- बैधनाथ श्रमजीवी
गत वर्षझैं यस वर्ष पनि तीज पर्व सकियो । पोहोर, परारजस्तै एक महीना अगाडिदेखि तीजको रमझम गाउँँशहरमा देखिएको थियो । तीजका विभिन्न पक्षबारे बौद्धिक चर्चा पनि भएकै हो । एकथरि मानिसले तीजमा निकै विकृति भित्रियो भनेर सार्वजनिक टीकाटिप्पणी गरे भने अर्काथरिले मौलिक संस्कृतिको रक्षा हुनुपर्छ भन्दै अन्धविश्वास र रूढिवादिताको बलियो वकालत गरे । नेपाली समाज संसारभरि छरिएर बसेको छ, जहाँजहाँ नेपाली छन्, ती सबै ठाउँमा धेरथोर तीज मनाइएकै छ । त्यसैगरी, सबै ठाउँमा तीजमा देखिएका विकृति, विसङ्गतिबारे खुलेरै चर्चा भएको वा त्यसको भिडियो बनाइ युट्युबमा हालेको पनि निकै देखियो । महिलाहरूले सामूहिक दरमा खाने गरेका मद्यपान तथा जानेगरेका तारे होटलहरू पनि चर्चाका विषय रहे । खासगरी एउटै महिलाले एकै दिनमा पाँच ठाउँमा दर खान जाँदा पाँच रङ्गको सारी लगाएको कुरा पनि चर्चाको विषय बन्यो । यसरी महिलाहरूले मद्यपान गरेका दृश्यको विरोध प्रायः पुरुषहरूले यस कारणले गरेनन् कि त्यसबाट उनीहरूको स्वास्थ्य बिग्रिन्छ वा बिरामी पर्छन्, बरु पुरुषसरह मद्यपान गर्दा पुरुषसत्ताको बर्खिलाप भयो । आधुनिक गीतको रूपमा ३२ वर्षदेखि नेपाली चेलीहरू ‘तीजको लहर आयो बरी लै’ गीतमा नाच्दै आएका छन् । वास्तवमा २०४६ सालको राजनीतिक सुधारसँगै प्रदर्शनमा आएको ‘कन्यादान’ चलचित्रको उक्त गीतले तीन दशकभन्दा लामो समयदेखि तीजको लहर वर्षैपिच्छे अविच्छिन्नरूपमा ल्याउँछ । अनुमान गर्न कठिन छ, यो लहर अझै कति दशक चल्ने हो । यहाँ प्रश्न उठ्छ के साँच्चै प्रत्येक वर्ष ‘तीजको लहर’ आउँछ त ?
प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिनलाई नेपाल सरहदका पहाड तथा मधेस भूगोलका हिन्दू धर्मावलम्बी, विशेषगरी जात व्यवस्था अन्तर्गत उच्च जातका र हालको अवस्थामा यही पृष्ठभूमिका देश–विदेशमा छरिएर रहेका विभिन्न जातका महिलाहरूले ऋणै काढेर भएपनि हरितालिका तीज धूमधामसँग मनाउँछन् । सामाजिक संरचनात्मक लाभांशको कोणबाट हेर्ने हो भने नेपालको सन्दर्भमा तीज पर्वमा विश्वास र आस्था राख्ने महिला नै सबैभन्दा अग्रपङ्क्तिका शक्तिशाली र अवसरहरूको पहिलो भागीदारका रूपमा हाम्रो समाजमा स्थापित छन् । तर यसको द्वन्द्वात्मकता पनि सँगै आइहाल्छ, अर्थात् शासक वर्गकै भए पनि पितृसत्तात्मक आर्थिक, राजनीतिक र सांस्कृतिक जगमा उठेको सामाजिक व्यवस्थाले जाति व्यवस्था अन्तर्गत रहेका कथित उच्च जातका महिलामा उत्पीडनको घनत्व बढ्ता थोपरिएको देखिन्छ ।
मानव विकासको एउटा चरणमा परिवारको विकास भइसकेपछि निजी सम्पत्तिको अवस्था उत्पन्न हुँदा आफ्नो वारेसको आवश्यकता पूरा गर्न निजी पत्नी तथा निजी सन्तान बनाउन (त्यतिबेला समाजमा सामूहिक पत्नी तथा सामूहिक सन्तान नै हुने गथ्र्याे) कबिला युगमा एउटा कबिलाले अर्काे कबिलाबाट अपहरण गरेर ल्याई सामूहिक बलात्कार गर्दै पत्नी बनाई बन्धक बनाइएको मानिन्छ । त्यस्तो विवाह संस्था उहिले महिला प्रजाति स्वयंलाई सामान्य, उचित र अपरिहार्यजस्तो लाग्थ्यो । ठीक त्यसैगरी करीब पाँच हजार वर्ष अघिदेखि शुरू भएको संसारकै सबैभन्दा लामो र मात्रामा घनत्व बढी भएको महिला उत्पीडनले खडा गरेको तीजजस्ता अपमान र असमान चाडपर्व पनि वैज्ञानिक, सामान्य र सान्दर्भिक तथा मौलिक संस्कृति लाग्नु र यो आलेख पढ्दा चिट्चिट पसिना आउनुको साथै विषयवस्तु गलत लाग्नु स्वाभाविक हो ।
२०औं शताब्दीका अमेरिकी लेखक एवं रेडियोकर्मी अर्ल नाइटिङ्गेलका अनुसार हामीले हाम्रो अवचेतन मनमा पुनरावृत्ति र भावनाद्वारा मलजल गरी जे बीजारोपण गर्छाैं, त्यो एक दिन पलाउन थाल्छ । उनको दृष्टिकोणभन्दा अझै माथिबाट हेर्दा त्यो बीजारोपण र पुनरावृत्ति भावनामार्फत निरन्तर फकाएर वा डन्डा चलाएर लाद्ने काम भने आफ्नो अनुकूलताको शासन प्रणालीमार्फत शासक वर्गले गरिरहेको हुन्छ ।
९१ वर्षसम्म हिन्दू उच्च जात कहलिएका भारतीय महिलाले आत्मदाह नगर्दा पनि धर्म उल्लङ्घन गरेको ठहरिएन, तर सोही धर्म र जातका नेपाली महिलाहरूलाई भने भटाभट डढाएर मारियो । विक्रम संवत् १९७७ असार २५ गते सतीप्रथा उन्मूलन हुनुभन्दा एक दिन अघिसम्म कथित उच्च जातका महिला स्वस्फूर्त सती गएकै थिए भने उक्त दिनबाट निषेध गर्नासाथ जान पनि छोडे । आत्मघाती कुरामा पनि लामो समयसम्म निरन्तर प्रशिक्षित गरियो भने प्रशिक्षार्थीलाई सही र जायज लाग्छ भन्ने कुरा त्यसबाट प्रमाणित हुन्छ ।
शासक वर्गले धर्मान्धता, जडता, अन्धविश्वास र पछौटेपनलाई पालनपोषण गर्छ र जिउँदै राख्छ । सहज सत्ता सञ्चालनका लागि यी तŒव आवश्यक ठानिन्छ । शासनसत्ताले आफ्ना धार्मिक, सांस्कृतिक, बौद्धिकलगायत सबै संयन्त्र तथा गृह प्रशासन, सञ्चार, बजार आदिको परिचालनमार्फत तीजको लहर पनि जबरजस्ती ल्याएको हुन्छ, जसलाई सचेतन प्रयत्नकारीहरूले आलोचनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ ।
प्रत्येक चाडपर्वका दुर्ई पक्ष
संसारभरका धर्ममा उद्धृत र मनाइँदै आएका प्रत्येक चाडपर्वहरूमा मूलतः दुर्ई पक्ष हुने गरेझैं तीजका पनि दुर्ई पाटालाई हेरौं ।
१) धार्मिक पक्ष ः
पूर्वीय दर्शनमा विभाजित युगहरूमध्ये पहिलो सत्ययुगमा भगवान् शिवलाई पतिका रूपमा पाउन हिमालयपुत्री पार्वतीको कठोर तपस्याको कथाबाट हरितालिका तीजको मिथक शुरू भएको देखिन्छ । ती मिथकीय पात्रहरूले गरेजस्तै क्रियाकलाप अझै पनि हिन्दू धर्मावलम्बी महिलाले धार्मिक आस्थाका आधारमा गर्दै आएका छन् । अहिलेको जस्तो सामाजिक जटिलता र विज्ञानमा भएको चामत्कारिक विकासको युगमा दिनभरि निर्जल र निराहार व्रत बसेर शिवलिङ्गको पूजा गरेर, शिवजस्तो बेफिक्र जीवनसाथी पाउन अविवाहित र विवाहित महिलाको तत्परता देखिंदैन ।
अर्काे कुरा, पार्वतीको जस्तो फुर्सद अहिलेका महिलालाई पटक्कै छैन । तेस्रो कुरा, यो पितृसत्ताद्वारा निर्देशित प्रथा हो, किनकि कुनै पुरुषले महिला पाउनका निम्ति व्रत बस्नुपर्ने नियम कतै भेटिंदैन । आफ्नो प्रजातिको रक्षा र पुस्ताको निरन्तरताका निम्ति गर्भाधान प्रक्रिया अघि बढाउन पाठेघरमा हुने नियमित जैविक चक्रलाई पाप वा अनिष्ट देख्ने पितृसत्तात्मक विचारधारा बोकेका यस्ता अवैज्ञानिक र घोर असमान मान्यतालाई बेदखल गर्न व्यापक बहस गरिनुपर्दछ ।
२) सांस्कृतिक पक्ष ः
हरितालिका तीजलाई, महिलाविशेष पर्व’को खोल लगाइएको भए तापनि यो विशुद्धरूपमा पितृसत्ताको हुङ्कार मचाउने चाडको रूपमा चित्रण गर्नु वस्तुगत देखिन्छ । मैमत्त पितृसत्तालाई खुशी पार्ने र टिकाइराख्ने यो संस्कृति हो भने महिलामाथिको दमन यसको राजनीति ।
तीजमा गाइने गीतको सन्दर्भ ः
सामन्तवादी समाजमा सापेक्षिक रूपमा महिलामाथि भएको दमन, अत्याचार र थिचोमिचो व्यक्त गर्ने कुनै सार्वजनिक स्थल थिएन । त्यसैले मनमा दबाएर र लुकाएर राखेको पीडा र मर्मलाई गीतमार्फत तीजको बेला महिलाले पोख्ने गर्थे । अहिले भने विकसित राजनीतिक चेतना र विज्ञान–प्रविधियुक्त विश्वमा शोषण–दमनलाई तीजमा मात्रै होइन, पल–प्रतिपल लेख रचना, सामाजिक सञ्जाल र कार्यक्रम वा आफू सङ्गठित संस्थामार्फत मुखरित गर्ने सुविधा छ । तीज गीतका निम्न भाष्यहरूलाई इतिहासमा यस्तो पनि हुँदो रहेछ भनेर सुन्दा हुन्छ, तर यसमा डुबेर गुनासो गर्नु हास्यास्पद हुन्छ ।
‘बिर्सेर आजलाई कर्करे सासू आमाजू–नन्दले दिएका आँसु,’ हाम फालेर मरौं कि त्रिशूलीको पानीमा, घरमा बसूँ सौता छ, माइत सानीमा ।
जुन पितृसत्ताविरुद्ध जुरमुरिएर शोषित–उत्पीडित महिलाहरू सङ्गठित हुँदै लड्नुपर्ने हो, उनै सहयोद्धा उत्पीडितको उछित्तो काढ्दै नुन खाएको कुखुराजस्तो झोक्राएर बस्नु बिलकुल सही र सान्दर्भिक हुँदैन । कोसँग किन लड्ने भनेर दुश्मन र कारण पहिचान गर्नु पनि अबका महिलाहरूको दायित्व हुन आउँछ । बुहारीको मुक्तिको बाधक तत्व सासू, आमाजू वा नन्द हुन सक्दैनन्, न पुरुष नै हो । बाधक हो त केवल पितृसत्तात्मक विचारधाराद्वारा निर्देशित अर्थतन्त्र, राजनीति र संस्कृति । यही एकात्मक अर्थतन्त्र, राजनीति र संस्कृतिविरुद्ध लड्ने प्रतिरोधी भावना र विचार पैदा र निर्माण गर्ने गीत–सङ्गीतलाई अबका युवाले तीजका गीत बनाएर गाउनु र नाच्नुपर्छ ।
दर खाने संस्कृति ः
पुरुषवादी चिन्तन बोक्ने महिला र पुरुषहरूको ‘दर–पार्टी’मा रक्सी पिएको देख्दा पितृसत्ताको आक्रोश छ्यापछ्याप्ती देख्न सकिन्छ । के खाने भन्ने विषय व्यक्तिको रोजाइमा भर पर्ने विषय हो, तर महीनौं दर मात्रै खाने गलत परम्परा विगत केही दशकदेखि विकसित भएको छ । यो समाजका निम्ति निकै घातक र प्रत्युत्पादक क्रियाकलाप हो । अतः धार्मिक क्रियाकलापबाट अलग्याएर सांस्कृतिक पक्षका केही सबल र सान्दर्भिक विषय जस्तै– साथीसङ्गी, परिवार र आफन्त जमघट भएर सौहार्दपूर्ण वातावरणमा खानपिन गर्नु र स्वस्थ गीतसङ्गीतमा नाच्ने र रमाउने संस्कृति अनुकरण गर्दै अगाडि बढाउनुपर्ने देखिन्छ ।
तीजको वर्तमान अर्थ राजनीतिक अवस्थाः
पछिल्लो समयमा नेपालीका सबै चाडपर्व महँगो र भड्किलो हुँदै गएको पाइन्छ । चाडपर्वहरू सर्वहारा वर्गका मानिसलाई खिसीटिउरी र अपमान गर्ने र ऋणमा डुबाउने आहाल बनेको देखिन्छ । गहना, कपडा र अन्य सज्जाका सामग्री प्रदर्शन गर्ने प्रतियोगिता र होडबाजीजस्तो हुन पुगेको तीज पर्वले वर्गीय पक्षधरता बोकेको स्पष्ट देखिन्छ । समाजशास्त्री एभलिन रीडको ‘महिला मुक्ति आन्दोलनका सम्बन्धमा’ पुस्तकमा ‘काँचो मासुका नाफाखोरहरू’ उपशीर्षकमा नाफाखोरहरूलाई मुख्य तीन समूहमा विभाजित गरिएको छ ।
१) नारी शरीरलाई वर्तमान समयको स्तरीय फेसन तथा ढाँचामा ढाली नाफा कुम्ल्याउने ।
२) नारी शरीरमाथि प्रसाधनका सामान, रंगरोगन तथा अत्तर आदि पोतेर नाफा कुम्ल्याउने ।
३) एक र दुर्ई नम्बर बुँदामा उद्धृत शरीरमा रंगीबिरंगी उच्च दर्जाका फेसनका लुगा र गरगहना सजाएर नाफा कुम्ल्याउने ।
राजनीतिक दलका मानिसहरू भने नाफाखोरहरूकै पैसाले पार्टी सञ्चालन र व्यवस्थापन गर्दै बसेका छन् । चुनाव खर्च बटुल्नुपर्ने हुँदा सत्ता टिकाउनकै निम्ति शर्मनाक स्थितिमा चुप बसिरहेछन् ।
पितृसत्ताको अजड्ढो पहाडलाई महिला मुक्तिको नवीन जागरण र चेतनाको सङ्गठित बलले भत्काउँदै समतुल्य समाज निर्माण गर्ने अभिभारा उत्पीडित महिला र सबै प्रगतिशील तथा क्रान्तिकारी पुरुषहरूको हो । तर ठीकविपरित कतिपय तथाकथित कम्युनिस्ट पार्टी तथा तिनका भगिनी सङ्गठनहरूले समेत हँसिया–हथौडा अङ्कित झन्डावाला टिसर्ट लगायर तीजको गीतमा छमछमी नाचेको देख्दा –‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ – जस्तो हुन गएको छ ।