प्रमोद यादव, पंचगावाँ, ४ असोज/
सखुवाप्रसौनी गाउँपालिका–१ मा पर्ने जमुनिया खोलाबाट नदीजन्य पदार्थको उत्खनन र निकासीमा रोक लगाइएको छ ।
वडा नं १ को बैठकले खोलाका बालुवा, गिट्टी र ढुङ्गा गाउँपालिकाको साझा सम्पत्ति भएकोले यसलाई जोगाउनु सबैको नैतिक दायित्व भएको भन्दै खोलाबाट नदीजन्य पदार्थको उत्खनन र निकासी रोक लगाउने निर्णय गरिएको वडाध्यक्ष वासुदेव महतो थारूले बताए ।
उनले भदौ २९ गतेको वडा बैठकले यस्तो निर्णय गरेको सूचनामा उल्लेख रहेको जानकारी गराएका छन् । उनले निर्णयको बर्खिलाफ कसैले खोलाबाट उत्खनन वा निकासी गरेमा ट्याक्टरलाई १० हजार रूपैयाँ र टिपरलाई ३० हजार रूपैयाँ जरिवाना गरिनुका साथै कानूनी कारबाही पनि हुने बताएका छन् ।
सरकारले असार मसान्तदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खननमा रोक लगाउँदै आएको छ । असोज १ गतेदेखि वातावरणीय परीक्षण प्रतिवेदन पारित भएका खोलाहरूबाट स्थानीय पालिकाले ठेक्का, अमानतबाट नदीजन्य पदार्थको उत्खनन गर्न पाउने व्यवस्था छ ।
पर्सामा रहेका भलुवाही, भेडाहा, जमुनिया, सिंगाहीलगायतका नदीमा असार मसान्तदेखि नदीजन्य पदार्थको उत्खनन बन्द भएको छ र असोज १ गतेदेखि खुला भएपनि अहिलेसम्म पालिकाहरूले खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का बन्दोबस्ती गरिसकेका छैनन् । तीन महीनाको बन्द अवधिमा यसपटक भने खासै फरक परेको छैन ।
आर्थिक मन्दीका कारण गाउँ–शहरमा पक्की भवन निर्माण कार्य नगण्यरूपमा भइरहेका र विकास निर्माण कार्यले पनि गति लिन नसक्दा नदीजन्य पदार्थको अभाव देखिएको छैन । केहीले बढी आर्थिक लाभ लिने उद्देश्यले नदीजन्य पदार्थ सञ्चय गरेका छन् र साबिक मूल्यभन्दा बढीमा बिक्री गरिरहेका छन् । तीन महीनाको बन्द अवधिमा नदीहरूबाट चोरी तस्करीको माध्यमबाट नदीजन्य पदार्थको निकासी भइरहेको थियो ।