• राजेश मिश्र

 “भला है बुरा है जैसा भी है मेरा पति मेरा देवता है” पत्नीले र पतिले “सिधी साधी सुरत इसकी कितनी भोली भाली, शहद से भी ज्यादा मिठी है इसकी बोली” भन्ने गीतहरू गीतकारले समाजमा दृष्टिगत विषयवस्तुको आधारमा रचना गरेका हुन सक्छन् ।

उपरोक्त गीतझैं पतिपत्नीबीच सदा मधुर सम्बन्धको परिकल्पना गरिन्छ । कानूनतः अधिकार र स्वतन्त्रता कसैको पनि हनन् गर्नुहुँदैन । यद्यपि वैवाहिक जीवनमा एकअर्काप्रति परस्पर सद्भाव कायम राख्नु उतिकै महत्वपूर्ण पाटो हो । वैवाहिक जीवनमा आत्मसंयमता अपरिहार्य कुरा हो । भनिन्छ, आवश्यकताभन्दा बढी ग्रहण गरेको भोजन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । त्यस कारण आधुनिकता, अधिकार वा स्वतन्त्रतासँगै समय र परिस्थितिको ख्याल गर्नैपर्छ ।

हिन्दू धर्ममा अनेकौं व्रत र त्योहारहरू मनाउने गरिन्छ । तीमध्ये हरितालिका तीज व्रत पनि एक हो । पानी पनि नखाई यो व्रत निर्जला गरिन्छ । यद्यपि स्वास्थ्य प्रतिकूल हुने कार्य गर्नुहुँदैन । हिन्दू नारीहरूले मनाउने तीज पर्व एउटा महत्वपूर्ण चाड हो । भाद्र शुक्लपक्ष तृतीया तिथिको दिन तीज व्रत गरिन्छ । तीज पर्वको धार्मिक पृष्ठभूमि हेर्ने हो भने देवी पार्वतीले पतिको रूपमा भगवान् शिवलाई प्राप्त गर्नको लागि घोर तपस्या गर्नुभएको कुरा अवगत हुन्छ । देवी पार्वतीको तपस्याले भगवान् शिव प्रभावित हुनुभयो । देवीसमक्ष प्रकट हुनुभयो र मनोवाञ्छित वरदान दिनुभयो । अन्ततः देवी पार्वती र भगवान् शिव प्रणयसूत्रमा बाँधिनुभयो ।

तीज व्रतमा भगवान् शिव र देवी पार्वतीको पूजा आराधना गर्ने पुरातन प्रचलन हो । पछिल्लो समय तीज पर्वको मूल संस्कृति हाइब्रिड संस्करणकोे ओतमा ओझेल हुन थालेको प्रतीत भइरहेको छ । हाइब्रिड किन भनिएको हो भने हिन्दू संस्कृतिको आलोकमा अन्य संस्कृतिहरूको मिश्रण हुन थालेको छ । हिन्दू संस्कृतिमा पर्वको महत्व व्रतालुहरूले ग्रहण गर्ने आहार र शुद्धाशुद्धीमा पनि निर्भर हुन्छ । हिन्दू पर्वमा पूर्ण सात्विक भोजन ग्राह्य हुने भनिएको छ ।

आधुनिकता र स्वतन्त्रताको नाममा समाज कता जाँदैछ भन्नेबारे सामूहिक बहस हुनुपर्छ । विभिन्न सामाजिक गतिविधिहरूले पर्व त्योहारहरूको मौलिक तत्व विलीन हुने क्रममा रहेको कुरा अनुभूत गर्न कठिन छैन । हाइब्रिड संस्करणले पर्व र व्रतको मौलिकता न यता न उताको अवस्था छ । जीव विज्ञान अनुसार दुई भिन्न प्रजातिको संयोगबाट उत्पन्न प्रजातिलाई ‘हाइब्रिड‘ उत्पत्ति भनिन्छ । उदाहरणको लागि घोडा र गधाको हाइब्रिड संस्करण खच्चर हो । खच्चर न त घोडा हो, न गधा हो । वर्तमान समयमा बजारमा हाइब्रिड र बेमौसमी खाद्य पदार्थको जगजगी छ । हेर्नमा अति सुन्दर र आकर्षक लाग्छ, तर मानव शरीरको लागि उत्तिकै घातक र हानिकारक हुन्छ । तीज पर्वको मौलिकता सङ्कटमा पार्ने प्रकृतिको क्रियाकलाप राम्रो पक्ष होइन । मानसिक र शारीरिक सन्तुलनको लागि व्रत बस्ने परम्परा पुरानतकालदेखि निरन्तर छ ।

हिन्दू धर्ममा व्रत बस्दा निराहार वा अल्पाहारको रूपमा फलफूल, दूध र दही आदि ग्रहण गर्ने प्रचलन छ । वैज्ञानिक र आध्यात्मिक दृष्टिकोणले उपवास बस्नु शारीरिक र मानसिक स्वास्थ्यको लागि फाइदाजनक प्रक्रिया हो । जर्मनीको दुईवटा प्रतिष्ठित संस्था डिजेडएनई ९म्श्ल्भ्० र हेल्महोल्ज सेन्टरको साझा शोधमा उपवाससम्बन्धी कयौं जानकारी उजागर भएको पाइन्छ । वैज्ञानिकहरूले मुसाहरूका दुईवटा समूह बनाए । एक समूहलाई उपवास र अर्को समूहलाई नियमित भोजन दिइयो । उपवासमा आधारित समूहको मुसाहरूलाई भोजनको बीचमा लामो अन्तराल र उपवासको दिन पानी मात्र दिइन्थ्यो । जुन समूहमाथि यो प्रयोग गरियो, त्यो समूह नियमित भोजन गर्ने समूहका मुसाहरूको तुलनामा बढी बाँचे ।

बढी होइन, दुई/तीन दशकअघिको कुरा मात्र स्मरण गर्ने हो भने तीज व्रतको उहिले र अहिलेको भिन्नता छुट्याउन सकिन्छ । अहिले आधुनिक भनिने पुस्ताले आफ्नै हजुरआमा र आमाकोे तीज व्रत गर्ने प्रक्रिया स्मरण गर्ने हो भने तीज व्रतको भिन्नता स्वयम् महसूस गर्न सकिन्छ । किनभने हजुरआमा वा आमासँग नदी, तलाउ वा पोखरीमा नुहाउन बाल्यकालमा गइएकै होला । धार्मिक आस्थामा रतिभर आँच नआउने गरी रातभरि जाग्राम र भजनकीर्तन हुन्थ्यो । तीज पर्वको पहिलो दिन नहायखाय, दोस्रो दिन व्रत र तेस्रो दिन विधिपूर्वक पारण गरिन्थ्यो । व्रत अवधिभरि सात्विक भोजन गरिन्थ्यो । अपवादबाहेक अचेल दर खाने नाममा तीजको अघिदेखि नै तामसी भोज्य पदार्थ ग्रहण गर्ने कार्य शुरू हुन्छ । तीजको भोलिपल्ट बिहान पारण र साँझपख माछामासुको खुल्दुली उग्र हुन्छ । माछामासुको पसलमा हुने भीडले व्रतप्रति सामाजिक मनोविज्ञान प्रस्ट हुन्छ ।

भोजन, पहिरन र अभिव्यक्तिको स्वतन्त्रताको नाममा मूल संस्कृतिमाथि बाह्य संस्कृतिको फ्युजनले पर्व त्योहारको हाइब्रिड संस्कारण विकसित हुँदैछ । यी कुराहरू कतिपयलाई पाच्य नहुन सक्छ । आआफ्नो तर्क, वितर्क वा कुतर्क हुन सक्छन् । तर पर्वहरूको मानक जुन प्रकारले विद्रुप भइरहेको छ, पहिले र अहिलेमा जुन भिन्नता देखिंदैछ, त्यो नवपुस्तालाई अवगत गराउनु पनि उत्तिकै अपरिहार्य छ ।

एउटा भोजपुरी प्रसिद्ध उखान छ, “घर के मुर्गी दाल बराबर ।” आफ्नो मूलभूत परम्परा र संस्कारलाई आत्मसात् गर्न कन्जुस्याइँ गर्छ वा जान्न चाहँदैन वा बढी जानेझैं प्रस्तुत हुन्छ । तर बाह्य संस्कृतिप्रति नतमस्तक हुन्छ । पर्वको महत्वलाई वैज्ञानिकताको तराजुमा मापन गर्ने योग्यता नभए तापनि ‘थुथुरलोजी’ गर्ने बानी समाजमा व्याप्त छ । हिन्दू पर्व, संस्कार, संस्कृति र अनुष्ठान आदि नितान्तरूपमा वैज्ञानिकतामा आधारित छन् । किनभने उपवास बस्ने माध्यम पर्व हो । उपवासमा धार्मिक आस्था मात्र केन्द्रित छैन, अपितु शारीरिक र मानसिक अवस्था नकारात्मकताबाट सकारात्मकतर्फ अग्रसर हुन्छ । शरीरमा नयाँ ऊर्जा प्रवाहित हुन्छ । यद्यपि निष्ठापूर्ण भाव अपरिहार्य तत्व हो । रीत पुर्याउने उद्देश्यले गर्ने पर्व/व्रतको कुनै औचित्य हुँदैन ।  

मधेसी समुदायमा माइती घरमैं तीज पर्व मनाउने अनिवार्यता छैन भने पहाडी समुदायमा खासगरी माइती घरमा मनाउने प्रचलन छ । आफूअनुकूल माइती वा ससुरा घरमध्ये जहाँसुकै पनि तीज मनाउन सकिन्छ । तर योसँगै पर्वमा सात्विक भोजन र शुद्धाशुद्धी अनिवार्य तत्वहरू हुन् । मधेसी समुदायमा तीज व्रत बस्ने अघिल्लो दिन लहसुन र प्याज रहित भोजन ग्रहण गर्ने परम्परा छ । पर्वको सकारात्मक परिणामको लागि तामसी भोजन वर्जित गरिएको छ । माछा, मासु, लसुन, प्याज र रक्सीलगायत विभिन्न खाद्य पदार्थहरू तामसी भोजन अन्तर्गत पर्छन् । साŒिवक भोजन अन्तर्गत दूध, दही, फलफूल र मिठाइ आदि पर्छन् । सात्विक भोजनले मनमस्तिष्क सन्तुलित रहन्छ । पर्वहरूमा मानसिक र शारीरिक सन्तुलन नितान्त आवश्यक हुन्छ ।

आधुनिकतासँगै दर खाने नाममा परिवर्तन आउँदै गएको छ । हप्तौंअघिदेखि दरको नाममा अपवादबाहेक तामसी भोजन, मादक पदार्थ र अभद्र गीत सङ्गीतको होड बढ््दै गइरहेको छ । स्वभावतः तामसी भोजनले मानसिक र शारीरिक सन्तुलन आफूलाई थाहै नहुने गरी असन्तुलित हुन्छ । विभिन्न रूपमा प्रकट हुन्छ । पारिवारिक समाञ्जस्य अस्थिर हुन्छ । तीज पर्वको मौलिकता आधुनिक होटल र तामसी भोजनमा भन्दा नदी, तलाउ वा पोखरीको डिल र साŒिवक भोजनले बढी दर्शाउँछ । पर्व त्योहारको मौलिकता संरक्षणको सवालमा शहर तथा शिक्षित वर्गको तुलनामा ग्रामीण क्षेत्र तथा अशिक्षित वर्ग बढी समर्पित देखिन्छन् । यद्यपि शहरी गतिविधि ग्रामीण तहमा छिटो पुग्ने र ग्रामीण तहका गतिविधि शहरसम्म पुग्ने सम्भावना शून्य वा न्यून हुन्छ । वर्तमान अवस्थामा पश्चिमा प्रभाव शुरूमा शहर र शिक्षित वर्गसम्म पुग्छ । त्यसपछि उनीहरूका गतिविधि ग्रामीण तहसम्म पुग्छ र बिस्तारै सङ्क्रमण फैलिंदै जान्छ ।

एक त व्यस्त जीवनशैली र त्यसमा पनि तामसी भोजनले वृद्धवृद्धा, महिला, पुरुष तथा बालबालिका आदि हरेक पक्षलाई प्रभावित गरिरहेको छ । कुप्रभाव विभिन्न स्वरूपमा प्रकट पनि भइरहेको छ । सर्वोच्च अदालतको आव २०७८/७९ को प्रतिवेदनमा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा ३७,४३४ रहेको उल्लेख छ । पतिपत्नी एकअर्काका संवाहक हुन् । “अति सर्वत्र वर्जिते” भन्ने उक्ति सबैलाई थाहा छ । पतिपत्नीमध्ये कसैले कसैमाथि अति गर्नुहुँदैन वा विषम वा भनाभन जस्ता परिस्थितिलाई आकाश खसेझैं लिनुहुन्न । एक पक्ष साम्य भयो भने अर्को पक्षलाई साम्य हुन बेर लाग्दैन ।                     

पश्चिमा संस्कृतिका विभिन्न प्रभावहरूमध्ये सम्बन्धविच्छेद पनि एक हो । सनातन संस्कृतिमा विवाहलाई अनुष्ठान मानिन्छ । तर पश्चिमा सभ्यतामा विवाह माटोको खेलझैं प्रतीत हुन्छ । किनभने आजको जोडी भोलि अर्कै जोडीमा परिणत भइसकेको हुन्छ । परिणय सूत्रमा बाँधिनु महिला र पुरुषबीच पवित्र गठबन्धन हो । यसलाई अपवित्र हुने हर्कत कदापि गर्नुहुन्न । तामसी भोजनले नकारात्मक भावका साथै हठी स्वभाव अङ्कुरित गर्छ । सामान्य कुरामा पनि आकाश खसेझैं प्रतीत हुन्छ । त्यसैगरी, सात्विक भोजनले असामान्य परिस्थितिमा पनि संयमता र गलती स्वीकारोक्तिको भाव विकसित गर्छ । सनातन संस्कृतिमा पर्व र त्योहारको विशेष महत्वछ । व्रतले अपवित्र मानवीय भावनालाई पवित्र भावनामा रूपान्तरण हुने दिशातर्फ अग्रसर गर्छ ।

तीज पर्वको मुख्य सार भनेको विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य पति पाउने कामना गर्नु हो । महिलाले व्रत गरिरहँदा पुरुषले पनि अन्तःकरणले साथ र सहयोग प्रदान गर्नुुपर्छ । जीवनरथका दुई पाङ्ग्रा हौं भन्ने कुरा आत्मसात् गर्नुपर्छ । तथापि तीज पर्वको हाइब्रिड संस्करण उत्पन्न हुने प्रकृतिको हर्कत मान्य हुन सक्दैन । तीज पर्वको हार्दिक शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here