर फिर्ता गर्ने र स्ववासी जग्गाको मुआवजा दिने सम्बन्धमा सकारात्मक रहेको र छठअगावै गाउँलेहरूका तीनवटै माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सहमति गरिएको जानकारी गराए ।
विगत आठ वर्षदेखि सरकारले मुआवजा रकमको समस्या नसुल्झाउँदा गाउँलेहरू मर्कामा परेका छन् । श्रीसिया सुक्खा बन्दरगाह विस्तारको क्रममा २०७२ सालमा सरकारले जग्गा अधिग्रहण गर्न रोक्का राखेको थियो । सरेह र घडेरी गर्दै करीब ६२ बिघा जग्गा सरकारले अधिग्रहण गरेकोमा सोबापतको कुल मुआवजा रकम साढे पाँच अर्बमध्ये तीन अर्ब सरकारले मुआवजा दिइसकेको र अढाई अर्ब मुआवजा दिन बाँकी रहेको बताइएको छ । पटकपटकको आन्दोलन र ताकेतापछि सरकारले मुआवजा नदिएपछि पीडित गाउँलेहरूले असोज १४ गतेदेखि चरणबद्ध आन्दोलन शुरू गरेका थिए । जसको कारण पाँच दिनसम्म सुक्खा बन्दरगाह भन्सारको राजस्व सङ्कलन प्रभावित भएको थियो ।
सुक्खा बन्दरगाह भन्सारले एक दिनमा १२ देखि १५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ ।