प्रस, वीरगंज, १८ असोज/
वीरगंज महानगरपालिकाले शुक्रवार जितिया पर्वको अवसरमा महानगरमा रहेका विद्यालयहरूमा बिदा दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बिहीवार सूचना जारी गर्दै शुक्रवार वीरगंजमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय भएको बताए ।
तराई/मधेसमा मनाइने जितिया आजदेखि विधिवत्रूपमा शुरू भएको छ । व्रत बस्नुअघि आज व्रतालु महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा झिगनीको पातमा भगवान् जीमूत वाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छन् ।
शुक्रवार बिहान ४ बजेदेखि निराहार एवं निर्जल व्रत बसी शनिवार बिहान साढे १० बजेपछि मात्रै व्रतालुले व्रत सम्पन्न गर्छन् ।