प्रस, वीरगंज, १७ असोज/

धोबिनी गाउँपालिका–३ सिकटा नदीस्थित पाँच बिघा जग्गा भूमाफियाले आफ्नो नाममा दर्ता गराएको छ भने सो जग्गाको सक्कली कागज भूमिसुधार तथा मालपोत कार्यालयबाट गायब भएको छ ।

मालपोत कार्यालयसँग जिल्ला अदालत, पर्साले २०७२ सालदेखि जग्गाको फाइल माग गरेकोमा हालसम्म पनि फाइल नबुझाएको तथा फाइल नै मालपोत कार्यालयबाट गायब भएको बताइन्छ ।

गाउँलेहरूले सो जग्गा सार्वजनिक नै हुनुपर्ने भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । मालपोत कार्यालयले पत्र नपठाउँदा तीन वर्षदेखि अदालतले निर्णय गर्न सकेको थिएन । यता जिल्ला अदालत, पर्साले पुरानो मुद्दा भएको भन्दै सो जग्गाको विषयमा असोज २३ गते अन्तिम छिनोफानो गर्दैछ । कालिकामाई गापा–१ मुर्ली निवासी असर्फी ठाकुर लोहारले २०७२/०८/२५ गते श्रेस्ता कायम गरेको निर्णय पुस्तिकामा तोकिएको समयभित्र पठाउनुपर्ने फाइल भेटिएन वा छैन भने के कारणले छैन स्पष्ट खुलाइ पत्राचार गर्न भनिएको बताए ।

सो जग्गा सार्वजनिक रहेकोमा  माओवादी द्वन्द्वकालमा नजीकैका खेतवाला र गाउँका अगुवाहरूले योजनाबद्ध तरीकाले २०६७ सालतिर आफ्नो नाममा दर्ता गराउन थालेका थिए । त्यसपछि गाउँका केही अगुवाहरूले अदालतमा मुद्दा दर्ता गराएका थिए । पछि लेनदेनको भरमा उनीहरूले मुद्दा फिर्ता लिएपछि अदालतले ठाकुरको पक्षमा जग्गाको हकदारको निर्णय गरेको थियो ।

समाचार स्रोतका अनुसार योजनाबद्ध तरीकाले भूमाफियाले आफ्नो नाममा जग्गा दर्ता गरेको छ । पहिला नापी, भूमिसुधार तथा मालपोतबाट सार्वजनिक जग्गा रहेको प्रमाण मेटाएका थिए । सोही अनुसार २०२२/२३ को नापी नक्शादेखि सबै प्रमाण मेटिएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here