- राजेश मिश्र
भगवान् ब्रह्मा, विष्णु, महेश एकसाथ देवलोकमा विराजमान थिए । उनीहरूबीच पृथ्वी, जल, अग्नि, वायु र आकाशको अवस्थाबारे चर्चा परिचर्चा चलिरहेको थियो । सोही बखत ‘नारायण… नारायण…’ भन्दै नारदमुनि प्रकट भए । नारदमुनिले देउताहरूलाई ढोग–प्रणाम गरे ।
आशीर्वचन दिंदै जगत्पिता ब्रह्माले नारदमुनिसँग आकाश, पाताल र पृथ्वीलोकको समाचारबारे जिज्ञासा प्रकट गरे । प्रतिउत्तरमा नारदमुनिले चन्द्रलोकमा चन्द्रयान–३ को अवतरण, पृथ्वीलोकमा रूस–युक्रेन युद्ध, जी–२० समिट, विश्यव्यापी आर्थिक मन्दी र एशियाली क्रिकेट प्रतियोगिताका साथै पातालमा भूमिगत पानीको घट्दो सतह आदि विविध क्षेत्रका समाचार सम्प्रेषण गरे ।
ब्रह्माजीले पुनः सोधे, “हे मुनि ! पशुपतिनाथको रूपमा विराजमान रहनुभएको कैलाशपतिको निवास स्थानको समाचार कस्तोे छ ? त्यहाँ के भइरहेको छ ?”
नारदमुनिले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र राजनीतिसँगै सुनकाण्ड, मिटरब्याज, राजधानीमा शिक्षकहरूको प्रदर्शन र आरती साहको परिवारको धर्ना, पूर्वसभामुख सुवासचन्द्र नेम्वाड्ढो निधन, महँगीलगायत विविध क्षेत्रका सुखद एवं दुखद समाचार अवगत गराए । त्यसपछि केही कुरा भन्नै लाग्दा उनको कण्ठ अवरुद्ध र अनुहार मलिनो भयो । चञ्चल प्रकृतिका नारदमुनिको गम्भीर मुद्रा हेरेर देउताहरू चिन्तामग्न भए । देउताहरूले प्रश्न गरे, “हे नारदमुनि ! तपाईं तीनवटै लोकको असल समाचारदाता हुनुहुन्छ । तपाईंको अनुहार किन मलिनो भयो ? राक्षसहरूको हर्कतमा पर्नुभयो वा मौन हुनुका अन्य कारणहरू पनि छन् ? भन्नुहोस्, के समस्या छ ?”
उदास नारदमुनि यताउति हेर्न थाले । अन्ततोगत्वा महादेवको अनुहारमा केन्द्रित भई हात जोडेर भने, “हे नाथ १ पशुपतिनाथको रूपमा विराजमान हजुरको देश नेपालमा मेरो पेशाको मानमर्दन भइरहेको छ । केही समयअघि म नेपालको भ्रमणमा गएको थिएँ । त्यहाँ सञ्चार क्षेत्रमा निली खाने अजिङ्गरे पत्रकारहरूका कारण मेरो पेशा सङ्कटमा छ । चौतर्फी मानमर्दन भइरहेको छ । मेरो पेशालाई भूलोकमा देशको चौथो अङ्गको रूपमा परिभाषित गरिन्छ । त्यहाँ पत्रकारहरूको हकहित तथा सामाजिक दायित्व काँधमा बोकेर आफूलाई पत्रकारहरूको नेता ठान्ने पदाधिकारीहरू जिल्ला, प्रदेश र सङ्घ गरी तीन तहमा विराजमान छन् । महासङ्घका विभिन्न तहमा पथगामी र पथविहीन दुवैथरीका पत्रकारहरू छन् । यद्यपि कर्तव्यनिष्ठ पदाधिकारीहरू अजिङ्गरे प्रवृत्तिका पदभोगीहरूको ओतमा गुमनाम छन् । त्यहाँ खासगरी अजिङ्गरे प्रवृत्तिमा उनीहरू बढी लिप्त छन्, जो कर्तव्यपथमा शिथिल र पदको नशामा चूर छन् । उनीहरू अजिङ्गरभन्दा बढी शक्तिले सास तान्छन्, जे आउँछ निल्छन् र कसैले थाहै नपाउनेगरी पचाउने विद्यामा पारगङ्ग छन् । मेरो पेशालाई धुमिल्याउने दिशामा अग्रसर अजिङ्गरे पदभोगीहरूको अनुहार हेरेर म अत्यन्त दुःखित छु, प्रभु १”
नारदमुनिको कथा–व्यथा सुनेर देउताहरूले सोधे, “हे मुनि ! उनीहरूको काम–कर्तव्य के हो ?”
प्रतिउत्तरमा नादरमुनिले भने, “हे प्रभु ! उनीहरू संविधान र पेशागत विधानको अधीनमा रहेर निष्पक्षरूपले कर्तव्य प्रतिपालन गर्नुपर्ने दायित्वका साथै नयाँ पुस्तालाई सत्यपथमा डोर्याउने अभिभारासहित पदासीन छन् । यद्यपि उनीहरू ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने प्रख्यात नेपाली उखान चरितार्थ हुने दिशामा अग्रसर छन् । उनीहरू समाजको कल्याण, विधान र पेशागत मर्मविरुद्ध व्यक्तिगत स्वार्थपूर्तिमा बढी तल्लीन छन् । ‘अजिङ्गरे’ प्रवृत्तिले त्यहाँ पत्रकारिताको मर्यादा मात्र होइन, अपितु उनीहरूको देखासिकी नयाँ पुस्ता दिशाविहीन हुने प्रबल सम्भावना रहेको मैले महसूस गरेको छु ।”
लगत्तै महादेवले प्रश्न गरे, “हे नारदमुनि ! उनीहरू अजिङ्गरे प्रवृत्तिमा कसरी लिप्त छन् ? अजिङ्गरे प्रवृत्ति भनेको के हो ? सविस्तार सुनाउनुहोस् ।”
नारदमुनिले भने, “हे प्रभु ! अजिङ्गर ठूलो र भारी प्रकारको सर्पको एक प्रजाति हो । विष नहुने तर सासले तानेर निली खाने, ज्यादै ठूलो किसिमको उष्ण कटिबन्ध प्रदेशमा पाइने सर्प हो । नेपाली शब्दकोषमा ‘ज्यादा चलमलाउन नसक्ने किसिमको, ज्यादै ठूलो, अजङ्गको, खन्चुवा अर्थात् ज्यादै खाने, सुत्ने, अल्छी र अकर्मण्य’ परिभाषित गरेको पाइन्छ । त्यसैले अजिङ्गरको चालचलनमा लिप्त पात्रलाई ‘अजिङ्गरे’ भनेर सम्बोधन गरेको हुँ । पत्रकारिता क्षेत्रमा अङ्कुरित अजिङ्गरे प्रवृत्तिले लोककल्याण र पत्रकारहरूको हकहित दुवै प्रभावित भइरहेको देखेर म अति क्षुब्ध छु, प्रभु ।” नारदमुनिको वियोग देउताहरू ध्यानपूर्वक सुनिरहेका थिए ।
अजिङ्गर सर्पको प्राकृतिक गुण वर्णन गर्दै नारदमुनिले भने, “हे प्रभु ! अजिङ्गर सर्पले कर्म गर्दैन । हावाको दिशामा मुख खोलेर बस्छ, स्वास तान्छ र ससाना निर्दोष जीवजन्तुहरूलाई शिकार बनाउँछ । त्यसैगरी, ठूलठूला प्रकारका जीवजन्तुहरूलाई पुच्छरमा बेरेर उनीहरूको प्राण हरण गर्छ र निल्छ । हे प्रभु ! जीवजन्तुको गुण चेतनशील प्राणीमा सर्नु अक्षम्य दोष अन्तर्गत पर्छ । देशको चौथो अङ्गको रूपमा स्थापित पत्रकारिताजगत्मा सीमित पदभोगीहरूमा जीवजन्तुको गुण सरेको भए तापनि त्यहाँ समस्त सञ्चारजगत् आलोचना खेप्न बाध्य छ । त्यहाँ मेरो पेशाको मानमर्दन भइरहेकोले म घोर चिन्तामा छु, प्रभु !”
भगवान् विष्णुको तर्फबाट प्रश्न आयो, “हे नारदमुनि ! के सबै पत्रकार अजिङ्गरे प्रवृत्तिमैं लिप्त छन् ?”
नारदमुनिले प्रस्ट पार्दै भने, “प्रभु ! सबै उस्तै छैनन् । कसैको दबाब र प्रभावमा नपर्ने प्रकृतिका सामान्य पत्रकार वा पदासीन पत्रकारहरूको कमी छैन । यद्यपि वैधानिक पथमा हिंड्ने जमातमाथि अजिङ्गरे प्रवृत्ति आफ्नो ओहोदा, सत्ता र शक्तिको दम्भ देखाउँछ । अजिङ्गरे प्रवृत्तिमा प्रायःजसो उनीहरू बढी लिप्त छन्, जो माथिल्लो नेतृत्व तहमा विराजमान छन् । प्रायःजसो उमेर र जोश–जाँगरले शिथिल उनीहरूमध्ये अधिकांश मानसिक तथा शारीरिकरूपले अशक्त छन् । त्यस कारण अजिङ्गरझैं बसीबसी सास तान्ने र निल्ने कार्यमा बढी उद्यत छन्, प्रभु !”
नारदमुनिको व्यथा सुनेर भगवान् ब्रह्मा र विष्णु अचम्मित भए । उनीहरूले महादेवसँग दृव्यदृष्टिले परिस्थितिको अवलोकन गराउने सन्दर्भमा अनुरोध गरे । भोलेनाथ मुस्कुराए । शिर हल्लाएर साक्षात्कार गराउने सङ्केत गर्दै नन्दी महाराजलाई प्रबन्ध मिलाउने आदेश दिए ।
बरफको ढिस्कोमा एक मिटरको दूरीमा दुईवटा त्रिशूल गाडियो । टेलिभिजनको समतुल्य सेतो पर्दा झुन्ड्याइयो । भगवान् ब्रह्मा, विष्णु र महेश आआफ्नो आसनमा र नन्दी, सर्प, भूत, पिचाश, बारुला र पहेंलो माहुरीलगायत शिवगण पर्दाअगाडि विराजमान भए । केही बेरपश्चात् भगवान् शिवले नारदमुनिसँग अजिङ्गरे प्रवृत्ति बढी हाबी रहेको क्षेत्रबारे सोधे । प्रतिउत्तरमा नारदमुनिले प्रथमतः मधेस प्रदेशको नाम लिए । तत्पश्चात् भगवान् शिवको दिव्यदृष्टिले पर्दामा आठवटा खण्डमा आठवटै जिल्लाका गतिविधि दृश्यमान हुन थाल्यो ।
शिवगण पृथ्वीलोकका दृश्यहरू हेरेर दङ्गदास थिए । उनीहरूमध्ये एकले औंलाले देखाउँदै जिज्ञासा प्रकट गर्दै भने, “हे नारदमुनि ! ठूलो मन्दिर भएको यो कुन ठाउँ हो ?” नारदमुनिले भने, “यो माता सीताको जन्थस्थल र मधेस प्रदेशको राजधानी जनकपुरधाम हो, र यहाँनेर मधेस प्रदेशका प्रादेशिक कार्यालयहरूको पङ्क्तिमा नेपाल पत्रकार महासङ्घको प्रदेश कार्यालय पनि स्थापित छ ।” शिवगणले अन्य सातवटा खण्डमा दृश्यमान स्थानहरूको नाम जान्ने इच्छा जाहेर गरे । नादरमुनिले क्रमशः सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको परिचय साझा गरे ।
लगत्तै नन्दी महाराजको स्वर गुन्जायमान भयो, “ठूल्ठूलो महल र मानिसहरूको बाक्लो उपस्थिति रहेको यो कुन ठाउँ हो ? एक ठाउँमा यति धेरै मानिस के गरिरहेका छन् ?” प्रतिउत्तर दिंदै नारदमुनिले भने, “हे शिवगण ! मधेस प्रदेशको आर्थिक नगरीको रूपमा प्रख्यात यो पर्सा जिल्लाको सदरमुकाम वीरगंज हो । बिहानको पैदल भ्रमणपश्चात् मानिसहरू चियापसलमा बसेर चिया पिउँछन् र विविध प्रकारका गपशप गर्छन् ।”
नारदमुनिले भने, “सूचना प्राप्त हुने विविध स्थानहरूमध्ये सामाजिक जमघट पनि एक हो । यस्तो ठाउँमा सबै प्रकारका पत्रकार त होइन, तर प्रायःजसो अजिङ्गरे प्रकृतिका पत्रकारहरूको उपस्थिति हुने गर्छ । सामाजिक जमघट हुने स्थानमा कतिपय यस्ता सूचनाहरू प्राप्त हुन्छन्, जुन सञ्चार क्षेत्रको लागि अहम् हुन सक्छ ।”
नारदमुनिले भने, “हे शिवगण ! मैले त्यहाँ के देखेको छु भने अजिङ्गरे प्रवृत्तिमा लिप्त पत्रकारहरू सम्प्रेषण गर्नैपर्ने सूचनाको उपयोग अजिङ्गरे प्रवृत्तिमा प्रयोग गर्छन् । व्यक्तिको कमजोरी फेला परेपछि अदृश्य मार्गबाट सम्बन्धित व्यक्ति/निकायसम्म सूचना पु¥याउने र थर्काउने कार्य गर्छन् । स्वार्थसिद्ध भए मामला साफ वा नभए अजिङ्गरे चरित्र उदाङ्गो पार्छन् । पत्रकारिताजगत्लाई बदनाम गराउने र यस क्षेत्रमा दुर्गन्ध फैलाउने कार्य प्रायःजसो ओहोदा र शक्तिको खोल ओढेका अजिङ्गरे प्रवृत्तिधारीहरूद्वारा हुने गर्छ । ठीक यसको उल्टो उनीहरूले सभा, सम्मेलन वा सामाजिक तथा सार्वजनिक स्थानमा पत्रकारिताप्रति चरम निष्ठा दर्शाउँछन् ।”
देउताहरूको ध्यानाकर्षण गर्दै नारदमुनिले भने, “हे प्रभु ! उनीहरूको आन्तरिक लीला हजुरहरूबाहेक दुनियाँलाई थाहै हुँदैन । अजिङ्गरे क्रियाकलापमा सकेसम्म उनीहरूले एक्लै निल्ने वा नभ्याए अजिङ्गरहरूको समूह निर्माण गरी निली खाने कार्य गर्छन् । बाहिरी आवरणमा आफूलाई स्वच्छ र श्रमजीवी पत्रकारको रूपमा प्रस्तुत गर्छन् । अजिङ्गरे प्रकृतिका पत्रकारहरू जुनसुकै छाता सङ्गठनमा आबद्ध भए तापनि अजिङ्गरे क्रियाकलापमा उनीहरूको मत एक हुन्छ ।”
नादरमुनिलाई बीचमा रोक्दै महादेवको मुखारबाट स्वर प्रस्फुटित भयो, “हे नारदमुनि ! पथप्रदर्शक नै पथभ्रष्ट हुने यो हर्कत घोर अनिष्टको सङ्केत हो । वास्तवमा तपाईंको भनाइबाट देवी सीताको जन्मभूमिमा पत्रकारिता पेशा सङ्कटग्रस्त रहेको अवगत हुन्छ ।”
नारदमुनिले भने, “हे नाथ ! अजिङ्गरे पथमा सामान्य वा कर्तव्यनिष्ठ पत्रकारहरू हिंड्न सक्दैनन् । त्यहाँ प्रायःजसो अजिङ्गरे पदभोगीहरूकोे वर्चस्व छ । विधान, कर्तव्य र मर्यादा एकातर्फ राखेर अजिङ्गरे पत्रकारहरू एक ढिक्का हुन्छन् । आआफ्नो दलको पुच्छर समातेर चाप्लुसीको खेतीमा लीन रहन्छन् । त्यस कारण उनीहरूले आफूलाई नियम, कानून र विधानभन्दा पृथक प्राणी ठान्छन् ।
नारदमुनिले अन्य क्षेत्रका कुप्रवृत्ति उजागर गर्ने सञ्चार क्षेत्र स्वयम् रोगग्रस्त रहेको कुरा देउताहरूसामु व्यक्त गरे । उनले देउताहरूलाई अनुरोध गर्दै भने, “हे देव ! अजिङ्गरे प्रवृत्तिले नेपालमा मेरो पेशा अति सङ्कटग्रस्त छ । त्यस कारण संयन्त्रभित्रको अजिङ्गरे प्रवृत्ति र अदृश्य बेथितिहरू निर्मूल नहुन्जेल पदभोगीहरूबाट देश, समाज र कर्मठशील पत्रकारहरूको कल्याण सम्भव छैन ।
भगवान् ब्रह्मा, विष्णु र महेश नारदमुनिको कथनप्रति भावविभोर हुँदै उनीहरूले पत्रकार महासङ्घका सङ्घ, प्रदेश र जिल्लासहित सम्पूर्ण तह र पदभोगीहरूको कामकारबाही अनुसन्धान गर्ने जिम्मेवारी सर्प, भूत, पिचाश, बारुला र पहेंलो माहुरीलगायत देवगणलाई प्रदान गरे । पदभोगीहरूको सामाजिक सञ्जालमा प्रेषित गतिविधि, औपचारिक/अनौपचारिक बैठक, टेलिफोन वार्तालाप र उनीहरूको व्यक्तिगत जीवनशैलीप्रति केन्द्रित भई अनुसन्धान प्रक्रिया अगाडि बढाउने अनुमति दिइयो । त्यसपछि देवगण आआफ्नो कार्यक्षेत्रतर्फ प्रस्थान गरे ।
मधेस प्रदेशको जिम्मेवारी पाएका देवगणले अनुसन्धानको क्रममा विविध समस्यासँगै नयाँ सदस्यता र नवीकरणसम्बन्धी विवाद उत्कर्षमा रहेको ठम्याए । वीरगंज केन्द्रित अनुसन्धान गर्न आइपुगेका बारुला र पहेंलो माहुरी सम्मिलित समूहले सूचना सङ्कलन र गन्तव्यमा छापामारी गर्ने कार्य शुरू गरे ।
छापामारीको क्रममा उनीहरू सम्भावित स्थानको खोजीमा यताउति डुलिरहेका थिए । रातिको आठ बजिरहेको थियो । सोही क्रममा एक बैठक कोठामा नयाँ सदस्यता र नवीकरणको सम्बन्धमा कुराकानी चलिरहेको देवगणले गन्ध पाए । कोठामा देवगणको प्रवेश भयो । ढोका बन्द कोठामा मदिरापानसँगै लट्ठ मुद्रामा गोप्य बैठक जारी थियो । देवगणले उनीहरूको प्रत्येक शब्द ध्यानपूर्वक सुन्न थाले । कोठामा सङ्घ र प्रदेश स्तरका पदभोगीहरूसँगै हुङ्कार भर्ने केही स्थानीय पत्रकार र फरक पेशाका असम्बन्धित पात्रहरूको पनि उपस्थिति थियो । उनीहरूबीच अघिल्लो वर्ष हुने निर्वाचनको गणितीय हिसाबकिताबसँगै विधान टेकेर भएपनि नयाँ सदस्यता र नवीकरणमा सकेसम्म प्रतिद्वन्द्वीहरूको नाम हटाउने र आफ्नो पक्षधरलाई समावेश गर्ने कुरा जोडतोडले चलिरहेको थियो । देवगणमध्ये कोही अडियो र कोही भिडियो बनाउन थाले ।
केही समयपछि पूर्ववत् योजनाअनुरूप नामावलीमा हेरफेर गरियो । प्रदेश तहबाट नामावली सङ्घमा पठाइएको अनौपचारिक खबर प्रसारित गरियो । देवगणको अर्को टोलीले प्रदेश कार्यसमितिमा सम्बद्ध महिला पदाधिकारीहरूलाई समावेश नै नगरी पुरुष पदभोगीहरूले मनोमानी गरेको भन्दै महिला पदाधिकारीहरूले जारी गरेको विज्ञप्ति हात पारे । त्यसैगरी, देवगणले अनुसन्धानको क्रममा शिक्षक पेशामा आबद्ध पत्रकारहरूको सदस्यता र नवीकरणको सन्दर्भमा प्रदेश कार्यसमितिले केही शिक्षकलाई काखा र केहीलाई पाखा गरेको प्रतिक्रिया प्राप्त गरे । यसको अलावा अनुसन्धानको क्रममा जिल्लागत कार्यसमितिहरूले गरेका निर्णयमाथि प्रदेश कार्यसमितिले विधानविपरीत कार्य गरेको हर्कत पत्ता लगाए ।
देउताहरूको आदेशबमोजिम अनुसन्धान गरेपछि पृथ्वीलोकबाट देवगण कैलाश फर्किए । पदभोगीहरूको कुनियत विषयक प्रतिवेदन र अडियो–भिडियो आदि प्रमाण साथै राखी देउताहरूलाई अर्पण गरे । उनीहरूले सङ्घीय कार्यालयको कामकारबाई हाल मुल्तबी रहेको देउताहरूलाई जानकारी गराए ।
तत्पश्चात् देउताहरूले शनिदेवलाई आह्वान गरे । तत्कालै शनिदेव कैलाशधाममा प्रकट भए । वृतान्तसहित देवगणद्वारा प्राप्त प्रतिवेदन र प्रमाण देउताहरूले शनिदेवसमक्ष प्रस्तुत गरे । यस विषयमा कामकारबाही अघि बढाउन निर्देशन दिए । शनिदेवले अजिङ्गरे प्रवृत्तिमा लिप्त पदभोगीहरूको घरघरमा रोग, भोक, शोक जस्ता व्याधिहरूलाई पठाइने कुरा व्यक्त गर्दै देउताहरूबाट अनुमति लिई अन्तध्र्यान भए ।
सुमति कुमति सब के उर रहहीं ।
नाथ पुरान निगम अस कहहीं ।।
जहाँ सुमति तहाँ सम्पत्ति नाना ।
जहाँ कुमति तहाँ विपत्ति निदाना ।।
सुबुद्धि र कुबुद्धि सबैको ह्दयमा वास गर्छ । जहाँ सुबुद्धि हुन्छ, त्यहाँ नानाप्रकारका सुखसुविधाले भरिपूर्ण रहन्छ । यद्यपि जहाँ कुबुद्धि छ, त्यहाँ परिणामस्वरूप विपत्ति प्राप्त हुन्छ । यसै विषयमा केन्द्रित चर्चा परिचर्चा देउताहरूबीच चलिरहेको थियो । केही बेरपछि देउताहरूले नारदमुनिसँग भने, “हे मुनि ! अजिङ्गरे प्रवृत्तिमा लिप्त पत्रकारहरूको ‘विनाशकाले विपरीत बुद्धि’ भएको छ । तपाईं चिन्ता नगर्नुहोस् । उनीहरूको सेवाको लागि शनिदेवलगायत विभिन्न ग्रहहरू हुनुहुन्छ ।” तत्पश्चात् भगवान् ब्रह्मा, विष्णु र नारदमुनि आआफ्नो निवास स्थानतर्फ प्रस्थान गरे । यता महादेव ध्यानमा लीन भए । अस्तु !