प्रस, वीरगंज, १० असोज/

४४औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंज, पर्यटन प्रहरी र अध्यागमन कार्यालय, वीरगंजले बुधवार शङ्काराचार्य द्वारमा भारतीय पर्यटकलाई स्वागत गरेका थिए ।

भारतको गोपालगंजबाट आएका चारजना पर्यटकलाई माला, खादा र टीका लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तले जानकारी दिए ।

अध्यक्ष पन्तले नेपालको अर्थतन्त्रको प्रमुख आधार पर्यटन भएकोले राज्यले पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । उनले स्थानीय तहमा पनि पर्यटन पूर्वाधार निर्माणमा खासै ध्यान नदिइएको बताए ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सदस्य कुबेर कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह, पर्यटन प्रहरीलगायतको सहभागिता थियो ।

चिरञ्जीवी सापकोटा, ठोरी/

पर्साको सुन्दर नगरी ठोरीमा बुधवार ४४औं विश्व पर्यटन दिवस मनाइएको छ । ठोरी गाउँपालिका–२ को आयोजनामा ठोरीको पर्यटकीय गन्तव्य गणेशमान पार्क, राईधारामा आज एक औपचारिक कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

ठोरी गापा–२ का अध्यक्ष अमृतकृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गापाध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई सङ्घीय सरकार र प्रदेश सरकारले बारम्बार झुक्याइरहेको बताए । उनले सङ्घीय सरकारका मन्त्री आएर आफैंले शिलान्यास गरेका विभिन्न योजनाको विकासमा समेत बेवास्ता भएको बताए ।

गत वर्ष सङ्घीय सरकारका शहरी विकासमन्त्री मेटमणि चौधरीले ठोरीका विभिन्न योजनाको शिलान्यास गरेका थिए । त्यस्तै, २०७८ चैत ११ गते ठोरीमा मधेस सरकारको मन्त्रिपरिषद्को बैठक बसी रु १० करोड बजेट दिने घोषणा गर्दै ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको तर आजसम्म बजेट विनियोजन गर्न नसक्नु लज्जास्पद भएको बताए ।

अध्यक्ष श्रेष्ठले मधेस सरकारले ठोरीलाई हेपेको गुनासो गरे । आश्वासन दिने तर परिणाममुखी काम मधेस सरकारले ठोरीमा नगरेको उनको भनाइ थियो । मधेस प्रदेशमा पर्यटनको क्षेत्रमा ठोरी जतिको सम्भावना बोकेको क्षेत्र अन्य नरहेको बताए । आगामी दिनमा मधेस र सङ्घीय सरकारले ठोरीलाई हेर्ने नजरमा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो । उनले भने, “यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सङ्घीय मन्त्री बन्नुभएको छ, अब भने केही आशा पलाएको छ ।”

कार्यक्रममा उपाध्यक्ष गोकुली रेग्मी, पूर्ववडाध्यक्ष किशोर तामाङ, निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत, समृद्ध ठोरी अभियानका संयोजक प्रकाश खनाल, पर्यटन व्यवसायी धीरसिंह घिमिरे, अमृत सामुदायिक होमस्टेका अध्यक्ष यादवराज कुँवरलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका अन्य वक्ताहरूले प्रदेश सरकारले ठोरीलाई झुक्याएकोमा आक्रोश पोख्दै ठोरीको पर्यटकीय सम्भावनासहित आआफ्नो धारणा व्यक्त गरेका थिए । ठोरीलाई विकास गर्न पर्यटनलाई नै प्रमुख आधार मानी काम गर्न सके ठोरीको विकास सम्भव रहेको उनीहरूको धारणा थियो ।

पर्यटन दिवसको अवसरमा आज ठोरीको ठुटेखोला पुलमा पुराना राष्ट्रिय झन्डा फेर्नुका साथै नयाँ झन्डाहरू थपिएका छन् । पुलमा १२ वटा झन्डा राखिएकामा आज थपेर २२ वटा बनाइएको वडा सदस्य केशरबहादुर भण्डारी जानकारी दिए । त्यस्तै, ठोरीका प्रमुख पर्यटकीय गन्तव्य रहेका फ्ल्याक्स बोर्डसमेत ठाउँ–ठाउँमा राखिएको वडा सदस्य भण्डारीले बताए ।

ठोरीमा राईधारा, रानीवन, गणेशमान पार्क, मनमोहन पार्क, शहीद पार्क, सीता गुफा, सेतो भीर, रातो डाँडा, पानीघट्ट, स्टोन पार्क, मठमन्दिर, बौद्ध स्तुप, झरना, भीरपाखा, खोलानाला, वनजङ्गललगायत दर्जनौं पर्यटकीय गन्तव्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here