प्रस, सिम्रौनगढ, १७ असोज/
दुर्ई महीना १८ दिनदेखि बन्द रहेको सिम्रौनगढ नगर अस्पताल बिहीवारदेखि सञ्चालन हुने भएको छ ।
बारा उद्योग वाणिज्य सङ्घ, सिम्रौनगढले नगर अस्पताल सञ्चालनको माग गर्दै शनिवार नगरप्रमुख किशोरीप्रसाद कलवारलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा तीन दिनभित्र अस्पताल सञ्चालनमा नल्याए नगरपालिकामा तालाबन्दी गर्ने अल्टिमेटम दिइएको थियो ।
तीन दिनपछि अस्पताल सञ्चालन नभएपछि बारा उद्योग वाणिज्य सङ्घ, सिम्रौनगढका अध्यक्ष लालबाबू कुशवाहा नेतृत्वको टोलीले नगरपालिकामा तालाबन्दी गर्न खोज्दा सिम्रौनगढ नगर अस्पताल व्यवस्थापन समितिका संयोजक सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहरका सल्लाहकार शेख मोतिमले भोलिदेखि अस्पताल सञ्चालन हुने बताएका थिए ।
सिम्रौनगढ नगर स्वास्थ्य संयोजक विजयशङ्कर ठाकुर, आयुर्वेद अस्पताल स्वास्थ्य संयोजक जयनारायणप्रसाद यादव, सिम्रौनगढ नगर अस्पताल व्यवस्थापन समिति सदस्य रामदिनेशप्रसाद यादव, अवधेशकुमार सहनी, विवेक मेहता, नन्दकिशोरप्रसाद जायसवाल, वडाध्यक्षहरू दीनदयालप्रसाद मुखिया, अरबिन्द मुखिया, एजुलाह अन्सारी, राजकुमार यादव, रामएकबालप्रसाद यादव, सुरेन्द्रप्रसाद जायसवाल, शिवमङ्गलप्रसाद कुशवाहा, सिम्रौनगढ इप्रकाका प्रनि रविभूषण यादव, सञ्चारकर्मी रामेश्वर मेहताको सहभागितामा भोलिदेखि अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको थियो ।
अस्पतालका प्रमुख जीतेन्द्र यादवसहित २२ जना करारका कर्मचारीहरूको साउन १ गतेदेखि म्याद सकिएको र तलबको माग गर्दै अढाई महीनादेखि कर्मचारीहरूले अस्पतालको सेवा ठप्प पारेका थिए । जसको कारण अस्पतालमा उपचार गराउन आउने बिरामीहरूलाई निकै समस्या भएको थियो ।
भोलिदेखि अस्पताल खुल्ने घोषणा भएपछि सिम्रौनगढ नगर अस्पतालमा सरसफाइ भएको छ ।