प्रस, वीरगंज, २९ भदौ/
५९औं राष्ट्रिय बाल दिवस शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
वीरगंजको घण्टाघरबाट विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी र्यालीले नगरपरिक्रमा गरी पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा उपप्रमुख इम्तियाज आलमले बालबालिका भविष्यको कर्णधार भएकाले उनीहरूको उचित पालनपोषणका साथै शिक्षादीक्षा दिनुपर्ने बताए । उनले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि आवश्यक व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गरेको बताए । उपप्रमुख आलमले वीरगंज महानगरले बालबालिकाको लागि गुणस्तरीय शिक्षा सुनिश्चित गरी बालश्रममुक्त तथा बालमैत्री समाजको निर्माण गर्ने बताए ।
कार्यक्रममा शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, बालबालिका समितिकी संयोजक कनिका कौशिक, द्वारदेवी माविका प्रधानाध्यापक दयाकान्त झालगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीलगायतको सहभागिता थियो ।
बलिराम शुक्ला, बिरूवागुठी/
‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस पर्साको ग्रामीण भेगमा रहेका सामुदायिक तथा निजी विद्यालयले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
पर्सागढी नगरपालिका–३ स्थित भूपूसैनिक बोर्डिङ स्कूलले निकालेको र्यालीमा विद्यार्थीहरूले ‘बाल हिंसा बन्द गर, बालबालिकाहरूको पढ्ने अधिकार सुनिश्चित गर, बालबालिकाको हक अधिकार सुनिश्चित’लगायतका प्लेकार्ड बोकेर बडनिहार बजार परिक्रमा गरेका थिए ।
र्यालीमा शिक्षक, विद्यार्थी तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको सहभागिता थियो ।
त्यसैगरी, जनता मावि पकडिया बडनिहार, पर्सा रेम्बो बोर्डिङ स्कूललगायत ग्रामीण भेगमा रहेका निजी तथा सामुदायिक विद्यालयहरूले पनि बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका थिए ।
सोनी बनिन् एक दिनका लागि प्रअ
५९औं राष्ट्रिय बाल दिवसको अवसरमा बहुदरमाई नगरपालिका–५ भौराटारस्थित नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सोनी गुप्ता एक दिनको लागि प्रधानाध्यापक बनिन् ।
प्रअ भएपछि उनले विद्यालयका महत्वपूर्ण कामबाहेक अन्य अधिकार पाएकी थिइन् । उनकै अध्यक्षतामा हाजिरीजवाफ प्रतियोगिता भएको थियो ।
त्यसैगरी, बाल दिवसको अवसरमा विद्यालयमा बालमैत्री खेल तथा पुरस्कार वितरण कार्यक्रम गरिएको विद्यालयका प्रअ सञ्जयकुमार महतोले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोकप्रसाद कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक सन्दीपकुमार जैसवालले गरेका थिए ।
यसैगरी, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले बाल दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम गरेको छ ।
शुक्रवार आदर्शनगर क्षेत्रमा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, प्रहरी जवान विवेक पाण्डे, रामकृपाल साहलगायतले बाल अधिकारबारे श्रव्यदृश्य र तीन सय थान पर्चा वितरण गरेका थिए ।
माउन्ट एडमन्डमा बाल हस्तकला प्रदर्शनी
माउन्ट एडमन्ड माध्यमिक विद्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरसदन बाल हस्तकला प्रदर्शनीको आयोजना गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फजिल मियाँ तेलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तरसदनका कक्षा १ देखि १० सम्मका २३५ जना विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनन्तकुमारलाल दासले विद्यार्थीहरूमा हस्तकलाप्रति रुचि जागृत गर्न, स्थानीय संसाधनहरूको महत्वबोध गराउन, गाउँघरमा प्रचलित परम्परागत सीपको भूमिकालाई चिन्न र लोपोन्मुख सीपहरूको जगेर्ना गर्नुका साथै पढाइ सँगसँगै विद्यार्थीहरूमा सीप विकसित गर्ने लक्ष्यअनुरूप कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रदर्शनीको अवलोकन, मूल्याङ्कन र विद्यार्थीहरूमा भएका रचनात्मकतालाई प्रोत्साहित गर्न अभिभावकहरूलाई समेत आमन्त्रित गरिएको थियो ।
कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयद्वारा गरिएको कार्यको सराहना गरेका थिए ।
सो कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सामग्रीहरूलाई प्रयोग गरी घण्टाघर, माउन्ट एडमन्ड स्कूल, केदारनाथ मन्दिर, परम्परागत सीप अन्तर्गत जाँता, ढेकी, घरेलु फ्रिज, हलो, बैलगाडा, नेपालका विभिन्न भागमा रहेका घरहरू, विभिन्न प्रकारका फूलहरूलगायत थुप्रै कुराहरू स्वयम् बनाएर प्रदर्शित गरेका थिए ।