प्रस, परवानीपुर, १८ असोज/

बारा, प्रसौनी गाउँपालिका–३ स्थित नेशनल पानी उद्योगमा जिल्ला प्रशासन कार्यालय, बाराले सिलबन्दी गरेको छ ।

कलैयामा बिक्री वितरणको क्रममा उद्योगको एउटा बोतलमा माकुरा भेटिएपछि अनुगमन गर्दै प्रशासनले उद्योगमा सिलबन्दी गरेको हो । जिप्रका, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य नेतृत्वको टोलीले उद्योगमा सिलबन्दी गरेको र उद्योगका सञ्चालक विजय यादवलाई नियन्त्रणमा लिएको थियो ।

सप्रजिअ आचार्यका अनुसार उपभोक्ताले स्वास्थ्यको ख्याल गर्दै बोतलको प्रशोधित पानी पिउने गरे तापनि सावधानी अपनाउन आग्रह गरे । उनले सिलबन्द बोतलको पानीमा माकुरा भेटिनुले जनताको स्वास्थ्यसँग उद्योगले खेलबाड गरेको र उद्योगविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी गराए ।

उद्योग अनुगमन गर्ने क्रममा नेशनल पानीका तीनवटा लोगो भेटिएको, उद्योग परिसरमा जथाभावी फोहर फालिएको, उद्योगले प्रशोधित पानी भर्ने खाली बोतलहरू व्यवस्थित नरहेकोसमेत भेटिएको छ ।

पानी उद्योगले पालना गर्नुपर्ने मापदण्ड र नियमविपरीत सो उद्योग सञ्चालन भएकोले सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको सप्रजिअ आचार्यको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here