प्रस, वीरगंज, १४ असोज/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहको मूलगेटमा आइतवारदेखि चक्काजाम गर्दै स्थानीयले धर्ना शुरू गरेका छन् । पूर्वघोषित कार्यक्रम अन्तर्गत वीरगंज–२५ श्रीसियावासीले धर्ना शुरू गरेका हुन् । आइतवार बिहान ९ देखि मध्याह्न १२ बजेसम्म धर्ना दिएका थिए ।
२०७३ सालमा नेपाल सरकारले सुक्खा बन्दरगाह विस्तारको लागि श्रीसिया गाउँको ६२ बिघा जग्गा अधिग्रहण गरेको थियो । सोबापत सरकारले तीन अर्ब मुआवजा दिइसकेको छ । अब करीब रु अढाई अर्ब मुआवजा वितरण गर्न बाँकी छ । सरेह खेतको मुआवजा करीब ७१ जनाले पाएका छैनन् भने ९० जना स्थानीय स्ववासीले जग्गाको मुआवजा नपाएको मुआवजा सङ्घर्ष समितिका अध्यक्ष अशोक चौधरीले बताए ।
पटकपटक मुआवजाको लागि स्थानीय आन्दोलित हुँदा सरकारले कनिका छरेझैं मुआवजा रकम पठाउने गरेकोले विगत सात वर्षमा मुआवजाको विवाद नसुल्झिएको उनले बताए । अहिले सङ्घर्ष समितिले तीन सूत्रीय माग राख्दै धर्ना शुरू गरेको र सरकार गम्भीर नभएमा हरेक दिन एक/एक घण्टा धर्ना अवधि बढाउँदै जाने र एक सातापछि पूर्णरूपमा सुक्खा बन्दरगाह ठप्प पार्ने आफूहरूको तयारी रहेको अध्यक्ष चौधरीले बताए ।
सङ्घर्ष समितिले बक्यौता मुआवजा रकम एकैपटक सरकारले पठाउनुपर्ने, स्ववासी जग्गाको मुआवजा पाउनुपर्ने, अढाई प्रतिशतबाट वृद्धि गरिएको पाँच प्रतिशत लाभकरको रकम सरकारले फिर्ता गर्नुपर्ने माग स्थानीयको छ । सरकारले जग्गा रोक्का राखी मुआवजाको समस्या समाधान नगर्दा सयौं गाउँले अहिले मर्कामा छन् ।
“गाउँलेले जग्गा बेच्न पाएका छैनन्, घर अन्तै बनाउन पाएका छैनन्, बैंकिङ कारोबार गर्न पाएका छैनन्,” उनले भने, “हामी यसै पनि मरिरहेका छौं, उसै पनि मरिरहेका छौं, अब अन्तिम निकास चाहियो ।” अब सरकारले सरेहको कुल जग्गाको २५ प्रतिशत, स्ववासी जग्गा र घर तथा भौतिक पूर्वाधारको मुआवजा मात्रै दिन बाँकी छ ।
गाउँलेको समस्या यथाशीघ्र समाधान गर्नेतर्फ पहल गर्न धर्नामा बसेका वीरगंज–२५ का अध्यक्ष आशुतोष चतुर्वेदीले आग्रह गरे । मुआवजा मागको लागि माथिल्लो निकायमा जानकारी गराइसकिएको र एक हप्ताभित्र समस्या समाधान गर्न पहल गर्ने उनले बताए । भन्सार विभागका महानिर्देशक र अर्थमन्त्रीलाई समेत जानकारी गराएको छु, मुआवजा रकम ल्याउन प्रयास गर्नेछु, उनले भने ।