दक्षिणतर्फ छिमेकी मित्रराष्ट्र भारतसँग बिजुली व्यापार सम्झौता भए लगत्तै उत्तरतर्फका छिमेकी मित्रराष्ट्र चीनसँग पनि नेपालको बिजुली व्यापार समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि समझदारी भएको हो । उक्त समझदारी अनुसार नेपालको चिलिमे हब र चीनतर्फको जिलुङ्गबीच प्रसारण प्रणाली जोडिनेछ । यसअघि प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भारतले नेपालबाट दश वर्षमा १० हजार मेगावाट बिजुली लैजाने गरी दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी प्रारम्भिक सम्झौता भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घोष गरेका थिए । अहिले नेपालले भारतीय बजारमा ४५२ मेगावाट बिजुली बेच्ने अनुमति पाएको छ । थप बिजुली लैजान भने भारतले चासो देखाएको छैन । नेपाल–चीनबीच सम्झौता भएको प्रसारण लाइनका लागि नेपालतर्फ रसुवागढी–केरुङ प्रसारण लाइन चीनतर्फ पनि जोड्ने गरी सहमति भएको छ । नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । चीनतर्फ आवश्यक अध्ययन अगाडि बढाउने समझदारी भएको छ । दक्षिण छिमेकी देश भारतसँग नियमितरूपमा विद्युत् निर्यात र आयात भइरहेको छ । बङ्गलादेशसँग पनि बिजुली निर्यातका लागि आवश्यक तयारी भइरहेको छ । बङ्गलादेशका लागि भारतीय भूमि भएर प्रसारण लाइन लैजानुपर्ने हुँदा भारतको आनाकानीका कारण विलम्ब भएको हो ।

नेपालमा हाल कुल दुई हजार ७९४ मेगावाट बिजुली उत्पादन हुन थालेको छ । यो भनेको नेपालको कुल विद्युत् उत्पादन क्षमताको ३.८५ प्रतिशत मात्रै हो । हाम्रो कुल विद्युत उत्पादन क्षमता ७२ हजार ५४४ मेगावाट छ । यसमा हाल चार हजार ४५२ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । १२०० मेगावाट विद्युत् खरीद बिक्री सम्झौता (पिपिए)का लागि आवेदन छ । सर्भे लाइसेन्सका लािग पनि १२०० मेगावाटको आवेदन छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिलेसम्म मुलुकभित्र विद्युत्को उच्च माग एक हजार ७४८ मेगावाट पुगेको छ ।

यो अवस्थमा हाम्रो मुलुकमा उत्पादित बिजुलीको सम्भाव्य बजार खोज्नु स्वाभाविक हो । नेपालको ऊर्जा विकासको क्षेत्रलगायत अन्य भौतिक पूर्वाधार निर्माण क्षेत्रमा चीनको सहयोग तथा लगानी उल्लेखनीय छ । तर चिनियाँ लगानी वा चिनियाँ ठेकेदार संलग्न नेपालका विद्युत् परियोजनाबाट उत्पादित बिजुली नकिन्ने भारतीय नीतिका कारण चिनियाँ लगानी ल्याउनै अप्ठेरो छ । यो अवस्थामा चीनसँग विद्युतीय प्रसारण लाइन बनेमा नेपालबाट चीनतर्फ विद्युत आपूर्ति गर्न सहज हुनेछ । नेपाल–चीन तत्काल २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने र पछि ४०० केभी क्षमताको प्रसारण लाइनको लागि प्रयास गर्नेमा दुवैतर्फका अधिकारी सहमत देखिएका छन् । नेपालको सीमावर्ती क्षेत्रतर्फ चीनको क्षेत्रमा हाल २२० केभी क्षमताको प्रसारण लाइन रहेकाले उक्त लाइनमा जोड्न छिटो र कम खर्चमा नै हुनेगरी २२० केभी क्षमताको प्रसारण लाइन दुवैतर्फको रोजाइमा परेको हो । भारततर्फ भने ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण भइसकेकोले नेपालले सोही क्षमताको सम्झौता गरेको थियो ।  हुनत चीनतर्फ ठूलो परिमाणमा विद्युत् निर्यात हुन नसक्ला तर चीनको सहभागिताबाट नेपालमा उत्पादन हुने बिजुलीको लागि गन्तव्यको ढोका खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here