प्रस, निजगढ, ३० भदौ/
विद्यालय साझा मन्दिर हो, सबै मिलेर विकास गर्नुपर्ने बारा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले बताएका छन् ।
शुक्रवार निजगढ नगरपालिका–८ स्थित गौरीशड्ढर मावि परिसरमा नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत विद्यालय भवनको शिलान्यास गर्दै निजगढलाई शिक्षाको हबका रूपमा विकास गर्न यस निर्माणाधीन विद्यालयलाई नमूनाको रूपमा निर्माण गरी प्रदेशमैं उत्कृष्ट नमूना शैक्षिक विकासमा जोड दिनुपर्ने बताए । उनले यस कार्यमा आफूले पनि सहयोग गर्ने र अन्य सबैलाई पनि सहयोगका साथै सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।
हामी विभिन्न राजनीतिक दलमा आबद्ध रहे पनि विद्यालय सुधार, शैक्षिक गुणस्तर र विकास कार्यका निम्ति दलभन्दा माथि उठेर आआफ्नो ठाउँबाट सकारात्मक सहयोगी बन्नै पर्ने बताउँदै विद्यालयको शैक्षिक सुधार, अनुशासन, व्यवस्थापनमा विद्यालयका शिक्षक, कर्मचारीहरूले निरन्तर इमानदारीपूर्वक मेहनत गरिरहनुपर्ने र विद्यार्थीहरूले पनि लगनशील भएर कडा मेहनत गर्नुपर्नेमा जोड दिए ।
हामी कुनै न कुनै रूपमा समाजका अगुवा हौं । हरेक क्षेत्रको विकास, उन्नति, प्रगतिहरूमा मात्रै होइन, समाजमा जनचाहना अनुसारको विकास कार्य गर्न सकेनौं भने यसको अपजस हामी समाजका अगुवाहरूको टाउकामा निश्चितरूपले आउने बताए । समाजका हरेक पक्षको विकासमा एकजुट हुनुको अर्को विकल्प हामीसँग नभएकोले एकताबद्ध हुनैपर्ने सांसद मैनालीले बताए ।
कार्यक्रममा बाराका प्रदेशसभा सदस्य मीना लामा, जिल्ला समन्वय समिति, बाराकी उपाध्यक्ष चण्डिका उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि बर्तौला, गौरीशड्ढर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, खानेपानी संस्थाका अध्यक्ष सुदर्शन कोइराला, पूर्वनगरप्रमुख सुरेशकुमार खनाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीको सहभागिता थियो । उक्त निर्माणाधीन नमूना विद्यालय १७ वटा कक्षाकोठा, शौचालयसहित तीन तले रहने जनाइएको छ । सो भवन निर्माणका लागि चार करोड ७५ लाख ३९ हजार २८० रुपैया ३३ पैसामा ठेक्का सकार भइसकेको विद्यालय प्रशासनले जनाउँदै हालसम्म दुई करोड ४२ लाख ५० हजार सङ्घीय सरकारबाट रकम निकास भइसकेको र बाँकी रकम पाँच वर्षसम्ममा निकासा हुने बताएको छ । २०७६÷७७ मा सङ्घीय सरकारले नमूना विद्यालय निर्माणका लागि सो विद्यालय छनोट गरेको जनाउँदै सो भवन २०८१ पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।
उक्त कार्यक्रमको सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि बर्तौला र सञ्चालन विद्यालयका प्रअ बद्रीनारायण झाले गरेका थिए ।