सिड्नी, १८ असोज/सिन्ह्वा

अस्ट्रेलियाको न्यू साउथ वेल्समा गत शुक्रवारदेखि लागेको आगो बिहीवारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोस्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यू साउथ वेल्स रूरल फायर सर्भिस (आरएफएस)ले बताएको छ ।

कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा तीनवटा सम्पत्ति नष्ट भएको पुष्टि भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधवार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’को तयारी गर्न आह्वान गरेका छन् ।

 “हामी अक्टोबरको पहिलो सातामा छौं र हामीले धेरै दिनदेखिको ३० डिग्री तापक्रम र उच्च हावासहितको मध्य गर्मी महसूस गरिरहेका छौं, जङ्गलमा लागेको आगोले यस्तो खालको वातावरण मन पराउँछ र यो विशेषगरी क्षेत्रीय समुदायका लागि विनाशकारी हो,” प्रिमियर मिन्सले भने ।

कुलागोलाइटको आगलागीको स्तरलाई पछि ‘आपत्कालीन’बाट घटाएर ‘सुझाव’मा झारिएको थियो ।

बिहीवारको पछिल्लो अपडेटमा चीसो मौसम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here