प्रस, परवानीपुर, ६ असोज/
वीरगंजमा सटरको भाडा तिर्न नसक्दा सम्पर्कविहीन हुने व्यापारीहरूको सङ्ख्या बढ्दै गएको छ ।
यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, विद्यालय, सुनपसल, किरानापसल, टेलरिङ, कस्मेटिक, मदिरापसललगायतका व्यवसायीहरू रहेको जनाइएको छ ।
महानगरका कर्मचारीहरूका अनुसार व्यापार– व्यवसाय फस्टाउन नसक्दा बैंकको ऋण र घरधनीलाई भाडा तिर्न नसक्दा उनीहरू व्यवसायबाट पलयान भएर सम्पर्कविहीन भएको हुन् ।
आर्थिक मन्दीका कारण वीरगंज महानगरपालिका कार्यालयमा घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ ।
वीरगंज महानगरमा विभिन्न व्यापार–व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिने क्रम बढेको महानगरका कर्मचारीहरूको भनाइ छ । कतिपय व्यवसायी सम्पर्कमा भएपनि भाडा लेनदेनको विषयमा असहमति हुँदा घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको महानगरले जनाएको छ । बन्दाबन्दी सहज भएपछि व्यापार बिस्तारै लयमा फर्किदै थियो, तर देशमा आर्थिक मन्दी शुरू भएपछि व्यवसायले थप समस्या भोग्नुपरेको व्यवसायीहरूको भनाइ छ ।