प्रस, वीरगंज, ३० भदौ/
पछिल्लो समय बढ्दै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले लामखुट्टे र त्यसका लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ ।
यसै क्रममा महानगरपालिकाले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि विभिन्न स्थानमा स्प्रे गर्ने अभियान चलाइरहेको छ ।
बाहिरबाट वीरगंजमा आउने यात्रुवाहक बसमा महानगरपालिकाले स्प्रे गर्न थालेको छ । महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवका अनुसार शनिवार बाहिरबाट वीरगंज आएका ८२ वटा बसमा स्प्रे गरिएको छ । महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाइ शाखाका र नगर प्रहरीको टोली स्प्रेका लागि परिचालन गरिएको महानगरको सरसफाइ शाखाका प्रमुख सर्फुद्दीन मियाँले बताए ।
वीरगंजको बाइपास सडकस्थित बोलबम पेट्रोल पम्पदेखि नृसिंह माविसम्म रहेका टायर पसलमा राखिएका टायरभित्र जमेको पानीमा रहेका लामखुट्टेको लार्भा पनि नष्ट गरिएको मियाँले जानकारी दिए ।
वीरगंज महानगरले भदौ २६ गतेदेखि शुरू गरेको ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान अन्तर्गत शनिवार बिहानसम्म ५६३ वटा टायरमा भएका लार्भा नष्ट गरिएको मियाँले बताए ।
मानिसको अत्यधिक भिडभाड हुने सार्वजनिक स्थानमा पनि कीटनाशक औषधि स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए । शनिवार बिहान जिल्ला प्रशासन कार्यालय, पर्सामा पनि स्प्रे गरिएको उनले जानकारी दिए ।