प्रस, निजगढ, ११ असोज/
निजगढ नगरपालिका वडा नं ४ को कछडिया टोल र वडा नं ९ मा रहेका आठवटा क्रसर उद्योगमा हाल ८५ लाख ७६ हजार ७७६.५० क्यूफिट नदीजन्य पदार्थ मौज्दात रहेको जनाइएको छ ।
निजगढ नपाका इन्जिनीयर रूपेश यादवको नेतृत्वको प्राविधिक टोलीले बकैया क्रसर उद्योगमा चार लाख ५४ हजार ४२२.३० क्यूफिट, नेपाल क्रसर उद्योगमा २२ लाख ३० हजार ४५४.५० क्यूफिट, शङ्कर क्रसर उद्योगमा १५ लाख ४२ हजार ४५४.३० क्यूफिट, लालबकैया क्रसर उद्योगमा आठ लाख ४१ हजार ९१८.३९ क्यूफिट, हिमाल क्रसर उद्योगमा चार लाख ७३ हजार ७९९.८२ क्यूफिट, चौलागाईं क्रसर उद्योगमा १८ लाख ९७ हजार ९४०.५२ क्यूफिट, वैष्णवी क्रसर उद्योगमा चार लाख ४९ हजार ७३१.८० क्यूफिट, दङ्गाल क्रसर उद्योगमा छ लाख ८६ हजार ५४.८८ क्यूफिट नदीजन्य पदार्थ मौज्दात रहेको जनाएको छ ।
उक्त परिमाण टेन डाउन गिट्टीबाहेक क्रसर उद्योगबाट उत्पादन, प्रशोधन गरिएको र नगरी थुपारिएको नदीजन्य पदार्थ ग्राभेल, ढुङ्गा, गिट्टी, बालुवाको मौज्दात परिमाण रहेको इन्जिनीयर यादवले जानकारी दिए ।
निजगढ नपाको निर्देशनमा प्राविधिक टोलीले गत साउन ११ गतेदेखि एक सातासम्म गरेको स्थलगत अनुगमनबाट उक्त परिमाणमा मौज्दात निकालेको हो ।
निजगढ नपाले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा एक करोड ५६ लाख १४,७४४ घनफिट अर्थात् चार लाख ४२ हजार ५९४ घनमिटर नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न सक्ने प्राविधिकलाई तयार पार्न लगाइएको वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
निजगढ नपाले ठेक्का लगाउँदै आएको नदीजन्य पदार्थ उत्खननविरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा मुद्दा परेको आठ महीनापछि मुद्दा टुङ्गिएपछि नदीजन्य पदार्थको ठेक्का लगाउन निजगढ नपालाई बाटो खुलेको थियो । तीनपटक खोला ठेक्काको सूचना निकाले पनि ठेक्का लाग्न सकेन ।
यता डिभिजन वन कार्यालय, बारासँग प्रतिवेदनको विषयलाई लिएर जारी विवादका कारण निजगढ नपाले खोला च्यानलाइजबाहेक उत्खनन कार्य अघि बढाएको छैन ।